कोशी प्रदेश प्राकृतिक, सांस्कृतिक र धार्मिक पर्यटनको अपार सम्भावना बोकेको क्षेत्र हो । विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो भूभाग केचनाकवलसम्म फैलिएको यस प्रदेशमा हिमाल, पहाड र तराईको सुन्दर समायोजनसँगसँगै धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको प्रदेश हो । यस्ता भौगोलिक र सांस्कृतिक विविधताले कोशी प्रदेशलाई धार्मिक पर्यटनका लागि उपयुक्त गन्तव्य बनाएको छ । यहाँ हिन्दू, बौद्ध र किरात धर्मावलम्बीका थुप्रै आस्थाका केन्द्रहरू रहेका छन् । जसले प्रदेशलाई धार्मिक गन्तव्यका रूपमा चिनाएको छ ।

हलेसी महादेव मन्दिर 
हलेसी महादेव मन्दिर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ मा अवस्थित छ । समुद्री सतहबाट करिब १ हजार ४ सय ४४ मिटरको उचाइमा रहेको यस स्थललाई हिन्दूहरूले पूर्वको पशुपतिनाथ, बौद्धमार्गीहरूले मरातिक गुफा र किरातहरूले आदिमभूमिको रूपमा पूजा गर्छन् । यहाँ विशेषगरी महाशिवरात्रि, बालाचतुर्दशी, रामनवमी, तीजलगायत अवसरमा ठूलो मेला लाग्छ । विशाल गुफा, पौराणिक किंवदन्ती र अद्भूत चट्टानी संरचनाका कारण हलेसी धार्मिक मात्र नभई गुफा पर्यटनको दृष्टिले पनि महŒवपूर्ण मानिन्छ ।
दूधकोसीको पवित्र जलमा स्नान गरेर हलेसीको दर्शन गर्नाले यस लोकमा सुख, समृद्धि पाई परलोकमा मुक्तिसमेत प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ । यहाँ दैनिक भक्तजनहरूको भीड लाग्ने गरेको छ । देशविदेशबाट हलेसीमा भक्तजनहरू आउने गरेका छन् । धार्मिक पर्यटकहरूको बसोबासका लागि यहाँ दुई सयभन्दा बढी स्तरीय होटलहरू रहेका छन् । यहाँ पुग्नलाई काठमाडौंबाट सिधै बसमा वा विराटनगर, वा जनकपुरसम्म जहाजमा आएर बसबाट पुग्न सकिन्छ । मन्दिरसम्मै बस जान्छ । 

वराहक्षेत्र 
सुनसरीको वराहक्षेत्र नगरपालिका–७ मा अवस्थित यो धार्मिकस्थल हिन्दू धर्मावलम्बीको अत्यन्तै पवित्रस्थल मानिन्छ । कोशी र कोकाहा नदीको सङ्गमस्थलमा रहेको यस क्षेत्रमा विष्णुको वराह अवतारको पूजा गरिन्छ । यहाँ नौवटा मन्दिरहरू र प्राचीन मूर्तिहरू रहेका छन् । स्कन्ध, ब्रह्म र वराहपुराणमा वर्णित वराहक्षेत्र नेपालकै सबैभन्दा पुरानो धार्मिक स्थलमध्ये एक मान्छि । अझ पछिल्लो समय महाकुम्भ र अर्ध कुम्भ मेला आयोजनाले यस क्षेत्रको गरिमा र महŒव अझ बढेको छ ।

प्रदेशको राजधानी विराटनगरबाट ५७ किलोमिटर उत्तर–पश्चिमतर्फ रहेको यो धार्मिकस्थल कोकाहा र कोशी नदीको सङ्गममा रहेको छ । यो क्षेत्रबारे ब्रह्मपुराण, वराहपुराण र स्कन्धपुराणलगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेख गरिएको छ । नेपालको सबैभन्दा पुरानोमध्येको एक देवस्थल वराहक्षेत्रमा वराह अवतार विष्णुको पूजाआजा हुने गर्दछ । हिन्दू पौराणिक कथाका चार क्षेत्रमध्ये कुरुक्षेत्र र हरिहरक्षेत्र भारतमा छन् भने वराहक्षेत्र र मुक्तिनाथ नेपालमा छन् । यी चार क्षेत्रमध्ये पनि वराह क्षेत्र भगवान् विष्णुको तेस्रो अवतार भएकोले यस ठाउँलाई पवित्र र महŒवपर्ण धार्मिकस्थल मानिन्छ । वराह क्षेत्रको महिमा र महŒव असाध्यै ठूलो छ ।

