सुनवर्षी–६ का शङ्कर पासवान जस्ता बिरामीका आफन्त औषधि पसलबाट ठगिँदै आएका छन् । विराटनगरको लागि यो नयाँ घटनाक्रम हुँदै होइन । उनी जस्ता बिरामीका आफन्तहरु कयौँ ठगिँदै आएका तथ्यहरु यसअघि पनि सार्वजनिक भइरहेकै हुन् । दिनरात नभनी कमाएको पैसा जति गरिबहरुले औषधिमुलो र शिक्षामै बढी खर्चिनु पर्ने अवस्था छ । यस्तो बाध्यतामा बाँचेकाहरु थप स–साना ठाउँमा हण्डर ठक्कर खाँदै आएका छन् । लुट र धोका पाउँदै आएका यस्ता बिरामीका आफन्तहरुको पीडा कसले बुझिदिने ? यो अहिलेसम्मको अनुत्तरित प्रश्न हो ।
औषधि पसलहरुले विवशताका नाममा झन् ठगी गर्दै आएका छन् । निमुखाहरुमाथि थप ठगी गर्ने जुन प्रवृत्ति छ, यो प्रवृत्तिको अन्त्य हुन सकेको छैन । गरिबीको फाइदा उठाउँदै औषधि पसलहरुले जुन व्यवहार गरिरहेका छन्, त्यो मानवतालाई नै लज्जित बनाउने व्यवहार हो । यस्ता विषयमा सामान्य कारबाही हुने गरेका कारण पनि उनीहरुको मनोबल बढिरहेको छ । औषधि व्यवस्था विभागले कारबाही गरे पनि पर्याप्त छैन भन्ने यी उदाहरणबाट प्रष्ट भएको छ ।
चाहिनेभन्दा बढी मूल्य लिनु आफैमा अपराध हो । जसमा कानून आकर्षित हुन्छ । तर, कानूनको छिद्र प्रयोग गरेर उनीहरुले सोझा, सिधा र निमुखाहरुमाथि अराजकता र लुट मच्चाइरहेका छन् । सामान्य कारबाही हुने र सामान्य नसिहत लिएर छाडिने कारण आफैमा ठूलो समस्या हो । यस्ता समस्या आउन नदिन औषधि व्यवस्था विभागले कडा कदम चाल्न आवश्यक छ । हेर्दा आर्थिक ठगी देखिए पनि यसमा अन्य खालका ठगीहरु प्नि मौलाइरहेका छन् । औषधिहरुलाई फ्रिज गर्नुपर्ने र भण्डारण गर्दा निश्चित मापदण्डमा भण्डारण गर्नुपर्ने भए पनि त्यो हुन सकिरहेको छैन । यसले गर्दा त्यस्तो औषधि मृत्युको कारक पनि बन्न सक्छ ।
बिरामीको ज्यानमाथि खेलवाड गर्ने यस्ता कार्यमा कदापि छुट दिनु हुँदैन । बिरामीलाई मृत्युको मुखमा धकेल्ने कार्य जोसुकैले गरे पनि त्यो आफैमा गम्भीर अपराध हो । यस्ता अपराधीहरुलाई राज्यले संरक्षण गर्नु हुँदैन । यसमा राज्यका निकायहरु चनाखो हुनुपर्छ । यस्ता घटनाहरुमा गम्भीर भएर राज्यका निकाय लागेमा औषधि पसले तथा फार्मेसीहरु थप चनाखो हुन्छन् र भविष्यमा यस्ता गल्तीहरु गर्दैनन् । यसतर्फ चाहिँ सबै सचेत बन्न आवश्यक छ । अर्कोतर्फ, पीडितहरुले पनि आफू थप पीडामा नपर्नका लागि सचेतता अपनाउन जरूरी छ ।
कमजोर अनुगमन, दण्डहीनता, अस्पताल र फार्मेसीको साँठगाँठ आदिका कारणले पनि यस्ता घटनाहरु बरम्बार दोहोरिरहेका छन् । नियमित र कडा निगरानी आवश्यक छ । यस्तै सामान्य रुपमा पसलहरु शिलबन्दी गरेर मात्रै हुँदैन । त्यस्ता औषधि पसलका सञ्चालकहरुमाथि फौजदारी अपराधसम्मको कारबाही गर्ने व्यवस्था गर्नु जरूरी छ । यतिबेला प्रतिनिधिसभा सदस्यको निर्वाचन हुन लागिरहेको अवस्थामा अब बन्ने जनप्रतिनिधिहरुले यस्ता विषयमा कस्तो कानून बनाउनुपर्छ भन्नेबारे पनि सोचून् । अब बन्ने जनप्रतिनिधिले यस्ता कुकर्म गर्नेहरुमाथि कारबाही गर्ने संयन्त्र कडा बनाउन आवश्यक छ । अबको दुनियाँ प्रविधिमैत्री भएकाले अनिवार्य डिजिटल बिलिङ गर्ने, औषधिको भण्डारणको अवस्था चेकजाँच गर्ने यदि नभएमा खारेजीसम्मको कारबाही गर्न आवश्यक छ । आमनागरिक पनि सचेत भई कारोबार गर्न आवश्यक छ । एक रूपैयाँ त हो नि भनेर छाड्ने र बिल नलिने प्रवृत्तिको अन्त्य आफैबाट सुरू गर्न आवश्यक छ । सबै जवाफदेही बनौँ र अन्यलाई पनि जवाफदेही बनाऔँ ।
































