विजयपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मध्यरातदेखि मौनअवधि सुरु भएको छ । तर, मौन अवधिकै समयमा सुनसरी क्षेत्र नं. १ को निर्वाचन कार्यालय परिसरमा बालबालिका धर्नामा बसेका छन् ।

बुधबार धरान नगर बाल सञ्जालले निर्वाचन कार्यालय परिसरमा धर्ना दिएको हो । बाल सञ्जालका अनुसार निर्वाचन आचारसंहिता विपरीत काम गर्ने राजनीतिक दल र तीनका उम्मेदवारलाई कारबाही नगरेकाले बाध्य भएर धर्ना बस्नु परेको जनाएको छ । नगर बाल सञ्जालका कार्यवाहक अध्यक्ष रोजन शंकरका अनुसार हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आचारसंहिता विपरीत निर्वाचन प्रचार-प्रसारमा बालबालिकाको प्रयोग गरेका थिए । बाल सञ्जालले ती दल र उम्मेदवारविरुद्ध उजुरी दिए पनि कारबाही नभएकाले धर्ना बस्नु परेको जनाएको छ ।

कार्यवाहक अध्यक्ष शंकरले भने, 'विधिको शासन त सबैलाई होला नि ! कि दलहरूले आचारसंहिता र कानून मान्नु पर्दैन ?' सञ्जालले श्रम संस्कृति पार्टीबाट समानुपातिकतर्फ उम्मेदवार बनेकी मिना सिङ्घकको उम्मेदवारी खारेज गर्न माग गरेको छ ।

धर्नामा बसेका बालबालिकालाई सुनसरी क्षेत्र नं. १ का निर्वाचन अधिकृत दिव्यराज घिमिरेले एक दललाई आयोगले २५ हजार रुपैयाँ जरिवाना गरिसकेको जानकारी दिए । अन्य विषयमा पनि कारबाहीका लागि आयोगमा पठाइएको उनले बताए । अधिकृत घिमिरेले अनुरोध गर्दा नमानेपश्चात् इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषण बहादुर राईले सहजीकरण गरेका थिए । बाल सञ्जालले गरिएको कारबाहीको लिखित जानकारी दिनुपर्ने र अन्य उजुरीको प्रगतिबारे स्पष्ट जानकारी गराउनुपर्ने माग गरेको छ । माग पूरा नभए निरन्तर धर्ना बस्ने र आवश्यक परे अनशनसमेत बस्ने चेतावनी सञ्जालले दिएको छ । सञ्जालका अनुसार ती दुई दलले भिडियो निर्माण, पोस्टर टाँस्ने, पर्चा बाँड्ने लगायतका काममा बालबालिकाको प्रयोग गरेका थिए ।

निर्वाचन आचारसंहिताअनुसार बालबालिकालाई चुनावी प्रचार-प्रसारमा प्रयोग गर्न कडाइका साथ निषेध गरिएको छ । आचारसंहितामा १८ वर्ष नपुगेका बालबालिकालाई जुलुस, सभा, ¥याली, पोस्टर टाँस्ने, पर्चा बाँड्ने, नारा लगाउने, सामाजिक सञ्जाल प्रचारलगायत कुनै पनि राजनीतिक गतिविधिमा संलग्न गराउन नपाइने स्पष्ट व्यवस्था छ । नेपालको संविधानको धारा ३९ मा पनि बालबालिकालाई काममा लगाउन नपाइने उल्लेख गरिएको छ ।