गुठी संस्थानअन्तर्गत चतरा माल मेनेजरी गुठीमा दुई वटा व्यवस्थापन समिति गठन भएका छन् । 

चतरा मेनेजरी गुठी तथा औलिया मठ गुठी (साविक राजगुठी लालमोहर लगतमा रहेको) मा दुई व्यवस्थापन समिति गठन भएका हुन् । महन्त पद्मनाभ गिरीको मृत्युपछि बराहक्षेत्र गुठी व्यवस्थापन समितिका नाममा नयाँ समिति गठन भएको छ । महन्त गिरी रहेकै अवस्थामा गठित औलिया मठ गुठी व्यवस्थापन समिति (देवस्थल समिति ) समेत रहेको छ । 

जिल्ला प्रशासन कार्यालय सुनसरीलगायतका नियामक निकायले उनाऊ समितिलाई खारेज गर्न अन्यथा कानुनी कारबाही अघि बढाउने निर्णयसहितको पत्राचार गरेपछि बराहक्षेत्र मन्दिर परिसरमा काम गर्ने उद्देश्यले स्थानीयले नयाँ गुठी व्यवस्थापन समिति गठन गरेका हुन् । सो समितिले महाकुम्भ मेलामा आर्थिक सङ्कलनलगायतका कामसमेत गरेको छ । यसअघि चतरा गुठीअन्तर्गत राजगुठीमा दर्ता भएका बराहक्षेत्र मन्दिर र औलिया बाबा मठ संरक्षण गर्ने नाममा गठन भएका संस्थालाई हटाउन र आर्थिक गतिविधिमा प्रतिबन्ध लगाउन गुठी संस्थानले वराहक्षेत्र नगरपालिकालाई पत्राचार गरेको थियो ।

गुठी संस्थानअन्तर्गत रहेका मठ मन्दिरमा असम्वन्धित व्यक्ति/ संस्थालाई काम गर्न नदिन वराहक्षेत्र नगरपालिकालाई गुठी संस्थानले निर्देशनात्मक पत्राचार गरेको थियो । हाल गुठी संस्थानले नै ती संस्थाको विकल्पमा गुठी व्यवस्थापन समिति गठन भएको प्रमाणपत्र दिएको छ । 

महन्त पद खाली भएको अवस्थामा एउटै लगतमा दुई व्यवस्थापन समिति गठन भएको औलिया गुठी व्यवस्थापन समितिका अध्यक्ष नागा बाबा विनायक पुरीले जानकारी दिए । 

गुठीका जग्गा कहाँ छन् ? 

२०२७ सालमा नाप नक्सा भई फिल्डबुक तयार भएको चतरा माल मेनेजरी गुठीअन्तर्गत कति जग्गा जमिन र संरचना छन्,  स्थानीयसमेत बेखबर छन् । 

चतरा गुठीअन्तर्गत सुनसरीका विभिन्न स्थान, झापा, बारा, पर्सा, उदयपुरलगायतका स्थानमा जग्गा रहेको बताइए पनि हालसम्म लगत एकीकृत छैन । त्यसका लागि गुठी संस्थानमै बुझ्नु पर्ने नागा बाबा पुरी बताउँछन् । 

चतरा गुठीअन्तर्गत पर्ने वराहक्षेत्र मन्दिरमा छुट्टै व्यवस्थापन समिति खडा भएको छ ।  औलिया बाबा गुठी व्यवस्थापनसँग समन्वय नगरी व्यवस्थापन समिति गठन गरेको देखिन्छ । औलिया गुठीबाटै व्यवस्थापन हुन सक्ने भए पनि कुम्भ मेला लक्षित आर्थिक सङ्कलन गर्न हातारोमा व्यवस्थापन समिति गठन गरिएको स्थानीयको आरोप छ । 

एउटै गुठीअन्तर्गत अनेक व्यवस्थापन समिति निर्माण हुनुमा चलखेल हुन सक्ने स्थानीय युवा सुरेन राईले आरोप लगाए । 'चलिरहेको परम्परालाई ध्वस्त पार्दा त्यसले दूरगामी असर गर्नसक्छ ।' राईले भने । 