पाथीभरा मन्दिर 
प्रदेश राजधानी विराटनगरबाट करिब ३ सय ५० किलोमिटर उत्तरमा अवस्थित पाथीभरा मन्दिर हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको साझा तीर्थस्थल हो । फक्ताङ्लुङ गाउँपालिका वडा नं. ४ मा यो मन्दिर रहेको छ । समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको यस स्थलबाट कञ्चनजङ्घा, मकालु, कुम्भकर्ण हिमालहरू अवलोकन गर्न सकिन्छ । पाथीभरा देवीको उत्पत्तिसम्बन्धी विविध किंवदन्तीहरूसँगै यहाँ जैविक विविधता, दुर्लभ वनस्पति, जनावर र चरा पाइन्छन् । यसले धार्मिक पर्यटनसँगै प्रकृतिप्रेमीहरूको पनि आकर्षण बटुल्दै आएको छ ।
सडक मार्गबाट काफ्लेपाटीसम्म पुगेपछि करिब ३.९ किलोमिटरको पैदलयात्रापछि पाथीभरा मन्दिर पुगिन्छ । अन्न भरेको पाथी झैं आकृति बोकेको सुन्दर र मनमोहक पाथीभरा पहाडको शिखरमा देवीको उत्पत्तिस्थल रहेकाले देवीको नाम ‘पाथीभरा देवी’ रहन गएको हो भन्ने किंवदन्ती पाइन्छ । ताप्लेजुङका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई ‘मुक्कुमलुङ’ पनि भन्ने गर्दछन् । लिम्बूभाषामा ‘मुक्कुम’ को अर्थ ‘शक्ति वा बल’ र ‘लुङ’ को अर्थ ‘ढुङ्गा’ भन्ने जनाउँदछ । अर्थात्, लिम्बूजातिहरू पाथीभरालाई ‘शक्ति वा बलको स्रोत वा ढुङ्गा’ को रूपमा मान्ने गर्दछन् । पाथीभरा देवीको उत्पत्तिसम्बन्धी थुप्रै किंवदन्ती तथा जनश्रुतिहरू रहेका छन् ।

पाथीभरा देवीको दर्शन गर्न हजारौंको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट आउने गर्दछन् । पाथीभरासम्मको पदयात्रामा प्राकृतिक सौन्दर्य, दुर्लभ जीवजन्तु तथा वनस्पतिको सुन्दरताले पनि पर्यटकहरूको मन लोभ्याउने गरेको छ । पाथीभरा मन्दिर धेरै उचाइमा रहेकाले यहाँबाट विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमशृङ्खला, कुम्भकर्ण, मकालु, काङ्वाचेन, ल्होत्से हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यो क्षेत्र धार्मिक पर्यटनका साथै दृश्यावलोकन, जैविक विविधता अनुसन्धान तथा प्राकृतिक सङ्ग्रहालयका लागि उपयुक्त मानिन्छ ।

विजयपुरका चार धाम  
धरान उपमहानगरपालिका वडा नं. १४ मा पर्ने विजयपुर नेपालको ऐतिहासिक तथा धार्मिकस्थल हो । विजयपुर नेपालको चारधामको नामले पनि चिनिन्छ । जहाँ एकै स्थलमा पैदल यात्रा गरेर दर्शन गर्न सकिन्छ । चार शक्तिपीठ पिण्डेश्वर, दन्तकाली, बूढासुब्बा र पञ्चकन्या पनि विजयपुर क्षेत्रमा रहेका छन् ।  विजयपुरको दक्षिणीभेगमा पिण्डेश्वर महादेवको मन्दिर, बीच भागमा दन्तकाली मन्दिर र उत्तर पूर्वतर्फ बूढासुब्बा मन्दिर र उत्तर–पश्चिमतर्फ अलि उच्च स्थानमा पञ्चकन्या मन्दिर रहेको छ । पञ्चकन्या मन्दिरको उत्तर–पूर्वी भागको उच्चस्थानमा विजयपुरे अन्तिम राजा बुद्धिकर्ण सेन अर्थात् भताभुङ्गे दरबारको अवशेषले पनि इतिहास अध्ययन र अनुसनधान गर्नेहरूको थलो बनेको छ । 

