विजयपुर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार भौतिक विकासबाट परिवर्तन भई मानवीय विकासमा लागेको बताएका छन् ।

बिहीबार शिक्षा सदन मा.वि. धरानको ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उनले भने, ‘भौतिक विकाससँगै मानवीय विकास भए मात्रै दिगो र गतिशील विकास हुनसक्छ भन्ने कुरालाई सरकारले ख्याल गरेको छ ।’ उनले मानवीय विकासका कारणले नै भवन, ल्याव, डाक्टर, इन्जिनियर बनेको बताए । मानवीय विकासले नै आफन्तको नाममा अक्षयकोेष स्थापना गर्न थालेको उनले बताए ।

एउटै छानामा दुई स्कुल
मुख्यमन्त्री कार्कीले विद्यालय अनुगमनको क्रममा सामुदायिक विद्यालयको एउटै छानामा दुई स्कुल चल्ने गरेको बताए । उनले भने, ‘धेरै वटा विद्यालयमा जाँदा एउटै छानामुनि दुइटा स्कुल चल्छ ।’ उनले धनी र गरिबले पढ्ने शिक्षा फरक रहेको बताए । जुत्ता, टाइ र बस चढ्न सक्नेले अङ्ग्रेजी पढ्ने तर, बिहान के खाऔँ ? बेलुका के खाऔँ ? भन्नेका छोराछोरी ट्यालेन्ट भए पनि नेपाली माध्यम पढ्न बाध्य भएको उनले बताए । उनले भने, ‘त्यहाँ ज्ञान होइन, विद्रोह बढाइरहेको छ । शिक्षा होइन, अशिक्षा पढाइराखिएको छ । म त्यसको विरोधी हुँ ।  म त्यस्तो शिक्षालाई शिक्षा भन्दिनँ ।  त्यो त विभेद हो ।’ उनले फस्ट बेन्चर र लास्ट बेन्चरका विषयमा आफू भाइरल भएको बताउँदै भने, ‘म आफै भाइरल भएको छु । म एउटा शिक्षकलाई सोध्न चाहन्छु ? तपाईंको कक्षाको अगाडि बेन्च र पछाडि बेन्चको विद्यार्थीमा के फरक छ ?’ उनले लास्ट बेन्च र फस्ट बेन्चमा फरक छुट्याएमा शिक्षक बन्न नसक्ने बताए ।

‘१० वर्षमुनिका बालबालिकाको उपचार निःशुल्क’
मुख्यमन्त्री कार्कीले प्रदेशभरका १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको बताए । उनले विराटनगरका अस्पतालहरूमा जाँदा बच्चाहरूको उपचारमा लाखौँ लाख रुपैयाँ खर्च भएर बच्चालाई उपचारबापतको खर्च दिन नसकेर डिस्चार्ज गर्न नसकेको घटना देखेकाले नै निःशुल्क गरिएको बताए । उनले भने, ‘कतिपय नेताकहाँ आएर बच्चा निकाल्दिनु प¥यो भनेर भन्छन्, । किन निकाल्नु पर्यो ? निको भयो ? भनेर सोध्दा निको होइन हजुर ! अब त बच्चालाई ल्याउन नसक्ने भएँ । पैसाले धान्न नसक्ने भयौ । मलाई कात्रोका लागि ऋण दिनु । घाट लान्छु भन्छ ।’ त्यही अवस्था बुझेर प्रदेशभरिका १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको बताए ।

‘आर्थिक विपन्नलाई छात्रवृत्ति’
मुख्यमन्त्री कार्कीले डाक्टर, इन्जिनियर वकिलजस्ता प्राविधिक धार अध्ययन गर्नका लागि छात्रवृत्ति प्रदान गर्ने बताए । उनले भने, ‘४० लाख छैन, डाक्टर पढ्न पाउँदैन । २५ लाख छैन, इन्जिनियर बन्न पाउँदैन । १५ लाख छैन, वकिल बढ्न पाउँदैन ।’ उनले एक पालिका एक बालिविज्ञान र एक पशुविज्ञान पढाउने बताए ।

‘तमोरबाट पानी ल्याउन अध्ययन हुँदैछ’
धरानमा तमोर नदीबाट पानी ल्याउन अध्ययन हुने मुख्यमन्त्री कार्कीले बताए । ‘कोशी पनि हेरिएको छ । कोशी अलि तल पर्छ कि भन्ने  छ । कोकाहाको पानीले सबैलाई पुग्दैन कि भन्ने छ’ मुख्यमन्त्री कार्कीले भने, ‘त्यसकारण अबको योजना तमोरको पानी ल्याउने अभियानका लागेका छौँ । अध्ययन गर्दैछौँ ।’

पूर्व प्रअ अभिनन्दित
वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा पूर्व प्रधानाध्यापक श्यामबहादुर कटवाललाई अभिनन्दन गरेको छ । कटवाल सो विद्यालयमा ३१ वर्ष प्रधानाध्यापक र करिब २ दशक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेर सेवा गरेका थिए । उनलाई विद्यालयमा अतुलनीय योगदान पुर्याएको भन्दै अभिनन्दन गरेको प्रधानाध्यापक अम्बरबहादुर बस्नेतले बताए । अभिनन्दनपश्चात् बोल्दै पूर्व वि.व्य.स. अध्यक्ष कटवालले आफूलाई समाजले नियुक्त गरेको बताए । उनले भने, ‘२०२५ सालेदेखि हेडमास्टर भएँ । सरकारले नियुक्त गर्ने चलन थिएन । समाजले नियुक्त गरेको हो ।’

उनले अन्य पेसा नपाएसम्म काम गरौँ भनेर विद्यालयमा प्रवेश गरेको बताउँदै भने, ‘एउटा बस्ने बेन्च थिएन । अभावै अभाव थियो । एउटा आवश्यकता पूरा गर्यो । अर्को सुरु हुने, कहिले सकिएन । त्यसैले अन्य क्षेत्रमा गइएन ।’ वार्षिकोत्सवमा विद्यालयका पूर्व शिक्षक प्रदीपकुमार भण्डारी सम्मानित भएका छन् । उनीहरूलाई मुख्यमन्त्री केदार कार्कीले सम्मान–पत्रसहितले सम्मानित गरेका थिए । वार्षिकोत्सवमा विद्यार्थीहरूलाई छात्रवृत्ति पनि वितरण गरिएको थियो ।