इटहरी । घटना नं. १ः २०७५ कात्तिक १९ मा इटहरीको पूर्व लाइनस्थित एक व्यापारिक कम्प्लेक्समा भीषण आगलागी हुँदा ३ करोड बढीको क्षति हुन पुग्यो । कम्प्लेक्सभित्र रहेका कपडा गोदाम, होलसेल पसललगायत एक दर्जन बढी पसलहरू जलेर नष्ट भए । दीपावलीको बेला विद्युत् सर्ट भएर आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति भएको थियो । धरान, इटहरी, इनरुवा र सुन्दरहरैँचा नगरपालिकासमेतको गरी ५ वटा बारुणयन्त्र भेला भए पनि समयमै आगो नियन्त्रणमा लिन सकिएन । कारण थियो, सवारी छिर्ने गल्लीहरूमा अनधिकृत सामग्रीहरू राखिनु । सामान राखिनाले भित्री बाटो साँघुरो भएपछि बारुणयन्त्र छिर्न पाएन, फलस्वरूप त्यत्रो नोक्सानी व्यहोर्नुपरेको थियो ।

घटना नं. २ः २०७६ मङ्सिर २२ गते इटहरीको पश्चिम लाइनस्थित बिगवार होटल एण्ड रेष्टुरेन्टमा आगलागी भयो । विद्युत् सर्ट भएर आगलागी हुँदा होटलमा करिब ७० लाख बराबरको क्षति हुन पुग्यो । ३ वटा बारुणयन्त्र भेला भए पनि समयमै आगो नियन्त्रणमा लिन नसक्दा सो क्षति व्यहोर्नुपरेको थियो । भित्री गल्लीमा अवैध सामग्री राखिनु, अनावश्यक होडिर्ङ बोर्डहरू राखिनुले त्यहाँ पनि बारुणयन्त्र छिर्न पाएन र आगो नियन्त्रण गर्न साढे ४ घण्टा लाग्यो ।

घटना नं. ३ः २०७७ चैत अन्तिम साता इटहरीको मुख्य चौकमै आगलागी भयो । सामसङको आधिकारिक डिलरमा आगलागी हुँदा ३० लाख बढीको नोक्सानी हुन पुग्यो । ३ वटा बारुणयन्त्र भेला भए तर छिर्ने बाटो नपाएपछि त्यहाँ पनि आगो समयमै नियन्त्रण हुन सकेन । मुख्य चौकमै लागेको आगो नियन्त्रण गर्ने क्रममा राजमार्ग केही घण्टा अवरुद्ध हुन पुगेको थियो ।

भित्री मार्गमा बारुणयन्त्र छिर्न नपाएपछि ठूलो क्षति भएको प्रारम्भिक अनुसन्धानपछि इटहरी उपमहानगरका तत्कालीन नगरप्रमुख द्वारिकलाल चौधरीले अनावश्यक होर्डिङ बोर्ङ, निर्माण सामग्री हटाउन लगाएका थिए । २०७९ को स्थानीय निर्वाचनपछि विजयी भएर पुगेका जनप्रतिनिधिले गत २०८० भदौ १३ गते राजमार्ग क्लियरिङ भन्दै मुख्यचौकको तीन सय मिटर आसपास पार्किङ निषेध घोषणा गरेपछि इटहरीमा पार्किङ समस्या चुलिन पुग्यो । यही पार्किङ समस्या देखाउँदै इटहरीका व्यवसायीहरूले भएका भित्री गल्लीहरूलाई पार्किङ स्थलको रूपमा प्रयोग गर्न थालेका छन् ।

अहिलेका जनप्रतिनिधिले चासो नराख्दा इटहरीका अधिकांश भित्री बाटोहरू व्यापारीले आफ्नो नियन्त्रणमा लिएका छन् । इटहरीमा पार्किङ समस्या देखाउँदै व्यवसायीहरूले भित्री गल्लीलाई नै पार्किङ स्थल बनाएका हुन् । यसरी जथाभावी सवारी पार्किङ गरिँदा पुनः आगलागी तथा कुनै प्रकोप भए ठूलो मानवीयसहित आर्थिक र भौतिक क्षति हुने स्थानीयको भनाइ छ । कोरोनापछि सहरको व्यापार–व्यवसाय चौपट भइरहेको बेला स्थानीय सरकारले पार्किङ निषेधको अभियान ल्याएर व्यवसायीलाई नै थप मर्कामा पार्ने काम गरेको कुनाल स्टोरका सञ्चालक बलराम भण्डारी बताउँछन् ।