पिण्डेश्वर बाबाधाम
पिण्डेश्वर बाबाधाम धार्मिक दृष्टिले निकै महŒवपूर्ण मानिन्छ । मन्दिरको प्रमुख आकर्षण अर्थात् पूजनस्थल त्यहाँस्थित अमृतपिण्ड शिवलिङ्ग मान्निन्छ । मन्दिरअगाडि पश्चिमतर्फ ऐतिहासिक पोखरी र एक इनार पनि छ । पोखरीको बीचमा धातुबाट बनेको भगवान् सरस्वतीको प्रतिमा अवस्थित छ, जसले पोखरीको सुन्दरता, परम्परा र धार्मिक महŒवलाई प्रष्टै झल्काउ“छ । 
विशेष दिन, तिथि तथा पर्वमा मन्दिर खचाखच हुने गर्दछ । पिण्डेश्वरस्थलमा भक्तजन विशेषतः साउन महिनाको सोमबार, अष्टमी, कात्तिक पूर्णिमा, माघेसङ्क्रान्ति, महाशिवरात्रि पर्व आदिमा आउने गर्दछन् र आ–आफ्ना इच्छापूर्तिका लागि पिण्डेश्वर शिवलिङ्गमाथि जल, फल, फूल, भेटी आदि अर्पण गर्दछन् भने कसैले रुद्री पाठ, लघुरुद्री पाठ, महिम्नस्तोत्र पाठ, पिण्डेश्वरस्तोत्र पाठका साथै पितृको उद्धारका लागि पिण्डदान, श्रीमद्भागवत् पाठ, वेदपाठसमेत स्वयम् वा ब्राह्मणमार्फत् गराउने गर्दछन् । बाहै्रमास यहाँ धार्मिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । 

दन्तकाली शक्तिपीठ
विजयपुरको बीचभागमा दन्तकाली मन्दिर रहेको छ । यसको उत्तर–पूर्वतर्फ बूढासुब्बा र उत्तर–पश्चिमतर्फ पञ्चकन्या मन्दिर रहेको छ भने दक्षिणतर्फ पिण्डेश्वर मन्दिर पर्दछ । धरान जाने जोकोहीले पनि दन्तकाली माताको दर्शन गर्ने गर्छन् । यस मन्दिरको इतिहास खोतल्दा सतीदेवीको दन्त पतन भएको कथा र दन्तकाली मन्दिरको अवस्थिति एवम् पाँचसय वर्षअघि बङ्गालका राजाले जीर्णाेद्धार गरेको पिण्डेश्वर मन्दिरको अभिलेखबाट प्रष्ट हुन्छ । यो स्थान पुराताŒिवक, पौराणिक एवम् ऐतिहासिक तथा पर्यटकीय महŒवले भरिपूर्ण छ ।
पौराणिककालमा महादेवकी पत्नी सतीदेवीको मृत्युपश्चात् दन्त पतन यही स्थलमा भएकाले ‘दन्तकाली मन्दिर’ रहेको धार्मिक विश्वास छ । नवरात्रिको अवसरमा मन्दिरमा विशेष कार्यक्रमका साथै विशेष पूजाअर्चना र स्तोत्र पाठ गरिन्छ । प्रत्येक वर्ष घटस्थापनाको दिनदेखि विजयादशमीसम्म अझ अष्टमी, नवमी र दशमीको दिन शुभ मानिन्छ । जुन समय यहाँ अत्यधिक भक्तजनको भीड लाग्ने गरेको छ ।

