निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण भयरहित निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा विराटनगरमा आयोजित 'निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा कार्यवाहक आयुक्त भण्डारीले सबैको सहयोग रहने पनि बताएका छन् ।
उनले बढी भन्दा बढी मतदाताको सहभागितासहित निर्वाचनलाई ऐतिहासिक एवं उत्सवमय बनाउने कार्यमा सबै क्षेत्रबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाहीको भागिदार हुने स्पष्ट पारे । उनले विधि र प्रक्रियालाई पालना गरी संयमित भएर निर्वाचन प्रक्रियामा सरिक हुन सबैसँग अनुरोध गरे । कार्यवाहक आयुक्त भण्डारीले निर्वाचन प्रचारप्रसारलगायत गतिविधिमा भारतीय नम्बरप्लेटको सवारीसाधनको प्रयोग निषेध गरिएको जानकारी दिए । उनले तोकिएको सीमामा खर्च गर्न पनि आग्रह गरे ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउने सन्दर्भमा निर्वाचन आयोगबाट प्राप्त प्रतिबद्धतालाई साकार तुल्याउन कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले निर्वाचनमा आचारसंहिता अनुगमनका लागि छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने सुझाव दिए ।
कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनमा सबै दल एवं उम्मेदवारबाट साथ, सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा आयोजक संस्थाका प्रशासकीय निर्देशक गणेशमान प्रधान, प्रदेश निर्वाचन अधिकारी चोलाराज दङ्गालले निर्वाचनलाई स्वच्छ, भयरहित तथा निष्पक्ष रुपमा सम्पन्न गर्न आचारसंहिता पूर्ण रुपमा पालना हुनुपर्नेमा जोड दिए ।
































