विजयपुर । मुलुकको राजनीति र प्रणालीमा बेथिति तथा भ्रष्टाचारको चाङ रहेको अनुभूति भएपछि जागिर खान लोकसेवाको तयारी गरिरहेकी निशा डाँगी चार वर्षअघि राजनीतिमा लागिन् ।


जागिर खाएर व्यक्तिगत जीवन सुधार्ने सोच त्यागेर जनताको सेवक बन्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डामुनि गोलबद्ध हुने कठिन तर चुनौतीपूर्ण बाटोमा होमिइन् ।


निराशालाई आशामा बदल्ने अठोटका साथ राजनीतिमा होमिएकी २९ वर्षीया निशा डाँगी झापा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेर फागुन २१ गते सम्पन्न निर्वाचनसम्म आइपुगिन् । उनले ४५ हजार ६८० मत प्राप्त गरी प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भइन् ।


डाँगीको प्रतिनिधिसभामा दोस्रो पटक प्रवेश भयो । यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनी २५ वर्षकै उमेरमा समानुपातिकतर्फ सांसद बनेकी थिइन् । त्यति बेला उनी मुलुककै कान्छी सांसद थिइन् । समानुपातिक सांसदका रूपमा सदनमा प्रवेश गरेकी उनले युवाहरूको समस्या समाधानका लागि सदनमा निरन्तर आवाज बुलन्द गरिरहिन् ।


क्षमता र सक्रियताकै कारण जनताको मन जित्न सफल सांसद डाँगीलाई यसपटकको आमनिर्वाचनको परिणामले थप परिपक्व र जनअनुमोदित नेताका रूपमा स्थापित गरिदिएको छ । युवाहरुको प्रतिनिधि बनेर राजनीतिक क्षितिजमा उदाएकी उनी भद्रपुर नगरपालिका–२ की स्थानीयवासी हुन् । सांसद डाँगी रास्वपाको हाल केन्द्रीय सदस्यसमेत छिन् ।


सांसद डाँगीमा प्रतिनिधिसभामा पार्टीको सचेतकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको शिक्षा हासिल गरेकी छन् । भीमबहादुर र देवीमाया डाँगीको सुपुत्रीका रूपमा उनको जन्म २०५३ मङ्सिर १६ गते भएको हो । पूर्णकालीन राजनीतिमा आउनुभन्दा अघि पाँच वर्षसम्म उनी पत्रकारिता क्षेत्रमा क्रियाशील थिइन् । पत्रकारिताबाट राजनीतिमा होमिँदा डाँगीलाई समाज, राजनीति र नागरिकका समस्या बुझ्न सहज भएको थियो । उनी भन्छिन्, ‘पत्रकारिताले मलाई समाज, नागरिकका वास्तविक समस्या र राजनीतिको भित्री पाटो बुझ्न सघायो ।’


निर्वाचनताका जनताको घरदैलोमा पुग्दा डाँगीले झापा–१ का स्थानीय समस्या, जनचाहना र विकासका प्राथमिकतालाई बुझ्ने तथा समाधानका लागि प्रतिबद्धता व्यक्त गरिन् । भ्रष्टाचार, नातावाद र ढिलासुस्तीको चर्को आलोचक रहँदै आएकी उनी इमान्दार बनेर सुशासन कायम गर्न आफूहरूलाई मतादेश प्राप्त भएको बताउँछिन् ।


‘हामीलाई प्राप्त मतादेश इमानदारिता र सुशासनका लागि हो’ , सांसद डाँगी भन्छिन्, ‘म आफ्नो भिजन र मिसनमा प्रष्ट छु । अबको यात्रामा मप्रति व्यक्त भएको जनविश्वास र भरोसालाई खेर जान दिने छैन । देशको हितमा काम गर्नेछु ।’


देश र जनताको हितमा सही नीति निर्माण र निर्णय गर्ने स्थानमा पुगेकी सांसद डाँगीमा युवा जोश र जाँगरका साथै राजनीतिक अनुभव र परिपक्वतासमेत उत्तिकै रहेको छ । युवा जोश, शैक्षिक निखार र संसदीय अनुभव प्राप्त उनीबाट झापा–१ का जनताले मात्र होइन, जेनजी आन्दोलनपछि परिवर्तन चाहने सिङ्गो देशका युवाले ठूलो अपेक्षा राखेका छन् ।रासस