करिब डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको झापाको भ्यूटावर हस्तान्तरणको प्रक्रियामा रहेको पाइएको छ । 

 राष्ट्रिय गौरवको आयोजनाको रूपमा हेरिएको दमकमा निर्माण गरिएको टावर हस्तान्तरणको प्रक्रियामा रहेको सघन सहरी तथा भवन निर्माण आयोजना झापाले जनाएको छ ।

भ्यूटावर निर्माण सम्पन्न भएसँंगै हस्तान्तरणको प्रक्रियामा रहेको साथै सो क्षेत्रमा सरसफाइको काम भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदीप पौडेलले जानकारी दिए ।

व्यापारिक केन्द्रसहितको भ्यूटावरले पूर्वी नेपालको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको उनको धारणा छ । सङ्घीय सरकारको बजेटमा निर्माण भएको टावर नेपालकै नमुना र फरक डिजाइनमा तयार भएको उनले बताए । नयाँ प्रविधिमा निर्माण गरिएको १८ तले भ्यूटावर १ सय मिटर अग्लो रहेको उनी बताउँछन् ।

दमक नगरपालिका–३ स्थित दापगाछीमा २०७६ साल असार २७ गतेबाट निर्माण सुरु गरिएको भ्यूटावर ३० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । चिनियाँ कम्पनी सिजिआइइसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका थिए । कोभिड–१९ को महामारीको दुई लहर, कन्स्ट्रक्सन होलिडे र बजेट अभावका कारण यसको निर्माण अवधि थपिएको कम्पनीले जनाएको छ । 

भ्यूटावर निर्माणका क्रममा कतिपय अवस्थामा भारतबाट विशेषज्ञ झिकाएर उच्चस्तरीय प्रविधिमा टावर निर्माण गरिएको निर्माण कम्पनी ओम साइराम कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक इञ्जिनियर विजय साहले बताए । भ्यूटावर निर्माणमा एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ रुपैयाँ लाग्ने सुरुको सम्झौता भए पनि पछि नौ प्रतिशत लगानी बढेर कुल लागत भ्याटबाहेक एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ रुपैयाँ रहेको र सम्पूर्ण लागत नेपाल सरकारले व्यहोरेको बताइएको छ ।

दमक बजारबाट झण्डै तीन किलोमिटर पश्चिम–उत्तरमा निर्माण गरिएको भ्यूटावर राष्ट्रिय गौरवको आयोजनाको रूपमा हेरिएको छ भने लगानीको दृष्टिकोणले नेपालको दोस्रो ठूलो टावर हो ।

भ्यूटावरको नेस्ट, पिकासो र नेपाल आर्किटेक्चर कम्पनीले नक्साङ्कन गरेको थियो । भ्यूटावरको भवन निर्माणसँगै परिसरको टिकट काउन्टर, कोसेली घर, चिल्ड्रेन पार्क, सार्वजनिक शौचालय र खुला ठाउँ थिएटरको निर्माण सम्पन्न भइसकेको छ । टावरको हरेक तला चार मिटर उचाइको रहेको छ । भवनका सबै तलामा पिउने पानी पु¥याउने प्रशोधन प्लान्ट जडान गरिएको छ भने शौचालयमा प्रयोग भइसकेको पानीलाई प्रशोधन गरेर बगैँचामा प्रयोग गर्न सकिने बताइन्छ ।

विस्तृत परियोजना प्रस्ताव (डिपीआर) अनुसार निर्माणाधीन भ्यूटावरको भूईंतलामा ४० वटा चारचक्के र दुई सयवटा दुईचक्के सवारीसाधन अट्ने क्षमताको पार्किङस्थल रहेको छ । चारवटा तलामा व्यापारिक प्रयोजनका पसलहरू, पाँचौँ तलामा सेमिनार हल, छैटौँदेखि नवौँ तलासम्म बैङ्क, वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, दशौँदेखि चौधौैँ तलासम्म कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, पन्ध्रौँ र सोह्रौँ तलामा रेष्टुरेन्ट र लज रहने तथा सत्रौँ अनि अठारौँ तलामा दृश्यावलोकन उपकरणसहितको कक्ष रहने बताइएको छ ।