धरान । राष्ट्रिय समस्याको निकास दिनका लागि संयुक्त पहिचानवादी मोर्चाले नयाँ समिति गठन गरेको छ ।
गठित समितिको संयोजकमा अशोक चेम्जोङ रहेका छन् । सदस्य–सचिवद्वयमा सन्तराम योङ्हाङ र भविराज लिम्बू रहेको फागुन १६ मा जारी विज्ञप्तिमा उल्लेख छ । २९ सदस्यीय समितिहरूमा दिलकुमार लावती, अम्बर इजम लिम्बू, पूर्णकला लिम्बू, भक्त लिम्बू मेन्याङ्बो, राजेश लिम्बू, मीना विश्वकर्मा, विपना राई, अब्बास मियाँ, कलेश्वर साह, निर्भय मल्लिक, घनश्याम रिजाल रहेका छन् ।
यसैगरी अन्य सदस्यहरूमा मनोहर लिम्बू, नैन विश्वकर्मा, कुलकेशर लिम्बू, उषा लिम्बू, डम्बर लिम्बू, राजकुमार पापो, जीवन राई, श्री लिङ्खिम, तिलक राई, नारायण आइला, भीम आइला, सन्तोष मादेन, तेजेन्द्र सुब्बा, मक्कर साम्बा र शुक्र लिम्बू छन् ।
वरिष्ठ नेताहरूमा डकेन्द्र सिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अम्बरबहादुर लिम्बू पन्धाक रहेका छन् । यस्तै सल्लाहकारहरूमा मोहन तिम्सिना र चन्द्रमणि सुब्बा रहेका छन् । मोर्चाले बृहत् आन्दोलनका लागि सशक्त र व्यवस्थित सङ्गठनात्मक संरचना निर्माण गर्ने जनाएको छ । यस्तै आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सबै राजनीतिक दलका घोषणा–पत्रमा पहिचानसहितको सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचन प्रणालीप्रति स्पष्ट प्रतिबद्धता सुनिश्चित गर्न दबाव सिर्जना गर्ने उल्लेख गरिएको छ ।
यस्तै संविधान संशोधन, राज्य पुनर्संरचना पहिचान र सामथ्र्यका आधारमा दश प्लस एक प्रान्त निर्माण गर्ने, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको विषयमा राज्यले पूर्ण जिम्मेवारी लिने व्यवस्था सुनिश्चित गर्नेलगायतका विषय समेटिएका छन् ।
यस्तै “नो एजेन्डा, नो भोट, नो कोशी, नो भोट” अभियानलाई सशक्त बनाउँदै घरदैलो, जनसंवाद र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । संयोजक अशोक चेम्जोङद्वारा जारी विज्ञप्तिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक व्यवस्था तथा पहिचानसहितको सङ्घीयताको मर्म र भावना अनुरूप स्वदेशवादी विचारलाई आत्मसात गर्न सम्पूर्ण देशवासीमा हार्दिक अपिल गरेको छ ।
































