विजयपुर । इरान–इजरायल–अमेरिकाबीचको द्वन्द्वले रोजगारको सिलसिलामा मध्यपूर्वका देशमा पुगेका नेपालीहरू त्रासमा रहेका छन् । शनिबार अमेरिकाले इरानमाथि आक्रमण गरेपश्चात् इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य बेसक्यामहरूमा प्रतिकार गरिहेको छ ।
द्वन्द्वको प्रत्यक्ष असर मध्यपूर्वका मुलुकमा काम गर्दै आएका लाखौं नेपालीहरूमा परेको छ । उनीहरूको सुरक्षा अहिले सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ । युनाइटेड अरब इमिरेट्स (युएई) काम गरिरहेका तीर्थ विश्वकर्मा आकाशमा मिसाइल बोकेको विमानहरू देखिरहेको बताउँछन् । “अवस्था तनावपूर्ण नै छ तथापि आफूहरू काममै छौँ” उनी भन्छन्, “आकाशमा बमहरू देखिन्छन् तर पृथ्वीमा झर्न दिएका छैनन् ।”
युएईकै रविन बराइली अमेरिकी सैनिक बेसक्याम नजिकै आफ्नो क्याम भएकाले छेउछाउमै बम पड्किरहेको आवाज सुनिने गरेको बताउँछन् । कतारमा रहेका रञ्जिता कोइरालाका अनुसार अहिले अवस्था तनावपूर्ण छ । उनी भन्छिन्, “आकाशमा गड्याङ्गुडुङ गर्दा त डर हुन्छ । आकाशमा बम बोकेका विमान डुलिरहेका छन् । साह्रै डर लागिरहेको छ ।” साउदीमा रहेका सबिन बराइली पनि अवस्था चिन्ताजनक रहेको बताउँछन् । उनी भन्छन्, “हिजो (आइतबार) आज (सोमबार) नै काम गर्ने साइटमा हानेछ । कम्पनीले बिदा दिँदैन । अवस्था गाह्रो छ ।”
कुवेतका उजिन्द्र लामिछाने पनि द्वन्द्वको असर परेको बताउँछन् । “अवस्था तनावपूर्ण छ । अरू साथीहरूलाई सोधेंँ, ड्युटीमै छौँ भनेपश्चात् म पनि काममा निस्किएँ । अहिले मिसाइल नदेखिए पनि स्थिति तनावपूर्ण नै छ । कतिबेला के हुने हो थाहा छैन” उनी भन्छन्, “हानेको हान्यै थियो । तल झर्न दिएको छैन । आतङ्क मच्चिन्छ जस्तो छ । एयरपोर्टमा पनि हानेछ ।” कतारका डिकबहादुर श्रेष्ठ स्थिति डेन्जर रहेको बताउँछन्। उनी भन्छन्, 'बिहान पनि हान्यो। अहिले पनि हानिरहेको छ। क्षति पनि भइरहेको छ। पेट्रोल पम्पमा मिसाइल खसिरहेको छ। यहाँको स्थिति डेन्जर डेन्जर नै छ।' गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मध्यपूर्व र आसपास मुलुकका नेपालीहरू तनाव रहेको जनाएको छ ।
नेपाल सरकारको तथ्याङ्कअनुसार मध्यपूर्व र आसपासका इरानमा छ जना, इजरायलमा छ हजार पाँच सय, इजिप्टमा पाँचसय, ओमानमा २५ हजार, कतारमा तीन लाख ५७ हजार, कुवेतमा एक लाख ७५ हजार, जोर्डनमा तीन हजार, बहराइन २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८ सय ६५, संयुक्त अरब इमिरेट्समा चार लाख ७८ हजार १ सय ४४, लेबनानमा एक हजार पाँच सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार गरी हाल कुल १७ लाख २९ हजार २ सय ८८ जना नेपाली नागरिक रहेको मन्त्रालयले जनाएको छ ।
द्वन्द्वको प्रत्यक्ष असर नेपालमा पर्ने चिन्ता व्यक्त गर्न थालिएको छ । द्वन्द्व थप चर्किएमा काम पाउँदैनन्, कम्पनीहरू बन्द हुन जान्छन् । नेपाली फिर्ता ल्याउनुपर्छ । नयाँ पनि पठाउन मिल्दैन । रेमिट्यान्स ठप्प हुन्छ । अर्थतन्त्र धरासायी बन्न जाने विश्लेषकहरू बताउँछन् । राजनीतिशास्त्रका सहप्रध्यापक तथा विश्लेषक डा. अमृत श्रेष्ठ द्वन्द्वको चौतर्फी असर पर्ने बताउँछन् । उनी भन्छन्, “पहिलो, प्रवासका दाजुभाइ दिदीबिहनीहरूको सुरक्षाको कुरा भयो । उनीहरूसहित परिवारका सदस्यमा मानसिक असर पर्छ । मानसिक पीडाभन्दा ठूलो अरू हुँदैन ।”
बुद्धिजीवी डा.राजेन्द्र शर्मा इरान–इजरायल–अमेरिका द्वन्द्वले नेपालमा प्रत्यक्ष असर पर्ने बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव देखिन थालेको छ । उनी भन्छन्, “नेपालीको रोजगारी र सुरक्षामा असर परिसक्यो ।” उनी रेमिट्यान्सको ठूलो हिस्सा खाडीबाट आउने गरेको बताउँदै उनी भन्छन्, “रेमिट्यान्स ब्लक हुन्छ । नेपालका गाउँगाउँ चपेटा पर्छन् । आर्थिक मन्दी हुन्छ । जनजीवन नै अस्तव्यस्त बनाउँछ ।” करिब ६० देखि ७० प्रतिशत रेमिट्यान्स उक्त क्षेत्रबाट आउने गरेको छ ।
