काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आठ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै वर्तमान निर्वाचन प्रक्रियामाथि असहमति जनाएका छन् । उनले राष्ट्रिय समस्याको समाधान र सर्वपक्षीय समझदारीविना निर्वाचनमा जानु उपयुक्त नहुने धारणा राखेका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा बुधबार जारी गरिएको सन्देशमा उनले प्रजातन्त्र स्थापनामा योगदान पु¥याउने त्रिभुवन र सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
केही महिनाको झापा बसाइपछि काठमाडौं फर्कंदा स्वागत गर्ने सर्वसाधारणप्रति आभार व्यक्त गर्दै स्वागत कार्यक्रम संयोजन गरेका दुर्गा प्रसाईं हाल सरकारको हिरासतमा रहेको उल्लेख गरेका छन् । देश असामान्य र सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउँदै उनले द्वन्द्व रोक्न र सद्भाव बढाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । अधिकारसँगै कर्तव्य पालनाको संस्कार आवश्यक रहेको उनको भनाइ छ ।
उनले व्यवस्थाका राम्रा पक्ष जोगाउँदै सुधार र परिमार्जनमार्फत् जनजीवन सहज बनाउनुपर्ने उल्लेख गर्दै अस्थिरता र विपन्नतालाई वर्तमान मुख्य चुनौतीका रूपमा औँल्याएका छन् ।
































