‘घरघरमा सभ्य तवरले विभेद रचिँदै थियो
सुखी परिवारको नाउँमा सातौं सन्तान
अबोर्सनको तर्खरमा थियो’ –दिवस र दैनिकी
समकालीन साहित्यमा कलम चलाउन सुरू गरेकी कवि सुष्मा दाहालको मध्यान्तरबाट एउटा हरफ लिएसँगै उनका कृतिको बारेमा एउटा आलेख उठाउन मन लागेको छ ।  तेह्रथुममा शिक्षिका पेसामा आबद्ध दाहालले २०७९ सालमा पहिलो कृतिको रुपमा आफ्नो मध्यान्तरलाई पाठक सामु ल्याउनुभएको छ ।
उनका कृतिलाई पाठकको नजरले हुर्दा एउटा विद्रोहको राँको बोकेर शिरमा कफन बाँधेर पर्खालमा उक्लँदै गरेको योद्धाजस्तो देखियो । जसले अधिकारका लागि शिरमा कफन बाँधेको छ । ठीक त्यसैगरी साहित्यका सागरमा आफूलाई पनि अब्बल बनाउने अठोटका साथ अगाडि आउनुभएको देखियो ।
उनको कृति मध्यान्तर ले सभ्य समाजको परिकल्पना गरेको छ । कृति बहुआयामिक प्रकृतिको छ । हरेक कविताले समाज परिवर्तनको बाटो देखाएको छ । ५० वटा कवितालाई सङ्कलन गरेर पुस्तकको रुपमा उतार्न सक्नु एउटा कविको लागि गौरवको विषय हो । आजको आधुनिक युगमा पुस्तक निकालेर बजारमा लैजानुभन्दा पनि पाठकको हात–हातमा पु¥याउनु चुनौतीको विषय हो । ५० वटा कविताका पङ्क्तिहरुलाई नियाल्दा साँच्चै समाजको सिङ्गो प्रतिबिम्ब देखिन्छ मध्यान्तरमा । म शब्दको सस्तो व्यापारी हैन, शीर्षकको कवितामा रहेको शब्दहरुलाई नियाल्दाः
म दुष्चक्रको ज्वालामा
जल्दै बाँचेको मान्छे हुँ
बेमौसमीसित तापहरु
छल्दै बाँचेको मान्छे हुँ
म मान्दिन नजिक टाढा
लाग्दैन कोही आफ्ना पराया
सत्य टेकी सत्य लेखी
ताते सर्दै गरेको मान्छे हुँ
मलाई शब्दको सस्तो व्यापारी नसम्झ
म पनि तिमीजस्तै एक आममान्छे हुँ ।
कवितालाई सर्जकहरुले फुर्सदको साहित्य भनेपनि वास्तवका कविता भनेको साहित्यको उद्गम विन्दु हो । जसलाई दाहालले आफ्नो कृति मध्यान्तरमार्फत् उजागर गर्नुभएको छ ।  
मध्यान्तर कविता सङ्ग्रहको मध्यान्तर शीर्षकको कवितामा कविले यसरी समाजको वास्तविकतालाई प्रस्तुत गरेका छन्ः
केही थान सुन्दर सपना थिए
जो कहिल्यै विपना बन्न सकेनन्
केही थान अनमोल भावना थिए
जो कहिल्यै खुल्न सकेनन्
यसरी खुल्न नसकेको भावनाहरुलाई शब्दको माध्यमबाट मध्यान्तरमा सङ्कलित गरेर एउटा सुन्दर कृतिको रुपमा विजारोपण गर्न सफल भएको देखिन्छ । यसले के देखाउँछ भने कृतिकारको लागि एउटा पुस्तक बजारमा ल्याउनु भनेको अनेकौं सपनामध्ये एउटा सपना पूरा हनु हो ।
अनमोल प्रेमलाई शब्दको पासामा उतार्दै यादका भूमरी मा कृतिकार सुष्मा आफ्ना बिम्बहरुलाई यसरी प्रस्तुत गर्नुभएको छः
हातमा हात काँधमा काँध मिलाएर
क्षितिजपारि पुग्न तय गरेको
