धरान । मधेश प्रदेशको विभिन्न स्थानमा विस्फोटक पदार्थ पड्किँदा चार जना घाइते भएका छन् ।
मधेश प्रदेशको धनुषा, महोत्तरी क्षेत्रमा शङ्कास्पद वस्तु पड्किँदा चारजना घाइते भएका हुन् । धनुषामा दुई जना र महोत्तरी क्षेत्रमा दुई जना घाइते भएका हुन् । धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा विस्फोटक पदार्थ पड्किँदा ८ नम्बर वडाकी १५ वर्षीया आशा भुजेल र ८ वर्षीय सुशील माझी घाइते भएका छन् । बडहरी पुलमाथि टेपले बेरिएको शङ्कास्पद वस्तु एक्कासि पड्किँदा उनीहरू घाइते घएका हुन् ।
प्रहरीका अनुसार बालबालिकाहरूले खुट्टाले छोएपछि विष्फोट भएको जनाइएको छ । आशाको दुवै खुट्टामा सामान्य चोट लागेको छ भने सुशीलको शरीरका विभिन्न अङगमा चोट लागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उक्त घटनाका विषयमा अनुसन्धान सुरु भएको जनाइएको छ ।
यस्तै महोत्तरीको बर्दिवासमा मङ्गलबार अपरान्ह शङ्कास्पद वस्तु पड्किँदा दुईजना घाइते भएका हुन् । बर्दिबास नगरपालिका–१ स्थित रातो पुलमा शङ्कास्पद वस्तु पड्किँदा कैलाली घोडाघोडी–१० का १७ वर्षीय सन्देश चौधरी र २४ वर्षीय समीर चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।
रातो पुलको पश्चिमतर्फ करिब ५० मिटर पूर्वी पुलको किनारमा दुई वटा शङ्कास्पद वस्तु फेला परेको थियो । दुई मध्ये एउटा विस्फोट हुँदा पैदलयात्री घाइते भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बाटो हिँडिरहेका तीनजना मध्ये एकजनाले खुट्टाले चलाएका कारण पड्किन पुगेको प्रहरीले जनाएको छ । पड्किने क्रममा छर्राले लागेर दुईजना घाइते भएका हुन् । अर्को शङ्कास्पद वस्तु भने नेपाल सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
यस्तै रौतहटकै चन्द्रपुर–५, रजपैडा– थलहीटोल जाने मार्गमा मङ्गलबार बिहानै शङ्कास्पद वस्तु फेला परेको थियो । नेपाली सेनाको डिस्पोजल टोलीले उक्त शङ्कास्पद वस्तु डिस्पोज गरेको जनाइएको छ । स्थानीय आधुनिक प्रावि स्कुलबाट करिब दुई सय मिटर दक्षिणतर्फ बोरामा राखिएको अवस्थामा फेला परेको थियो ।
































