आइतबार राति आएको चट्याङ र हावाहुरीले पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा करिब २८ लाख ७० हजार रूपैयाँ बराबरको क्षति पु¥याएको विवरण सार्वजनिक भएको छ। आइतबार सबैभन्दा भयावह घटना सङ्खुवासभामा घट्यो । जिल्लाको मकालु गाउँपालिका–३ चट्याङ लागेर दुई किसानका १७ वटा भैँसी मरेका छन् र १० लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ। चट्याङ प्राकृतिक विपत्तिमध्ये डरलाग्दो विपत्तिको रुपमा आइरहँदासमेत त्यसबाट बच्न पूर्वतयारी र सचेतनाका कार्यक्रम ल्याउन नसक्नु विडम्बना हो ।
यो एक दिनको मात्र क्षति हो । आर्थिक वर्ष २०८०÷०८१ को तथ्याङ्कअनुसार नेपालमा प्राकृतिक विपत्तिबाट हुने कुल क्षतिको प्रमुख कारक चट्याङ नै रहेको देखिन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, सो वर्षमा मात्रै चट्याङका कारण ८० जनाभन्दा बढीको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । साथै, भौतिक संरचना, पशुपालन र कृषि क्षेत्रमा करोडौंको क्षति भएको थियो। आर्थिक बर्ष २०८१ साउनयता मात्र चट्याङबाट २४ जनाको ज्यान गइसकेको छ । ८८ वटा घटनामा ५५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
बर्सेनि चट्याङले यति ठूलो क्षति गर्दा पनि राज्यको तर्फबाट पूर्वतयारी, चेतनामूलक कार्यक्रम वा सुरक्षाका उपायहरुमा लगानीशून्य नै छ । अधिकांश चट्याङ प्रभावित क्षेत्रहरु ग्रामीण र आर्थिकरुपमा कमजोर वर्गका हुन्, जसले क्षतिको भार आफूले नै बोक्नुपर्छ। चट्याङबाट बच्न सकिने वैज्ञानिक उपायहरु जस्तै– लाइटनिङ एरेस्टर, चेतावनी प्रणाली, सुरक्षित संरचना निर्माण जस्ता कार्यहरु राज्य तहमा प्राथमिकतामा पर्न सकेका छैनन् । यो हाम्रो लागि दुःखद् हो ।
राज्यले चट्याङलाई पनि प्राकृतिक विपत्तिको श्रेणीमा राखेर स्थानीय तहमा क्षति न्यूनीकरणका कार्यक्रम ल्याउनु अपरिहार्य छ। विद्यालय, गोठ, फार्म र सार्वजनिक स्थानहरुमा सुरक्षात्मक उपकरण जडान गर्न अनुदान उपलब्ध गराइनु पर्छ। साथै, कृषक तथा ग्रामीण जनतालक्षित बिमा योजनाहरु अझ प्रभावकारी र सहज पहुँच हुने बनाउनु पर्दछ। विपत्तिपछि राहत बाँडेर मात्रै राज्यको दायित्व पूरा हुँदैन । दिगो समाधानको लागि पूर्वतयारी, पूर्वानुमान प्रणाली र जोखिम न्यूनीकरण रणनीतिमा गम्भीर ध्यान दिनु आवश्यक छ। अन्यथा, चट्याङजस्ता विपत्तिले बर्सेनि जीवन, जीविका र सम्पत्तिमा यस्तै त्रासदीपूर्ण सन्देश छाडिरहनेछन् । राज्यलाई हेक्का हुनु पर्दछ ।