मधेश प्रदेशको प्रमुख व्यापारिक केन्द्र वीरगञ्जमा हैजा फैलिनु केवल स्वास्थ्य सङ्कट मात्र होइन, यसले हाम्रो सार्वजनिक स्वास्थ्य प्रणालीको पूर्वतयारी, प्रकोप व्यवस्थापन र पूर्वाधारको स्तरबारे पनि गम्भीर प्रश्न उठाएको छ। सुख्खा बन्दरगाहको रुपमा परिचित वीरगञ्जमा १ सय ६१ जना झाडापखालाका बिरामीमध्ये ७१ जनामा हैजा पुष्टि हुनु सामान्य अवस्था मान्न सकिँदैन । जनताको स्वास्थ्यको विषयमा सरोकारवाला निकायले कदापि हल्का रुपमा लिन मिल्दैन । वीरगञ्जमा हैजाको प्रकोप न्यूनीकरण हुन सकेको छैन । दैनिक बिरामी सङ्ख्या बढेर गएको छ । सङ्क्रमण नियन्त्रण गर्न सजगता, जनचेतना, सुरक्षित खानेपानी, शीघ्र उपचार सेवा र सरकारी–निजी सहकार्य अनिवार्य यतिबेला टड्कारो बनेको छ । हाल सरकारले जनचेतना कार्यक्रम, उपचार सेवा विस्तार र निःशुल्क औषधि उपलब्धताको पहल गर्दै आएको छ, जुन सराहनीय भए पनि अस्थायी समाधान मात्र हो ।
यो रोग ‘भाइब्रियो कोलेरी’ नामक ब्याक्टेरियाबाट लाग्छ र विशेषगरी फोहोर पानी वा सङ्क्रमित खानामार्फत् सर्ने गर्छ । हैजा सर्ने प्रमुख कारणहरुमा सङ्क्रमित व्यक्तिको दिसा मिसिएको पानी वा खाना सेवन गर्दा, सफा नभएको खानेपानी प्रयोग गर्दा, दिसा गरेकोपछि राम्रोसँग हात नधोई खाना बनाउँदा या खानाले र सार्वजनिक स्थानहरुमा सरसफाइको कमी हुँदा सर्ने गर्दछ । विशेष गरेर सरसफाइ र खानेपानी व्यवस्थापनमा ध्यान पु¥याउनु पर्दछ । अत्यधिक पातलो पखाला लाग्ने, शरीरमा पानीको कमी, कमजोरी, झम्झमाहट हुने गर्दछ । समयमा उपचार नगरेमा केही घण्टामै ज्यानसमेत जान हुनाले हेल्चेक्र्याइँ गर्नु हुँदैन । हैजा फैलनुमा राज्यलाई मात्र दोष दिन मिल्दैन । नागरिक आफै पनि जिम्मेवार हुनु पर्दछ । बच्नका लागि सरसफाइ, खानेपानीमा ध्यान पु¥याउनु पर्दछ । नागरिक आफै पनि उत्तिकै सचेत हुनु जरूरी छ । हैजा तीव्ररुपमा सर्ने सरूवा रोग हो, तर राम्रो सरसफाइ, सुरक्षित खानेपानी र जनचेतनाले सजिलै नियन्त्रण गर्न सकिन्छ । समयमै उपचार गर्दा रोग निको पार्न सकिन्छ ।
वीरगञ्जमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्थलगत निरीक्षण, निःशुल्क उपचार सुनिश्चित गर्ने निर्देशन, निजी अस्पताललाई न्यूनतम् शुल्कमा सहयोग गर्न आग्रह र सरोकारवालासँगको छलफलले तत्कालीन राहत दिलाउने अपेक्षा मात्र हो । समाधान किमार्थ होइन । तर यस्ता उपायहरु सङ्कटपछि मात्रै सक्रिय हुने हाम्रो परम्परागत शैलीलाई दोहो¥यााउने हो भने दीर्घकालीन समाधान सम्भव छैन । हामीले बुझ्नुपर्ने विषय के हो भने हैजा केवल फोहोर पानी वा असुरक्षित खानेपानीको परिणाम होइन, यो प्रणालीगत कमजोरी, कमजोर पूर्वाधार, कमजोर निगरानी प्रणाली र सार्वजनिक स्वास्थ्य क्षेत्रमा लगानीको अभावको उपज पनि हो । यसर्थ हैजा नियन्त्रणको सन्दर्भमा तत्कालीन उपचार सेवा मात्र होइन, दीर्घकालीन पूर्वाधार सुधार र जनस्वास्थ्य शिक्षामा लगानी गर्नुपर्दछ । पानी शुद्धीकरण संयन्त्र, ढल निकास व्यवस्थापन, सशक्त जनचेतना कार्यक्रम र स्वास्थ्यकर्मीहरुको सुदृढ तयारी गर्न ढिलाइ गर्नु हुँदैन । साथै महामारीको बेला मात्र निजी अस्पतालको मानवीयता सम्झनु होइन, स्वास्थ्य प्रणालीमा उनीहरुको भूमिकाबारे स्पष्ट नीति बनाउन जरूरी छ । स्थानीय सरकार, सङ्घीय सरकार र निजी क्षेत्रबीच समन्वय अझ प्रष्ट, पारदर्शी र परिणाममुखी हुनु पर्दछ । राज्यका सबै संयन्त्रहरु प्रयोग गरेर यसलाई नियन्त्रण लिन ढिलाइ गर्नु हुँदैन ।