विजयपुर । सार्वजनिक बिदाका दिनसमेत सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ हुने भएको छ ।
अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले घोषणा गरेको सार्वजनिक बिदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पनि अदालत खुला रहने जनाइएको हो । विशेषगरी बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ । अदालत ११ बजेदेखि ३ बजेसम्म खुल्ला रहनेछ । फागुन २० गतेदेखि २३ गतेसम्म तथा २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ हुनेछ ।
व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइको व्यवस्था गरिएको अदालतले स्पष्ट पारेको छ। सम्बन्धित पक्षलाई तोकिएको समयमा उपस्थित भई कानुनी प्रक्रिया अघि बढाउन पनि आग्रह गरिएको छ।
































