सुनसरीको दक्षिणी क्षेत्रका पाँच स्थानीय तहमा केही दिनयता सुनसरी जिल्ला प्रशासनले कर्फ्यु जारी गरेको छ । एक युवामाथि कुटपिट भएको विषयलाई लिएर सामाजिक सद्भाव बिथोलिने गरी नाराबाजी र झडपसमेत भएपछि प्रशासनले कडाइ गरेको अवस्था छ । कुनै घटनालाई जब धार्मिक तथा साम्प्रदायिक रङ दिइन्छ, त्यसले समाजमा बिखण्डन ल्याउँछ । एकै स्थानमा मिलेर बसेका छिमेकीहरुबीच फाटो ल्याउँछ । त्यसैले यस्ता विषयमा सबै गम्भीर बन्नु जरूरी छ । प्रहरी प्रशासन र स्थानीय राजनीतिक दल तथा सामाजिक नेतृत्वहरुले सर्वपक्षीय छलफल गरेर समस्या समाधान गर्ने जुन प्रयास गरेका छन्, त्यो सकारात्मक छ । समाजमा आइपर्ने समस्यालाई यसरी नै सबै मिलेर समाधान गर्नु आवश्यक हुन्छ ।

भारतमा धार्मिक तथा साम्प्रदायिक विवाद, लडाइँ र झगडासमेत हुने गरेका छन् । त्यसको असर नेपालका दक्षिणीभेगमा पनि पर्ने गरेको छ । पछिल्लो समय नेपालमा पनि तराई, मधेस क्षेत्रमा बेला बेला यस्ता झडपहरु हुने गरेका छन् । यद्यपि नेपाली समाजका अगुवाहरु अहिलेसम्म सामाजिक सद्भाव बिथोलिनु हुन्न भन्नेमा दृढ देखिएका कारण पनि कहीँकतै यस्ता घटना भए पनि छोटो समयमै समाधान भएका उदाहरण छन् । नेपालजस्तो धार्मिक, सांस्कृतिक तथा जातीय विविधतायुक्त मुलुकमा सामाजिक सद्भाव बलियो हुन जरूरी छ । समाजमा एउटा व्यक्तिको मात्र अर्थ रहँदैन, सामूहिकताको भावना नै समाज हो । त्यसैले समाजको विकासका लागि सामाजिक भावना बलियो बनाउन सबैले लाग्नु आवश्यक छ । व्यक्ति व्यक्ति मिलेर समाज बन्ने हो । त्यसले समाजमा फरक चिन्तन, फरक स्वभाव र फरक भावना भएका व्यक्तिहरु रहनु स्वभाविक हो । समाजमा बस्ने हरेक व्यक्तिका फरक विशेषता हुने भएकाले एकले अर्काको विचार र स्वभावलाई स्वीकार गर्न सक्नु पर्छ । जब समाजमा आफू विशिष्ट र अरु केही होइनन् भन्ने भावनाको विकास हुन्छ, तब समस्या आउने निश्चित छ ।

समाजमा बस्ने हरेक व्यक्ति फरक भएजस्तै उसको धर्म, संस्कार, परम्परा फरक पनि हुन्छ । एकले अर्काको धर्म, परम्परालाई स्वीकार गर्न नसक्दा विवाद हुने, लडाइँ र झगडा हुने प्रचलन बढ्दो छ । अझ पछिल्लो समय अन्य विषयमा भएका विवाद, झै–झगडालाई पनि धार्मिक रुप दिने प्रचलन बढिरहेको छ, जुन जतिसुकै बेला घातक बन्न सक्छ । त्यस्तो अवस्था आउन नदिन समाजका अगुवाहरु सचेत हुन जरूरी छ । राजनीतिक दलका नेताहरु हुन् या धार्मिक तथा सामाजिक नेतृत्वकर्ताहरु हुन्, सबैले आफ्नो समुदायलाई सामाजिक सद्भावबारे बुझाउनु जरूरी छ । समाजमा संवेदनशील अवस्थामा रहेका बेला मौकाको फाइदा उठाउने तत्वहरु पनि उत्तिकै सक्रिय हुन्छन् । यस्तो विषयमा पनि चनाखो हुँदै सामाजिक सद्भाव खल्बलिनबाट बचाउन नेतृत्वकर्ताहरुले सक्रियता देखाउनु पर्छ ।