बूढासुब्बा मन्दिर
बूढासुब्बा मन्दिर दन्तकाली मन्दिरदेखि पूर्व–उत्तर दिशामा पर्दछ । मन्दिरको अगाडि ठूलो घण्टा छ र त्यसको नजिकै पशुबलिस्थल छ । यो मन्दिर सिद्धबाबापीठ बूढासुब्बाको एक समाधिस्थलका रूपमा इतिहासदेखि नै चिनिँदै आएको छ । यहाँ बूढासुब्बा र सुब्बिनीको छुट्टाछुट्टै मन्दिर छ ।   मन्दिरका वरपर रहेका बाँसको टुप्पी छैनन् । बा“सका टुप्पा नहुनु वा बिल्कुलै ठुटा वा मुडुला बाँस मात्रले पनि धार्मिक पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । यहाँ पशुबलि दिइन्छ तर रगत भएको स्थानमा कुनै किसिमका झिँगा, भुसुना हुँदैनन् ।

मन्दिरअगाडिको भागमा मानिसले आफूले चिताएको पुग्छ भन्ने हेतुले रङ्गीचङ्गी विभिन्न खालका डोरा बाँसमा बाँध्ने गर्छन् । युवापुस्ताले बाँसमा आफ्नो र आफ्नो प्रेमीप्रेमिकाको नाम लेख्ने गर्दछन् । जहाँ नाम लेखेपछि माया निरन्तर कायम हुने विश्वास गरिँदै आएको छ । 

पञ्चकन्या मन्दिर
दन्तकाली मन्दिरदेखि उत्तर र बूढासुब्बा मन्दिरको उत्तर–पश्चिमतर्फ पर्दछ, पञ्चकन्या शक्तिपीठ । यो विजयपुरको अग्लो स्थानमा रहेको छ । यही मन्दिर परिसरमा भताभुङ्गे राजाको दरबारको अवशेष रहेको छ । जङ्गलमा विभिन्न जातका वनस्पति सखुवा, करम, वर, पीपल आदि वृक्ष देखिन्छ । त्यहाँ वनभोजस्थल पनि छ । विशेषतः गर्मीको समयमा यो क्षेत्र वनभोजका लागि उपयुक्त मानिन्छ । पाँच कन्या एकै समूहमा मन्दिर प्रवेश गर्नु हुँदैन भन्ने मान्यता रहेको स्थानीयवासी बताउँछन् । आध्यात्मिक हिसाबले प्राणायाम र ध्यानका लागि समेत यो स्थल उपयुक्त रहेको छ ।

रौता पोखरी 
उदयपुरको रौतामाई गाउँपालिकामा अवस्थित रौता पोखरी एक पवित्र धार्मिकस्थल हो । जहाँ विशेष अवसरहरूमा श्रद्धालुहरू स्नान गरी पूजा गर्ने गर्दछन् । यस पोखरीसँग सम्बन्धित धार्मिक किंवदन्तीले यसलाई श्रद्धाको केन्द्र बनाएको छ । यहाँको शान्त वातावरण र रमणीय दृश्यावलीले पर्यटकहरूलाई मोहित बनाउँछ । गाईघाटबाट करिब ४८ किमी उत्तरमा रहेको जङ्गलले घेरिएको यो मन्दिरमा ठूलो पोखरी रहेको छ । त्यहाँका बोटबिरुवाबाट निस्किएको पातपतिङ्गर बिहानै चराहरूले पोखरीलाई टिपेर सफा गर्ने गर्छन् । पोखरीमा कुनै पातपतिङ्गर भेटिँदैन ।   

कोशी प्रदेशमा धार्मिक पर्यटनका दृष्टिले प्रचुर सम्भावना छन् । हलेसी, वराहक्षेत्र र पाथीभराजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महŒवका तीर्थस्थलहरूका साथै पिण्डेश्वर, दन्तकाली, बूढासुब्बा र रौता पोखरी जस्ता क्षेत्रीय आस्थाका केन्द्रहरूले यस प्रदेशलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रको रूपमा चिनाएका छन् । सरकार, निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य गरी पूर्वाधार सुधार, प्रचार–प्रसार तथा स्थानीय संस्कृति संरक्षणमा ध्यान दिनसके कोशी प्रदेशले धार्मिक पर्यटनमा राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय पहिचान बनाउने कुरामा दुईमत छैन ।