हाल चतरा गुठीअन्तर्गत पर्ने जग्गाहरुमा कतै सामुदायिक वन, कतै व्यक्तिले भोगचलन गर्दै आएका छन् । गुठी व्यवस्थापन प्रभावकारी नहुँदा गुठीका सम्पत्तिले आयआर्जन गर्न नसकेको, धार्मिक कार्य र परम्परा लोप हुँदै गएको राईले बताए। 

चतरास्थित खारखोलामा रहेको चतरा माल मेनेजरी गुठीको नाममा २०२७ सालमा नाप नक्सा भई फिल्डबुक तयार भएको साविक चतरा ५ख कि.नं.५को ज.वि. १०-६-१५ जग्गा वनको स्वामित्वमा रहे/ नरहेको मालपोत कार्यालयले विवरण माग गर्दासमेत डिभिजन वन कार्यालयले विवरण उपलब्ध गराएको छैन । 

चतरा राजगुठीमा महन्त नियुक्त नहुँदा गुठी सञ्चालनमा गतिरोध आएको स्थानीय बताउँछन् । गुठीअन्तर्गत पर्ने औलिया मठ र बराहक्षेत्र मन्दिरमा सङ्घीय सरकारले करोडौं रुपैयाँ विनियोजन गरेको छ । स्थानीय सरकारले यी दुई धार्मिक स्थललाई आफू मातहत ल्याउन पहल गरे पनि नगर प्रमुख रमेश कार्कीलाई गुठी संस्थानले खाली हात फर्काइदिएको थियो । 

वृहत्तर वराहक्षेत्र पदाधिकारीविहीन 

चतरामै रहेको तीन जिल्ला कार्यक्षेत्र भएको वृहत्तर वराहक्षेत्र विकास समितिले मठ र मन्दिरको भेटी व्यवस्थापन गर्न खोजे पनि पहल प्रभावकारी हुन सकेको थिएन । 

हाल यो विकास समिति प्रदेश सरकार मातहत आउँदा प्रदेशले कानुन निर्माण गर्न सकेको छैन । अध्यक्ष र सदस्य सचिवको पदावधि गत वैशाख २० गते नै समाप्त भएको छ । 

दन्तकाली, पिण्डेश्वर, रामधुनी, चतरा, औलिया मठ सबै गुठीअन्तर्गत पर्ने हुँदा वृहत्तर वराहक्षेत्र विकास समितिले भौतिक संरचनामा लगानीबाहेक नियमनको काम गर्न सक्दैन । बाँकी रहेका सुनसरीको भवानी थान, छिन्नमस्ता भगवती, उदयपुरको महाङ्काली मन्दिर, धनकुटाको छिन्ताङदेवी र आसपासका धार्मिक क्षेत्रमा समेत विकास समितिले नियमनको प्रभावकारी काम नगरेको स्थानीयको आरोप छ । 

प्रदेश सरकारमा गुठी ऐन कार्यान्वयन छैन

प्रदेश सरकारले प्रदेश गुठी व्यवस्थापनको काम ऐन निर्माण गरेर गर्नु पर्ने भए पनि राजनीतिक अस्थिरताका कारण काम हुन सकेको छैन । 

पछिल्लोपटक मुख्यमन्त्री नियुक्त भएपछि प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । तर चतरा गुठी र औलिया मठबारे नीति कार्यक्रम बेखबर छ । 

एउटै लगतमा दुई गुठी व्यवस्थापन समिति निर्माण हुनु एकातिर महन्तको पद खाली हुनु र प्रदेश सरकारले कानुन निर्माण नगर्नु नै चलखेलको मुख्य कारक रहेको स्थानीयको बुझाइ छ । 'राजनीतिक प्रभावमा मनोमानी भएको देहिन्छ,' स्थानीय युवा सुरेन राई भन्छन्, 'गुठी संस्थानले अविलम्व महन्त नियुक्त गरी अनावश्यक र ऊनाउ समिति खारेज गर्नुपर्छ ।'