अहिले इटहरीमा पार्किङ अभावकै कारण भित्री गल्लीहरू सबै व्यवसायी तथा सर्वसाधारणले प्रयोगमा ल्याएपछि पैदलयात्रीहरू समेत मर्कामा पर्दै आएका छन् । उर्लाबारीबाट मामाघर आएकी अनिता कार्की इटहरी पहिलेभन्दा धेरै खराब भएको बताउँछिन् । ‘मान्छे हिँड्ने ठाउँ छैन, हिँड्दा पनि कता ठोक्किने हो, डराएर हिँड्नुपर्ने भएछ’–उनले भनिन् । पार्किङ समस्या हल गरेर भएका गल्लीहरू खाली गराउनुपर्ने इटहरी नागरिक समाजका पूर्व अध्यक्ष राजु केसी बताउँछन् । ‘विगतमा जस्तै यहाँ आगलागी या कुनै विपद्को घटना भयो भने उद्धार कसरी गर्ने ? एम्बुलेन्सले छिर्ने ठाउँ पाउँदैन, बारुणयन्त्र छिर्न पाउँदैन । कम से कम भित्री बाटो त खुल्ला राखिनुपर्ने हो’–केसीले थपे ।

जनप्रतिनिधिले चाहे क्षणभरमै हुन्छ समाधान
उद्योग वाणिज्य सङ्घ इटहरीका पूर्व अध्यक्ष भीम पौडेलका अनुसार सहरमा भएका ठूला भवनहरुले पार्किङ बेसमेन्ट बनाएको बताएका छन् । स्थानीय सरकारले उनीहरुलाई अनुरोध गरेर पार्किङको लागि खुल्ला गरिदिन लगाए इटहरीको पार्किङ समस्या तत्कालै हल हुने उनले प्रतिक्रिया दिए ।

इटहरीको मुख्य चौकमा ७० भन्दा बढी भवनहरुले पार्किङ स्थल बनाएका छन् तर, आफ्नै लागि मात्र प्रयोग गरिरहेका कारण यो समस्या उत्पन्न भएको व्यवसायी पौडेल बताउँछन् । उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीको पनि भनाइ त्यस्तै रहेको छ । व्यवसायीहरुले पार्किङ अभाव झेल्दै आएको कारण व्यापार चौपट बनेको गुनासो बढ्दो छ । यो समस्या सामधानका लागि २ पटक प्रमुख हेमकर्ण पौडेलसँग आग्रह पनि गरिसकेको उनले बताए । ‘तर, समस्या समाधान कहिले हुने हो थाहा छैन’–उनले भने । इटहरीमा भएका पार्किङ बेसमेन्ट भवनहरुको खोजी गरी उनीहरुलाई छलफलमा बोलाएर पार्किङका लागि आग्रह गरे । सहरको पार्किङ समस्या हल हुनेमा इटहरीका अधिकांश व्यवसायीहरुको भनाइ छ ।

कहाँ कहाँ छ पार्किङ बेसमेन्ट ?
इटहरीको पूर्व लाइन चोकैमा राजेश श्रेष्ठले सञ्चालन गरेको सेन्ट्रल मलभित्र करिब २ सयवटा मोटरसाइकल एक दर्जन बढी साना कारहरु अट्ने बेसमेन्ट छ । तर, उनले त्यो आफ्नै प्रयोजनका लागि मात्र प्रयोग गर्दै आएका छन् । दैनिक ३० देखि ४० वटा मोटरसाइकल मात्र सो स्थलमा पार्किङ हुँदै आएका छन् । त्यस्तै इटहरीको पश्चिम लाइन श्री कम्प्लेक्सको पनि आफ्नै बेसमेन्ट छ । कम्तीमा सयवटा मोटरसाइकल अटाउन सक्ने बेसमेन्ट त्यतिकै खाली रहेको पाइएको छ । त्यस्तै पश्चिम लाइनकै सूर्य कम्प्लेक्सको पनि आफ्नै बेसमेन्ट छ तर प्रयोग नगर्दा त्यो पनि खाली रहेको छ । सो बेसमेन्टभित्र ७० वटा मोटरसाइकल पार्किङ गर्न मिल्छ । त्यस्तै इटहरीको पूर्व लाइनका अधिकांश ठूला भवनहरुले अनिवार्य बेसमेन्ट बनाएका छन् तर, सर्वसाधारणको लागि खुल्ला नगरिदिदा शहरमा पार्किङ समस्या झनै बढ्दै गएको देखिन्छ ।

वेसमेन्टको कानुन नबन्दा समस्या
यता वेसमेन्ट सम्बन्धी कानुन नबन्दा इटहरीमा पार्किङ समस्या चुलिएको प्रमुख हेमकर्ण पौडेल बताउँछन् । ‘जब राजमार्ग क्लियरिङको अभियान चलाइयो त्यो बेला नै पार्किङ वेसमेन्टको कुरा उठेको तर कानुन नहुँदा कार्यान्वयनमा झमेला देखिएको छ’ उनले भने । २०८० चैतमै घरधनीहरूलाई पार्किङ वेसमेन्ट प्रयोगमा ल्याउन भनी पत्राचार गर्ने तयारी भए पनि कानून अभावका कारण कार्यान्वयन हुन नसकेको उनले स्वीकारे । उनले यो दशंैअगावै इटहरीमा स्मार्ट पार्किङको अवधारणा ल्याइसक्ने पनि बताए । त्यतिन्जेलसम्म पार्किङ बेसमेन्ट भएका घरधनीहरुसँग बसेर छलफल गरी समस्या समाधान गर्ने प्रमुख पौडेलले बताए ।