धरान । प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते सम्पन्न निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महवीर पुन भारी मतान्तरका साथ विजयी भएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले परम्परागत दलका शक्तिशाली उम्मेदवारहरूलाई निकै ठूलो मतान्तरले पराजित गर्दै अप्रत्याशित तर ऐतिहासिक जित हात पारेका हुन् । उनी निर्वाचन प्रचारमा आफ्नो खर्च नगरी मत माग्ने र जनतालाई आश्वासन पनि नबाँडी मत माग्ने एक मात्र उम्मेदवारको रूपमा चिनिन्छन् । 

प्राप्त मतपरिणामअनुसार पुनले २२ हजार ८ सय ५० मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत पाए ।  म्याग्दीमा कुल ८६ हजार ३ सय ९७ मतदाता रहेकोमा ४६ हजार २ सय १५ मत खसेको थियो । मतगणनाको परिणामले स्वतन्त्र उम्मेदवार पुनप्रति मतदाताको स्पष्ट विश्वास झल्काएको देखिन्छ ।

राजनीतिक दलहरूको सङ्गठित संरचना र स्रोतसाधनको बीचमा पुनले एक्लै चुनावी अभियान सञ्चालन गरेका थिए । सामाजिक अभियन्ता तथा प्रविधि अभियन्ताका रूपमा चिनिएका पुनले चुनावी प्रचारमा कुनै ठूलो शक्ति प्रदर्शन वा महँगो अभियान चलाएनन् ।  मतदातासँग उनले खुलेर भनेका थिए, “मैले सक्ने काम मात्र गर्छु, नसक्ने वाचा गर्दिनँ । यदि विश्वास लाग्छ भने मत दिनुहोस्, विश्वास लाग्दैन भने मत नदिनुहोस् ।” 

नढाँटी, स्पष्ट र सरल सन्देशसहित गरिएको यही अपिलले मतदाताको मन जितेको स्थानीय बताउँछन् । म्याग्दीका ग्रामीण बस्तीहरूमा पुनको सामाजिक काम र योगदान पहिलेबाटै परिचित थियो ।

विशेषगरी ग्रामीण क्षेत्रमा सूचना प्रविधि पु¥याउने अभियान, शिक्षा र नवप्रवर्तनमा उनको योगदानका कारण धेरै मतदाताले उनलाई ‘काम गर्ने व्यक्ति’ का रूपमा हेरेका थिए ।

यसैकारण दलका स्थापित उम्मेदवारहरूलाई पछि पार्दै उनले तीन गुणासम्म बढी मत ल्याउन सफल भए । पुनको जितलाई धेरैले वैकल्पिक राजनीतिक सोचतर्फको सङ्केतका रूपमा पनि व्याख्या गरेका छन् । 

सुशीला कार्की नेतृत्वको सरकारमा उनी शिक्षा मन्त्री थिए । मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा प्रतिस्पर्धा गर्न पुगेका थिए । शिक्षामा केही सुधार गर्न खोजेका थिए तर कानूनी उल्झनले उनले केह ी गर्न नसकेपछि कानून बनाउने ठाउँमा नै पुगेर सुधार गर्ने अठोटसहित उनी संसदीय यात्रामा लागेका हुन् ।