हालै भएको एक सर्वेक्षणले नेपालमा मदिरा सेवन दर अधिक मात्रामा वृद्धि भएको देखाएको छ । यो तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा तुरून्तै मदिरा नियन्त्रण गरिनु अत्यावश्यक देखिन्छ । ९ वर्षको अवधिमा मदिरा सेवन गर्ने दर पुरूषमा ५० प्रतिशतले र महिलामा ५४ दशमलव ९ प्रतिशतले बढेको तथ्याङ्कले देशका नीति निर्मातालाई झस्काउनु पर्ने हो । स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा सन् १९९० र २०१६ को बीचमा मदिराका कारण हुने मृत्यु ३ सय ७५ प्रतिशतले बढेको छ । यो तथ्याङ्कले नेपालमा मदिराका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दो देखाउँछ । त्यति मात्र होइन, समाजलाई विरुप बनाउन मदिराको ठूलो भूमिका रहेको प्रष्ट हुन्छ । मदिरालाई पूर्ण रुपमा नियन्त्रण गर्न नसक्ने हो भने समाजको अवस्था झनै नाजुक बन्ने निश्चित छ ।

समाजमा मदिराका कारण घरबार बिग्रिएका, झै–झगडा हुने गरेका र ज्यान गुमाएका घटना यत्रतत्र देखिन्छन् । यस्ता समस्या दैनिक बढिरहेका छन् । मदिराको लत लागेकाहरुलाई सुधार गृहहरुले पनि नियन्त्रण गर्न सकेका छैनन् । भित्रभित्रै मदिराले समाजलाई खाइरहे पनि सरकारले यसलाई ठूलो समस्या मानेको देखिँदैन । सरकारले अब पनि मदिरा नियन्त्रण गर्ने काम अघि नबढाए समाज तहस–नहस हुन समय लाग्दैन । भारतको विहारमा सरकारले नै कडाइका साथ मदिरा नियन्त्रण गरिरहेको छ । नेपालमा पनि कतिपय स्थानीय तहले मदिराको नियमनमा कडाइ गरेका समाचार बेलाबखत सार्वजनिक भइरहेका छन् । हुन त सरकारले मदिरा नियन्त्रणका लागि केही कानून नबनाएको होइन तर, त्यसको प्रभावकारिता न्यून छ भन्ने कुरा सर्वेक्षणको तथ्याङ्कले प्रष्ट पारेको छ । सार्वजनिक तथ्याङ्कले १५ देखि ६९ वर्ष उमेर समूहका मानिसमध्ये दैनिक ११.७ प्रतिशतले मदिरा सेवन गर्ने गरेको उल्लेख गरेको छ । ८ जनामध्ये १ जनाले दैनिक मदिरा सेवन गर्ने गरेको र ६.८ प्रतिशत जनसङ्ख्याले अत्यधिक मदिरा सेवन गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । यसबाट १० लाख वयस्कले अत्यधिक मात्रामा मदिराको सेवन गर्ने गरेको प्रष्ट हुन्छ ।

अत्यधिक मदिरा सेवनका कारण विभिन्न रोग र चोटपटक लाग्ने गरेको विभिन्न अध्ययनले देखाइसकेका छन् । मदिरा सेवनका कारण २ सयभन्दा बढी रोग लाग्ने खतरा हुन्छ। विश्वमा मदिराको अत्यधिक सेवनले हरेक वर्ष ३० लाख मानिसहरुको मृत्यु हुने गर्दछ । जसले सबै प्रकारका मृत्युको ५.३% प्रतिनिधित्व गर्छ । नेपालमा हुने सबै प्रकारका मृत्युहरुमध्ये ३.०४ प्रतिशत मृत्यु मदिराजन्य पदार्थका कारण हुने गरेको छ । यो तथ्याङ्कले मदिरालाई नेपालमा निम्त्याइरहेको भयावह अवस्थाको चित्रण गरेको छ । सरकारले घरेलु मदिरा नियन्त्रण तथा नष्ट गर्ने गरेको छ तर, विदेशी मदिरालाई लाइसेन्स दिएर बिक्री वितरण गर्न अनुमति दिएको छ । स्वदेशी मदिरालाई प्रतिबन्ध लगाएर विदेशी मदिरा खुला गरिँदा एकातिर राज्यको पैसा बाहिरिइरहेको छ भने अर्कातिर नागरिकको स्वास्थ्यमा असर परिरहेको छ । यस्तो कुरालाई मनन् गरेर राज्यका तीनै तहका सरकारले मदिरा नियन्त्रण र नियमन गर्न ढिला गर्नु हुँदैन ।