वनस्पतिको भण्डार मानिएको झापाको थलथल जङ्गलमा रहेका रूखबिरूवा जोगाउन चुनौती थपिएको छ । जैविक तथा भौगोलिक विविधताका हिसाबले अन्त्यन्तै महत्त्वपूर्ण मानिन्छ । यहाँ एक सय ५० भन्दा बढी प्रजातिका वनस्पतिजन्य रूखहरु पाइन्छन् । नेपालमा सूचीकृत भएका पाँच सय ९८ प्रजातिमध्ये जलथलमा मात्रै एक सय ५० भन्दा बढी प्रजातिका रूखहरु पाइन्छन् ।

यहाँ कतिपय लोपोन्मुख रहेका वनस्पति रहेका छन् । जुन लोप हुने अवस्थामा पुगेका छन् । संरक्षणको अभावमा ती रूखहरु चाँडै नै लोप हुन सक्ने यसअघि नै वनस्पतिविज्ञहरुले बताइसकेका छन् । यसका लागि राज्य पनि र राज्य संयन्त्र चनाखो हुन जरूरी छ । विशेषगरी वन मन्त्रालय र मातहतका कार्यालयहरु बढी चनाखो हुन आवश्यक छ ।

यस्तै जलथल वन क्षेत्रलाई नेतृत्व गर्दै आएका २२ वटा सामुदायिक वनहरुले पनि यसलाई संरक्षण गरी पर्यापर्यटनलाई प्रवद्र्धन गर्न सक्ने आधारहरु छन् । फरक विशेषता रहेको यस चारकोसे वन क्षेत्रलाई चाँडै नै संरक्षण गर्नेतर्फ पहल गर्न जरूरी छ । यसका लागि धेरै ढिला भइसकेको छ । 

वन वातावरणको लागि पनि महत्त्वपूर्ण कडी हो । वन जोगाउनु सबैको दायित्व हो । अझ यसमा सबैभन्दा बढी भूमिका स्थानीयवासी र स्थानीय तहहरुले भूमिका खेल्न सक्नुपर्छ । वनले जीविकोपार्जनमा त भूमिका खेल्छ नै त्योसँगै जीवनदान पनि दिन भूमिका खेल्छ ।

अहिले बढ्दै गइरहेको पृथ्वीको तापमानलाई रोक्न पनि यसले भूमिका खेल्छ । वनका अनेकन फाइदाहरु छन् । त्यसका लागि पनि वनको संरक्षण गर्नका लागि सबैले पहलकदमी गर्न आवश्यक छ । अझ वनस्पतिको भण्डार मानिएको जलथललाई संरक्षण गर्ने दायित्व सबैले लिन जरूरी छ । यो वन वनस्पतिका हिसाबले मात्रै नभई धार्मिक हिसाबमा पनि उत्तिकै महत्त्वपूर्ण मानिएको छ । वनको संरक्षण गर्ने दायित्व एउटा निश्चित संयन्त्रले लिएर मात्रै हुँदैन । सबैभन्दा बढी भूमिका नागरिक तहबाटै हुन जरूरी छ ।

करिब ६ हजार हेक्टरमा फैलिएको यो क्षेत्र समुन्द्र सतहदेखि ७०–११० मिटरको उचाइमा फैलिएको छ । उष्ण भूभागमा पर्ने यो क्षेत्रमा रहेका कतिपय वनस्पतिहरु थुप्रै देशहरुमा समेत पाइँदैन । यसलाई वनस्पतिको भण्डारको रुपमा विकास गरेर सोहीअनुसार पर्यटन प्रवर्धन गर्न सकिन्छ । 

उहिले ‘हरियो वन, नेपालको धन’ भन्ने चलन थियो । तर, त्यसलाई सरकारमा भएका ठालुहरुले नै दोहन गरे । फलतः हाम्रो वन मासिँदै गयो । आजको अवस्थामा आइपुग्नमा सरकारका उच्चपदस्थ नेता, मन्त्री, कर्मचारीहरुकै हात रहेको थियो । तर, जब समुदायले वनलाई जिम्मा लिए, अहिले वनको क्षेत्र केही बढेको अवस्था छ तर जैविक विविधताका दृष्टिले भने क्षति पुगेको अवस्था छ । समुदायमा रुखबारेको ज्ञान नहुँदा वन क्षेत्रमा जस्तो पायो उस्तो बिरूवाहरु रोपण गरिदिँदा त्यसले रैथाने बोटबिरूवालाई असर पुर्‍याएकोअवस्था छ ।

यसले गर्दा वनको संरक्षण गर्नु भनेको बिरूवा रोप्नु मात्रै हैन, त्यहाँको रैथाने बिरूवाको प्रकृति बुझेर काम गर्नु पनि हो । यसका लागि सबै समुदाय सचेत हुन आवश्यक देखिन्छ । त्यति मात्रै हैन, वन मन्त्रालय तथा त्यस मातहतका निकायहरुले पनि सोहीअनुसार वनको संरक्षणमा ध्यान दिनुपर्छ ।

यसो गर्न सकेमा मात्रै वनको संरक्षण हुन पुग्छ । त्यसले कालान्तरमा अनेकन फाइदाहरु पु¥याउँछ । जलथलको वनस्पति जोगाउने दायित्व त्यहाँका नागरिकको मात्रै हैन, राज्यको पनि हो । राज्य नै यस विषयमा गम्भीर हुन आवश्यक छ ।