हाम्रो विमान उड्न सकेन
हाम्रो अठोटको स्तम्भ ढल्यो
ढलेन मात्र, चकनाचुर भयो ।
यसरी कृतिकारले आफ्ना बिम्बहरुलाई अगाडि बढाउने क्रममा प्रतिक्षा शीर्षकको कवितामा यसरी उल्लेख गर्छिन्ः
कहिलेकाहीँ कविताका शब्दहरुमा
आँसुका ताल छछल्किन पुग्छन्
अनि आँसुमय बन्छ कविता
लाग्छ, मेरा आँखाहरुमा विशाल समुद्र अटेको छ ।
कहीँ प्रेमका डुबुल्कीमा डुबाउँदै गएको कविता ठूलाबडाको कामलाई दृष्टिगोचर गर्दै विद्रोहको राँको बनेको देखिन्छः
मान्छे, मान्छे बनेर बाँच्दैन अब
म र मेरोमा सीमित बन्दै जान्छ
पहिचान र परिचयको नाममा आफूलाई
सङ्कीर्ण र साँघुरो बनाउँदै जान्छ
यो एक्काइसौं शताब्दीको
मानसिकता हो साथी
यहाँ परिश्रम कुल्चेर
पगरी किनिन्छन् ।
कविता सङ्ग्रहलाई बढो संवेदनशील तरिकाले शब्दहरुको पहिचान गरेर महिनावारीको विषयमा एउटा पवित्रताको सुरूवातको सङ्केत गर्दै आफ्ना कविता पहिलो महिनावारीमा यसरी बहकिन्छिन् कृतिकारः
अब तिमी उर्वर जमिनसरि भएकी छ्यौ
जे रोप्यो त्यही उम्रने
जसले टेक्यो उसकै पदचापको निशानी बस्न सक्ने त्यसैले धैर्यता र आत्मरक्षा जान्ने बेला भएको छ । यसरी कविताको माध्यमबाट कृतिकारले महिलाको सुरक्षाको बारेमा जोडदार प्रस्तुत गरेका छन् । यसरी हेर्दा कविताका एक प्रकारको बहुआयामिक कृति हो । कविताको माध्यमबाट विद्रोह, शान्ति, क्रान्ति र अमनचयनका कुराहरु सरल ढङ्गले प्रस्तुत गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बन्नुभएको छ सुस्मा ।
विद्रोह, शान्तिको कुरा मात्र होइन, परिवारिक जिम्मेवारीसमेत कविताको माध्यमबाट नै प्रष्ट्याउन सकिन्छ भन्ने कुरालाई सरल रुपमा आफ्नो कविता गोधुली साँझमा प्रस्तुत गरेका छन्ः
जुनबेला चारोको खोजीमा
सुदूर उडेका गौंथलीका जोडी
बडो प्रेमपूर्वक साउती मार्दै
फर्किन्छन् आफ्नो बसेरामा
यस्तै दृश्यहरुमाझ रमाउँछ अचेल मेरो गोधुली साँझ । छोरीहरुको हिम्मतको बारेमा कृतिकारले आफ्नो सुन्दर कृति मध्यान्तरमा यसरी प्रस्तुत गर्नुभएको छः
कानूनी राज्यमा कानून
कठपुतली भएको देख्दा
न त सुरक्षित छु यहाँ
न तिमीजस्ता हजारौं आमा र छोरीहरु नै
त्यसैले अनुमति देऊ आमा
यी सारा बेथिति र विसङ्गति
तोड्न म रिभल्बर बोक्छु
म आतङ्ककारी बन्छु ।
आमा म आतङ्ककारी बन्छु शीर्षकको कवितामा जोडदार ढङ्गले नारी अधिकारको लागि सचेतताका साथ लाग्नुपर्ने कुरा उजागर गरेका छन् । साँच्चै बन्ने हो भने अहिलेको बेथिति र विसङ्गतिलाई तोड्नका लागि न्यायप्रेमी जनताहरुले आफूसँग भएका औजारहरुको माध्यमबाट विसङ्गति निर्मूल पार्नका लागि अग्रसर भएर लाग्ने बेला भएको छ । सो कुरालाई कृतिकार सुस्माले बडो मलिन ढङ्गले उठाउनुभएको छ ।
