पछिल्लो समय अत्यधिकरुपमा गर्मी बढेको चर्चा हुने गरेको छ । पहिला चिसो हुने ठाउँहरुमा पनि अचेल अचाक्ली गर्मी हुने गरेको स्थानीयवासीले अनुभव गरिरहेका छन् । यसरी गर्मी बढ्दै जाँदा तराई क्षेत्रमा तातो हावा अर्थात् ‘लू’ चल्ने सम्भावना बढेको भन्दै सचेतना अपनाउन थालिएको छ । आफू वरपरको तापक्रम विगतका वर्षहरुमा भन्दा बढेको अनुभव सुनाउनेहरुको सङ्ख्या बढिरहेको पाइन्छ । बर्सेनि तापक्रम बढ्दै जानु, चर्को गर्मी हुनुलाई सहजैरुपमा जलवायु परिवर्तनको असर भन्ने गरिएको छ । तर, यसबारे गम्भीरतापूवर्क अध्ययन भने गरिएको पाइँदैन । जे कारणले भए पनि तापक्रम वृद्धि हुनु, वर्षा नहुनु, अधिक वर्षा हुनु सबैलाई जलवायु परिवर्तनको असरका रुपमा हेर्ने गरिएको छ । 

जलवायु परिवर्तन वा जेसुकै कारणले भए पनि तापक्रम वृद्धि भइरहेको भने यथार्थ हो । विभिन्न अध्ययनहरुले पनि तापक्रम वृद्धि भइरहेको देखाएका छन् । एकातिर जमिनको तापक्रम बढ्ने र अर्कातिर वर्षाको दरमा परिवर्तन हुने गरेका कारण पहाडीक्षेत्रमा पानीका मुलहरु सुकिरहेका छन् । पानीको समस्याका कारण ग्रामीणक्षेत्रमा बसाईं सराइ तीव्र बनिरहेको छ । जलवायु परिवर्तनका लागि नेपालजस्ता साना देशहरुको भूमिका ज्यादै कम भए पनि नकारात्मक असर भने बढी भोगिरहनु परेको छ । ठूला औद्योगिक राष्ट्रहरु मुख्यरुपमा जिम्मेवार रहेको जलवायु परिवर्तनको विषय आम नागरिकको मुद्दा बन्नु आवश्यक छ । जलवायु परिवर्तनबारे स्थानीय तहहरुले आम नागरिकलाई सचेत गराउनु जरूरी छ । स्थानीय तहहरुले जलवायु परिवर्तनको विषयलाई आफ्नो मुद्दा बनाएर अघि बढ्न आवश्यक छ । 

केही दिनयता बढ्दो तापक्रमका कारण तराईमा ‘लू’ चल्न सक्ने भन्दै विज्ञहरुले सचेतना अपनाउन सुझाव दिइरहेका छन् । यस्तो अवस्थामा सम्भावित क्षेत्रमा सचेतना अपनाएर नागरिकको स्वास्थ्यको ख्याल गर्नु राज्यको दायित्व हो । त्यससँगै राज्यले यस्ता समस्याको न्यूनीकरणका लागि आम नागरिकको कस्तो भूमिका रहन्छ ?, स्थानीय तहहरुले के कस्ता काम गर्न सक्छन् जस्ता विषयमा अध्ययन गरेर सचेतना जगाउनु जरूरी छ । जलवायु परिवर्तनलाई विदेशबाट पैसा ल्याउने विषयमा मात्र सीमित गर्नु हुँदैन । विश्वव्यापीरुपमा देखापरिरहेको तापक्रम वृद्धि, खडेरी, अतिवृष्टि, अनावृष्टि जस्ता समस्यासँग कसरी जुध्न सकिन्छ भन्नेबारेमा आदिवासी समुदायसँग परम्परागत ज्ञान हुन सक्छन्, त्यसको पनि खोजि गरिनु जरूरी छ । जथाभावी बनिरहेका सिमेन्टका संरचना, कालोपत्रे सडक, वन विनाशजस्ता कामले पनि तापक्रम वृद्धि भइरहेको विज्ञहरुले बताउने गरेका छन् । यसका विकल्पहरु खोज्नसके केही मात्रामा भए पनि न्यूनीकरण गर्न सकिन्छ कि भन्नेबारे पनि सचेत हुनु जरूरी छ । सबैले आ–आफ्नो क्षेत्रबाट सचेतना अपनाएर काम गर्ने हो भने जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सकिन्छ । स्थानीय सरकारहरुले यसका लागि भूमिका खेल्नु सबैभन्दा फाइदाजनक हुनसक्छ ।