विजयपुर। निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल तथा उम्मेदवारविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने विषयमा सुनसरी निर्वाचन क्षेत्र नं. १ को निर्वाचन कार्यालय र धरान नगर बाल सञ्जालबीच लिखित सहमति भएको छ।

ईलाका प्रशासन कार्यालय धरानका प्रमुख फणिन्द्र दाहालको रोहबरमा नगर बाल सञ्जाल धरानका अध्यक्ष मानव विश्वकर्मा र निर्वाचन अधिकृत दिव्यराज घिमिरेबीच सहमति भएको हो। सहमतिपत्रमा नगर बाल सञ्जालका सदस्य रोजन शंकरले पनि हस्ताक्षर गरेका छन्।

सहमति अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने तथा सञ्जालमा आबद्ध बालबालिकामाथि गालीगलौज, दुर्व्यवहार वा धम्की दिने व्यक्तिलाई कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा तत्काल लेखी पठाउने सहमति भएको छ।

सुनसरी निर्वाचन क्षेत्र नं. १ मा चुनावी प्रचारप्रसारका क्रममा बालबालिकालाई प्रयोग गरिएको भन्दै बाल सञ्जालले यसअघि उजुरी दिएको थियो। सो उजुरीमाथि कारबाही नभएको जनाउँदै सञ्जालका सदस्यहरूले मंगलबार दिनभर निर्वाचन कार्यालय परिसरमा धर्ना दिएका थिए। बेलुका दुवै पक्षबीच वार्ता भई सहमति जुटेको हो।

बाल सञ्जालले श्रम संस्कृति पार्टीबाट समानुपातिकतर्फकी उम्मेदवार मिना सिंघकको उम्मेदवारी खारेज गर्न माग गरेको छ। यस्तै, धरान-४ का निवर्तमान वडाध्यक्ष धनबहादुर राईलाई आचारसंहिता विपरीत गतिविधिमा संलग्न भएको आरोपमा कानुनी कारबाही गर्नुपर्ने माग पनि अघि सारिएको छ।

सञ्जालले आफ्ना सम्पूर्ण सदस्यहरूको सुरक्षाको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने, आचारसंहिता उल्लङ्घन गर्ने दल तथा व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने तथा बाल सञ्जालका सदस्यहरूको व्यक्तिगत फोटो प्रयोग गरी चरित्रहत्या, गालीगलौज, नकारात्मक टिप्पणी वा भ्रामक पोस्ट/भिडियो बनाउने व्यक्तिमाथि समेत कानुनी कारबाही गर्नुपर्ने माग राखेको छ।