विराटनगर । विराटनगर–४ नोबेल हस्पिटलअगाडि रहेका फार्मेसीहरूमा एक समूहले हप्ता असुल्ने धन्दा सञ्चालन गरेको पाइएको छ ।
विराटनगर–७ का ‘काले’ भनिने विश्वास मण्डल नेतृत्वको समूहले फार्मेसीमा हप्ता असुल्नेदेखि लिएर पैसा नदिए मध्यरातमा व्यवसायीमाथि साङ्घातिक आक्रमण गर्नेसम्मका घटना हुने गरेको पीडितहरूले बताएका छन् ।
आइतबार मध्यरातमा मायालु फार्मेसीका सञ्चालक २५ वर्षीय सुभाषप्रसाद सिंह गनगाईंमाथि मण्डलको समूहले चक्कु प्रहार ग¥यो । आइतबार राति करिब ११ बजे खाना खाएर फर्किंदै गरेका सुभाषमाथि मण्डलले चक्कु प्रहार गरेर घाइते बनाएका हुन् । मण्डलले फार्मेसीअगाडि एकाएक ढुङ्गा हान्न थाले । आफ्नो पसलमा ढुङ्गा हानेको देखेपछि सञ्चालक सुभाषले प्रतिवाद गर्दै सोधे, “किन ढुङ्गा हानेको ?”
सुभाषका दाजु शिवमकुमार गनगाईंका अनुसार सामान्य प्रश्न सोध्दा नै मण्डल र उनको समूह फार्मेसीभित्र पसेर चक्कु प्रहार गरेका थिए । शिवमले भने, “भाइले केही भनेको पनि थिएन, केवल किन ढुङ्गा हानेको भनेर सोधेको थियो । त्यति सोध्दा पनि यस्तो हमला भयो । अहिले भाइ घाइते भएर नोबेल अस्पतालमा उपचार गराइरहेको छ ।”
मण्डल समूहको आतङ्क सुभाषमाथिको आक्रमणमा मात्र सीमित रहेन । उनीहरूले घटनाको प्रतिकार गर्न खोज्ने अन्य व्यक्तिहरूलाई पनि निशाना बनाएका थिए । सुभाषलाई आक्रमण भइरहेको देखेपछि छुट्याउन गएका जस्मिन फार्मेसीमा काम गर्ने दयानन्द मण्डललाई पनि उक्त समूहले कुटपिट गरेको थियो ।
त्यसलगत्तै युमा मेडिकोमा काम गर्ने २७ वर्षीय चन्दनकुमार साहलाई पनि उनीहरूले धम्क्याउँदै आक्रमण गरेको बताइएको छ । चन्दनका अनुसार, श्याम चन्द्रवंशी, नितेश रोय र विश्वास मण्डलसहितको समूहले व्यवसायीलाई पसलबाट बाहिर निकालेको थियो । उनले भने, “मलाई बाहिर ल्याएर नोबेल अस्पतालअगाडि नहरको पुलमा लगी दुई झापड हाने । त्यसपछि ‘पुलिसलाई भनिस् भने राम्रो हुँदैन’ भन्दै धम्की दिएर गए ।”
प्रहरीको शरणमा व्यवसायी
नोबेल अस्पतालअगाडि करिब तीन दर्जन फार्मेसी सञ्चालनमा छन् । यीमध्ये अधिकांश बाहिरी जिल्लाबाट आएर व्यवसाय गरिरहेका छन् । यही मौकाको फाइदा उठाउँदै विश्वास मण्डल नेतृत्वको समूहले एक दर्जनभन्दा बढी फार्मेसीलाई निशाना बनाएर साप्ताहिक रूपमा रकम असुल्ने गरेको पीडितहरू बताउँछन् ।
युमा मेडिकोका सञ्चालक चन्दनकुमार साहका अनुसार, मण्डलसहित ८–१० जनाको समूह हरेक हप्ता पैसा माग्न आउँथ्यो । उनीहरू प्रायः नशालु पदार्थ सेवन गरेर घरेलु हतियारसहित आउने र आतङ्कित पार्ने गर्थे । “राति भएपछि नशा खाएर आउँछन् र दुःख दिन्छन् । हामीले भनेजति पैसा दिनुपर्छ, नभए ठीक हुँदैन भनेर धम्क्याउँछन्’ चन्दनले भने, “हप्ता पुगेपछि १ हजार रुपैयाँभन्दा बढी माग्छन् । नदिए ज्यान मार्नेसम्मको धम्की दिन्छन् ।”
उनीहरूले विशेषगरी स्थानीय बासिन्दाबाहेक बाहिरबाट आएर व्यवसाय गर्नेहरूलाई बढी दुःख दिने गरेको अर्का फार्मेसी सञ्चालक शिवमकुमार गनगाईंले बताए । उनका अनुसार, यो समूहले लामो समयदेखि व्यवसायीलाई त्रसित बनाएर आफ्नो अवैध धन्दा चलाइरहेको थियो ।
चक्कु प्रहारको घटनापछि व्यवसायीहरू प्रहरीको शरणमा पुगेका छन् । सोमबार ८ जना फार्मेसी सञ्चालकले मोरङ प्रहरीमा मण्डल समूहविरुद्ध सामूहिक जाहेरी दिएका छन् ।
जाहेरी दिनेहरूमा युमा मेडिकोका चन्दनकुमार साह, शिवाय फार्मेसीका पङ्कज साह, नमस्कार फार्मेसीका पिन्टु यादव, मायालु फार्मेसीका सुभाषप्रसाद सिंह, जानकी फार्मेसीका नित्यराज सहनी, जस्मिन फार्मेसीका सञ्जयकुमार यादव, ओम शान्ति फार्मेसीका दीपक साह र राजुकृष्ण फार्मेसीका कृष्ण साह रहेका छन् । उनीहरूले विश्वास मण्डल, श्याम चन्द्रवंशी (केसी), सुरज पासवान, अरुण यादव र सायद अन्सारीविरुद्ध किटानी जाहेरी दिएका हुन् ।
मण्डल विरुद्ध घाइतेका दाजु शिवमकुमार गनगाईंले ज्यान मार्ने उद्योगमा छुट्टै जोहरी दिएका छन् । व्यवसायीको उजुरीपछि मोरङ प्रहरीले तत्कालै एक्सन लिएको छ । आक्रमणका मुख्य अभियुक्त विश्वास मण्डललाई चक्कुसहित पक्राउ गरिएको मोरङ प्रहरीकी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् ।
उनका अनुसार, घटनाबारे गम्भीररूपमा अनुसन्धान अघि बढाइएको छ । “सोमबार सार्वजनिक बिदा परेकाले अदालत बन्द रह्यो” डिएसपी चुडालले भनिन्, “अदालत खुलेपछि पक्राउ परेका अभियुक्तको म्याद थप गरी अनुसन्धानलाई थप अगाडि बढाइनेछ । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको छ ।”