विराटनगर । विराटनगर महानगरपालिका –१५ स्थित बैंक रोड यतिबेला फेरिएको छ । भर्खरै गरिएको आरसीसी ढलानले सडक टलक्क टल्किएको छ । सिमेन्टको सेटिङ नबिग्रियोस् भनेर सडकको मुखमा बाँस तेस्र्याएर सवारी साधन निषेध गरिएको छ । बाहिरबाट हेर्दा विकासको नयाँ लहर आएझैँ देखिन्छ ।
तर, त्यही सडकको छेउमा रहेको चिया पसलमा बसिरहेका स्थानीय नरेशकुमार थापाको अनुहारमा भने विकासको चमकभन्दा बढी बर्खाको चिन्ता देखिन्छ । ‘सडक त ढलान भयो, तर हाम्रा दुःख जस्ताको तस्तै रहने भए,’ उनले सडकतिर हेर्दै भने, ‘सामान्य वर्षा हुँदा पनि यो क्षेत्र डुबानमा पर्छ । अहिले सडक अग्लो भयो, घरहरू होचा भए । निकासका लागि व्यवस्थित नाला छैन । पानी पर्नासाथ सबै ढल बस्तीमा पस्छ ।’
थापाका अनुसार ढलानले बाटो त बनायो, तर निकास नहुँदा यसले दक्षिणी विराटनगरका सयौँ घरधुरीलाई थप जोखिममा पारेको छ । ‘हामीलाई सडक मात्र होइन, डुबानबाट मुक्ति चाहिएको हो,’ उनले थपे ।
विराटनगरको यो कथा केवल एउटा सडकको मात्र होइन, आसन्न फागुन २१ गते हुने मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा निर्वाचनको एउटा मुख्य चुनावी मुद्दा पनि हो ।
निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू भोट माग्न घरदैलोमा व्यस्त छन् । नेताहरूका भाषणमा प्रायः ‘बन्द भएको विराटनगर जुट मिल सञ्चालन गर्ने’ र ‘रोजगारी सिर्जना गर्ने’ आश्वासन सुनिन्छ । तर, विराटनगर–१३ का श्याम लामालाई भने यी ठूला एजेन्डाले खासै छोएको छैन ।
‘बर्खा लागेपछि घरभित्र पानी पस्छ, हामी छतमा बसेर रात कटाउन बाध्य हुन्छौँ,’ लामा भन्छन्, ‘हाम्रो पहिलो माग भनेको डुबानबाट मुक्ति हो । त्यसपछि मात्र उद्योग र रोजगारीको कुरा आउँछ । तर, नेताहरूले डुबानको निकास दिने विषयलाई चुनावी एजेन्डा नै बनाएका छैनन् ।’ उनको माग छ– मिल्स एरियाका बन्द उद्योग चल्नुपर्छ ताकि युवाहरू वैदेशिक रोजगारीमा जानु नपरोस्, तर सँगै बस्ती पनि सुरक्षित हुनुपर्छ ।
मैदानमा पुराना खेलाडी, नयाँ चुनौती
मोरङ–५ को चुनावी मैदान यसपटक निकै रोचक छ । २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर सनसनीपूर्ण जित निकालेका योगेन्द्र मण्डल यसपटक आफ्नै दल ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ बाट मैदानमा छन् । उनी आफ्नो कार्यकालमा संसदमा उठाएको आवाज र नीतिगत सुधारको दाबी गर्दै मतदाताकहाँ पुगिरहेका छन् ।
यो क्षेत्रमा दलीय प्रतिस्पर्धा पनि उत्तिकै पेचिलो छ । नेपाली कांग्रेसका पुराना नेता फूलकुमार लालवानी, नेपाली कम्प्युनिष्ट पार्टी (नेकपा) का शिवकुमार मण्डल, जनता समाजवादी पार्टी (जसपाका) राजकुमार यादव, एमालेका मनोज अग्रवाल र रास्वपकी आशा झाबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ । नेकपामा नेता मण्डल यसअघि यही क्षेत्रबाट निर्वाचित भइसकेका छन् । जसपाका राजकुमार यादव चौथो पटक चुनावी परीक्षा दिँदैछन् । अघिल्ला तीन निर्वाचनको अनुभव र स्थिर मतदाता नै आफ्नो जितको आधार भएको उनको दाबी छ । नेकपा एमालेले यसपटक मनोजकुमार अग्रवाललाई अघि सारेको छ । अग्रवाल आफ्नो सामाजिक छवि र सांगठनिक शक्तिका भरमा नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् ।
२०७९ को निर्वाचनमा दुई ठूला गठबन्धनलाई स्तब्ध पार्दै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल २१ हजार ८२० मतका साथ विजयी भएका थिए । उनले अहिले दल खोलेर चुनावी मैदानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालिन माओवादीका शिवकुमार मण्डलले १७ हजार ४८६ र जसपाका राजकुमार यादवले १७ हजार ३९० मत पाएका थिए।
यसपटक सबै दलहरू एक्ला–एक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । मधेशी समुदायको बाहुल्य रहेको यो क्षेत्रमा जातीय मतको विभाजन र सहानुभूतिले ठूलो भूमिका खेल्ने निश्चित छ । धनपालथान र जहदा गाउँपालिका, रंगेली नगरपालिकाका केही वडा र विराटनगर महानगरका १३ देखि १८ सम्मका वडाहरू समेटिएको यस क्षेत्रमा १ लाख १० हजार १७७ मतदाता छन् ।
