द्वन्द्वको नेपालमा राजनीतिक असर पनि पर्न सक्ने विज्ञहरू बताउँछन् । डा. श्रेष्ठ भन्छन्, “अन्तर्राष्ट्रिय समुदायले केही गर्न सकेन भने तेस्रो विश्वयुद्धको रूप लिन्छ कि भन्ने चिन्ता छ ।” डा. शर्मा अमेरिका एक पोलको राजनीतिकरूपमा शक्तिशाली भएको बताउँछन् । उनी एमसिसी परियोजनामार्फत् अमेरिकाले भारत र चीनको व्यापारिक तथा रणनीतिक कुरा आँखा लगाइरहेको बताउँछन् ।
त्यसका कारण नेपाल पनि अमेरिकाको नजरमा छ । उनी भन्छन्, “अमेरिकाको यस्तै रवैया रहेमा नेपालको सार्वभौमसत्तामाथिको प्रश्न पनि छ ।” विश्लेषकहरूका अनुसार यदि द्वन्द्व थप चर्किएमा क्षेत्रीय मात्र नभई अन्तर्राष्ट्रिय सङ्कटमा रूपान्तरित हुन सक्ने जोखिम रहेको छ ।
गोरखाका युवकको युएईमा मृत्यु
द्वन्द्वका कारणले एक नेपालीको मृत्यु भएको छ । गोरखा, भीमसेन थापा गाउँपालिका बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको हो । उनी मिडिल इष्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए ।
नेपाली राजदूतावास, अबुधाबीले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको उनको मृत्यु भएको उल्लेख गरेको छ । दूतावासका अनुसार अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा उनको मृत्यु भएको हो । परिस्थिति सहज भएपछि पार्थिव शरीर स्वदेश फिर्ता पठाउन आवश्यक समन्वय र सहजीकरण गर्ने दूतावासले जनाएको छ ।
नेपालीको सुरक्षामा सरकार कटिबद्ध छः प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नागरिकको सुरक्षा र हितमा सरकार लागिरहेको बताएकी छन् ।
सोेमबार देशवासीका नाममा सम्बोधन प्रधानमन्त्री कार्कीले नेपालीहरूको सुरक्षा मुख्य चासोको विषय भएको बताइन् । उनले परराष्ट्र मन्त्रालयले सघनरूपमा अनुगमन गरिरहेको बताउँदै भनिन्, “हामी हरदम तपाईंहरूको साथमा छौँ । नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ ।”
प्रधानमन्त्री कार्कीले मध्यपूर्वी क्षेत्रमा युद्धको सङ्कट गहिरिएको बताउँदै इरान र वरपरको तनावले चिन्तित बनाएको उल्लेख गरिन् । विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्मरूपमा नियालिरहेको छ । त्यहाँ रहेका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय भएको बताइन् ।
मध्यपूर्वमा हवाई यातायात प्रभावित
मध्यपूर्वमा युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय हवाई यातायात पनि प्रभावित भएको छ । मध्यपूर्वका धेरै देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गर्न बाध्य भएका हुन् । आठ राष्ट्रहरूले आफ्नो हवाई क्षेत्र बन्द घोषणा गरेका छन् ।
तीमध्ये इरान, इजरायल, इराक, जोर्डन, कतार, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स, लेबनान रहेका छन् । सिरियाले पनि इजरायलसँगको सीमावर्ती दक्षिणी क्षेत्रको आकाश १२ घण्टाका लागि आंशिकरूपमा बन्द गरेको घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले उल्लेख गरेको थियो ।
थप जोखिम उत्पन्न हुनसक्ने कारणले विश्वभरका विमान कम्पनीहरूले मध्यपूर्वका गन्तव्यतर्फका उडानहरू रद्द वा मोड्न थालेका हुन् । रुसको यातायात मन्त्रालयले रुसी वायुसेवाहरूले इरान र इजरायलतर्फका उडानहरू स्थगित गरेको जनाएको छ । एयर इण्डियाले पनि अस्थायी रूपमा सम्पूर्ण मध्यपूर्वी मार्गहरू स्थगन गर्ने घोषणा गरेको थियो ।
१२ देशको श्रम स्वीकृति स्थगित
इजरायल र अमेरिकासहित मध्यपूर्वमा इरानसँगको युद्धका कारण १२ देशका लागि नेपाल सरकारले श्रम स्वीकृति दिन स्थगित गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार साउदी अरब, युएई, कतार, कुवेत, बहराइन, ओमान, इरान, यमन, जोर्डन, लेबनान, इजरायल र टर्कीका लागि श्रम स्वीकृति दिन स्थगित गरिएको छ ।
































