धरान । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले २०७५ साल चैत २३ गते दोस्रो पिण्डेश्वर अर्धमहाकुम्भको उद्घाटन गर्दै भनेका थिए, “धरानको बूढासुब्बा, दन्तकाली, पिण्डेश्वरसँगै रामधुनी, वराहक्षेत्र र चतराधामलाई एकीकृत गरेर धार्मिक सर्किटको रूपमा विकास गर्छौं ।”

उनले प्रवेश गराएको ‘धार्मिक सर्किट’ को विषयले २०७९ असार १७ गते व्यापकता पाउने छनक देखायो । भौतिक पूर्वाधार विकास मन्त्रालयको पहलमा सुनसरीको धरान, वराहक्षेत्र र रामधुनीका नगर प्रमुखको बैठकले ‘धार्मिक सर्किट’ लाई मूर्तरूप दिने भनी निर्णय ग¥यो । सम्बन्धित नगरले धार्मिक सर्किटको बाटोसमेत तय गरे । वराहक्षेत्रका नगर प्रमुख रमेश कार्की भन्छन्, “मन्त्रालयको पहलमा धरानमा बैठक बसेर धार्मिक सर्किटको निर्णय भयो । नगरको तर्फबाट सर्किटको पोइन्टहरू क्लियर गरेर प्रस्ताव जस्तो दिएका पनि थियौँ । तर खै के भएर रोकियो ।” 

वराहक्षेत्रले पेश गरेको सम्भावित सर्किटमा रामधुनीको रामधुनी मन्दिरबाट वराहक्षेत्रको चक्रघट्टी हुँदै चतराधाम–वराहक्षेत्र मन्दिरबाट सूर्यकुण्ड हुँदै धरानको विष्णुपादुका–पिण्डेश्वरहुँदै वराहक्षेत्रको अमाह सिमसार हुँदै रामधुनीको शङ्करबेलीबाट पुनः रामधुनीको रामधुनी मन्दिर जोड्ने सर्किट बनाई पेश गर्ने तयारी गरेको थियो । “धरानको मेयर, वराहक्षेत्रको मेयर, रामधुनीको मेयर भएर हस्ताक्षर गरियो । देशको अवस्थाले पनि होला काम अगाडि बढेन”–उनले भने । रामधुनीका नगर प्रमुख शङ्करलाल चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको कार्यक्रममा तीनवटै नगरका मेयरलाई बोलाएर सर्किट बनाउने कुरा चलेको बताए । “डीपीआर पनि उनीहरूले नै गर्ने भन्ने थियो । यो एकदमै खर्चिलो योजना थियो”–उनले भने । 

संस्थापक मुख्यमन्त्री राईले सम्बोधन गरे पनि उक्त कार्य अगाडि बढ्न सकेन । त्यसबेला भनेका थिए, “बूढासुब्बा, पिण्डेश्वर, रामधुनी, वराहक्षेत्रधाम र चतराधामलाई समेटेर एउटा विशेष सर्किट निर्माण गर्छौं; यी धार्मिक स्थलहरूलाई अलग्गै एउटा विकासको परियोजना तयार पारिरहेका छौँ ।” धार्मिक सर्किटमा जोडिँदै आएका मन्दिरहरू पौराणिक हिसाबले मात्रै हैन, पुरातात्विक हिसाबले पनि एकदमै महत्वपूर्ण मानिन्छ । सुनसरीको धार्मिक क्षेत्रहरूको अनुसन्धान गरेका संस्कृतिविद् डा. सोमप्रसाद खतिवडा भन्छन्, “हाम्रो पुराणमा उल्लेखित पौराणिक तीर्थस्थल हुन् । मान्छे तीर्थयात्राका लागि हुरुक्क हुन्छन् । मान्छे धार्मिक हुन्छ । रामधुनी, वराहक्षेत्र, विष्णुपादुका, पिण्डेश्वरलाई जोडेर धार्मिक सर्किट बनाउँदा राम्रो हुन्छ । पदमार्ग बनाउनु उपयुक्त हुन्छ । कनेक्टिभिटी पनि छ ।”