नेपालको विकास पद्दति सही तरिकाले अगाडि बढ्न नसकेको कुरा आफ्ना कविता अक्करको गर्भमित्र, अरूणका सुस्केराहरुमाः
विकासले राई साइँलालाई
छुँदै छोएको छैन
ढाकर, तोक्मा, नाम्लो उसको
बिसाइएको छैन
दिनैभरि माछा मारी
फिर्छ माझी काले
रित्तो चुलो पिरोलिन्छ
सातु सामलले ।
यसरी विकासका योजनाहरु व्यक्तिमुखी भएको र क्षेत्रमुखी भएको कारणले देशको विकास सही तरिकाले नभएको कुरासमेत कविताको माध्यमबाट नै उजागर गर्न सकिने कुरा कृतिकारले आफ्ना कृतिमा प्रस्तुत गर्नुभएको छ ।
गाउँबेंसी मेलापात, अनि विदेशिएका युवाहरुको लक्ष र उनीहरुको प्राप्तिलाई कविताको माध्यमबाट उजागर गर्न सकिन्छ । अनि आफ्नै देशमा बसेर देशको विकास लागि सोचिरहेका कयौं मनहरुको नजिकको सारथि हो कविता । कविता नै यस्तो साहित्य हो, जसको माध्यमबाट सारा साहित्यको विकास हुने गर्दछ । हामीले साहित्यको इतिहासको बारेमा कुरा गर्ने हो भने पनि साहित्यको उद्गम बिन्दुको रुपमा कवितालाई लिन सकिन्छ । हरेका सङ्घर्ष, पहिचान, राष्ट्रियता अनि भूमिकाको बारेमा कविताको माध्यमबाट प्रष्ट पार्न सकिन्छ ।
कवितालाई विभिन्न पद्दतिबाट लेख्न सकिए पनि अहिलेको जल्दोबल्दो लेखनशैली भनेको गद्यशैली नै सबैभन्दा बढी देखिन्छ । यही शैलीलाई अँगाल्दै कृतिकार सुस्माले विदेशिएको एक युवाको मस्तिष्कमा कोरिएको देशको स्केचमा यसरी प्रस्तुत गर्नुभएको छः
आखिर सम्झने छुट त छ
उसलाई पनि छातीमा देश बोकेर
हरेक दिन उसले पढेका अखबार सम्झियो
सपना बोकेर कफनमा फर्किएकाको
संसार सम्झियो ।
कविताको जन्म कसरी हुन्छ भन्ने कुरामा समेत कृतिकार दाहालले आफ्नो कृति मध्यान्तरमा कविताकै माध्यमबाट कविताको जन्ममाः
अभाव र असहजताका अवस्थाहरु
जीवनमा हरेक प्रहर भोग्नुपरेका
समय र नियतिका दुष्चक्रहरु एक थोपा
आँशु नझरी भाग्य र लेखान्तको खेल सम्झेर
गह भित्रभित्रै बनेको अश्रुताल जब स्वाभिमानको
प्रश्नरुपी वचनबाणले फुटाउने दुस्साहस गरिन्छ
कताबाट थाहै नपाई रोपिन पुग्छ कविता ।
कहीँ कहीँ कविताका हरफहरुले पनि मनलाई चटक्क टिपेर हामीभन्दा निकै टाढा लैजाँदा रहेछन् । अनि कविताको माध्यमबाट नै विकासको मूल फुटाउँदा रहेछन् । शब्द मिडिया प्रा.लि., साहित्यपोष्ट काठमाडौंले प्रकाशनमा ल्याएको यो मध्यान्तर अब्बल कृतिको रुपमा दर्ज हुन सकोस् शुभकामना । अन्त्यमा, मध्यान्तरको यो हरफः
अक्करले मुहार फेर्न सक्ने हो कि हैन
पसिनाले जुहार भेट्न सक्ने हो कि हैन ।
–(साल्पासिलिछो, भोजपुर)