तीनवटै स्थानीय तहहरू धार्मिक सर्किट बनाउन उद्यत छन् । तर, सामान्य बजेटमा नबन्ने भएकाले केन्द्र तथा प्रदेश सरकारले पहल गर्नुपर्ने बताउँछन् । वराहक्षेत्रका नगर प्रमुख कार्की थप्छन्, “नगरसँग त बजेट नै छैन । सीमित बजेटले कसरी बन्छ र ? प्रदेश सरकार र सङ्घीय सरकारले ल्याउन जरुरी छ । सङ्घीय सरकारले त कुरा पनि उठान गरिदियो ।” रामधुनीका नगर प्रमुख चौधरी पनि भन्छन्, “धेरै लागतको हुँदा गर्न सक्दैन । हामीले पूर्वाधारसम्म जोड्न सक्छौँ ।” तर, पर्यटन व्यवसायी एवम् कोशी प्रदेश पर्यटन वर्ष २०८२ निर्देशन समितिका सदस्य वासुदेव बराल भन्छन्, “स्थानीय सरकारले नै पहल लिनुपर्छ । राजमार्ग उत्तरपट्टिका चारवटै म्युनिसिपालिटीले चासो लिनुपर्छ ।” यो धार्मिक सर्किटमा स्थानीय सरकारले चासो लिएमा त्यसमा पर्यटन व्यवसायीहरूले बेच्ने, ब्रान्डिङ गर्ने काम गर्ने उनको भनाइ छ । “उहाँहरूले एक ठाउँमा बसेर एकीकृत मार्केटिङ गरौं भन्ने लाग्नुप¥यो”–उनले भने । 

सुनसरीका धामहरू विशेषगरी वराहक्षेत्र, रामधुनी, पिण्डेश्वर, दन्तकाली, बूढासुब्बा र विष्णुपादुकामा बर्सेनि १२ लाखको हाराहारीमा धार्मिक पर्यटकहरू आउने गरेका छन् । “वराहक्षेत्रमा दैनिक १२–१५ सय पर्यटक आउँछन् । बोलबम, एकादशीलगायतमा छुट्टै पर्यटकहरू आउँछन् । त्यसो हुँदा यहाँ ७ लाख पर्यटकहरू वार्षिक आइपुग्छन्”–नगर प्रमुख कार्की भन्छन् । यस्तै धरानको विजयपुर क्षेत्रका मन्दिरमा पनि झण्डै तीनदेखि चार लाख धार्मिक पर्यटक आइपुग्ने गरेको पर्यटन व्यवसायी बराल सुनाउँछन् । “बोलबमलगायत गरेर त धेरै नै आउँछन्”–उनले भने । यस्तै रामधुनीमा पनि ३ लाखको हाराहारीमा धार्मिक पर्यटक आइपुग्ने गरेका छन् । 

यी पर्यटकका लागि सर्किट बनाउनसकेमा स्थानीय तहहरूले नै फाइदा लिन सक्ने संस्कृतिविद् डा. खतिवडा बताउँछन् । करिब ३५ सय वर्ष अगाडि लेखिएको महाभारतमा चर्चा गरिएको पूर्वको एकमात्रै तीर्थ भनेको वराहक्षेत्र हो । यहाँ आदिवराहले बास गरेको उनको भनाइ छ । “त्यसलाई जोड्न सकियो भने धार्मिक पर्यटकहरूका लागि फाइदै हुन्छ । दुई दिन जतिको पदमार्ग बनाउनुपर्छ । धेरै दिनको भयो भने नबस्न सक्छन् । नहिँड्न सक्छन्”–उनले भने । 

पुरातात्विक हिसाबमा पनि बुझाउनसकेमा यसको महत्व थप बढेर जाने उनको भनाइ छ । यो विषयमा नयाँ नगर प्रमुखहरू हुँदा मात्रै नभई पूर्व नगरप्रमुख हुँदाताका पनि बहसमा आएको धरान उपमहानगरका निवर्तमान नगर प्रमुख तिलक राई स्मरण गर्छन् । उनी भन्छन्, “वराहक्षेत्र, चतरा हुँदै रामधुनी सर्किट बनाउन सकिन्छ । धार्मिक पदयात्रा पनि गर्न सकिन्छ भन्ने थियो । तीर्थालुहरूलाई एक ठाउँमा यति घुम्नुपर्छ है भनेर यो काम गर्न खोजिएको थियो ।”