मोरङको बेतना सिमसार क्षेत्रबाट सिकारीले ठूलो चित्तल मारेर लगेपछि वन्यजन्तुको सुरक्षामा गम्भीर लापरबाही भएको पाइएपछि दुईजना सुरक्षा कर्मचारीलाई निलम्बन गरिएको छ । यसबाट वन्यजन्तुको संरक्षणका नाममा जसरी विभिन्न स्थानमा पालन गरिएको छ, ती सुरक्षित छैनन् भन्ने बुझ्न कठिन छैन । वनमा स्वतन्त्र रूपमा हिँडडुल गर्ने वन्यजन्तुहरूलाई समातेर सानो कोठामा थुन्ने र घुम्न आउनेहरूले टिकट काटेर हेर्न मिल्ने व्यवस्था बेतनालगायत धेरै स्थानमा गरिएका छन् । झापा, मोरङ र सुनसरीका विभिन्न सामुदायिक वनहरूले वन्यजन्तु समाएर संरक्षणका नाममा यातना दिएर खोरभित्र थुनेका छन् । खोरबाहिर राखे पनि तारबारले छेकेर स्वतन्त्र रूपमा हिँड्न डुल्नबाट बञ्चित गराइएको छ । आम्दानीका लागि वन्यजन्तुलाई यसरी यातना दिनु गलत हो ।

सामुदायिक वनहरूले सञ्चालन गरेका अधिकांश पार्क, चिडियाखानाहरू अव्यवस्थित छन् । धेरैजसोले त वन्यजन्तुलाई पार्कमा राख्नका लागि अनुमतिसमेत लिएका छैनन् । पाल्ने तरिका पनि सही छैन । धेरैले यातना दिएर पालेका छन् । यसरी पाल्ने क्रममै कति वन्यजन्तु मरेका छन् । त्यसको खोजबिन कतैबाट भएको पाइँदैन । सामुदायिक वनहरूले सञ्चालन गरेका अधिकांश पार्कहरू पिकनिक स्पटका रूपमा पनि विकास गरिएका छन् । पिकनिकका नाममा वन क्षेत्रमा हुने हल्ला-खल्ला र विभिन्न बत्तीहरूको झिलिमिलीका कारण वन क्षेत्रका चराचुरुङ्‌गी र वन्यजन्तु हराउन थालेका छन् । यस्तो विषयमा खोजी गर्ने फुर्सद न वन कार्यालयलाई छ, न त सामुदायिक वन स्वयम्लाई । सामुदायिक वन उपभोक्ता समूहहरू कसरी वन्यजन्तुलाई समातेर आम्दानी बढाउने भन्ने चिन्तामा छन् । उनीहरूलाई वन्यजन्तु हराएकोमा खासै चिन्ता देखिँदैन । स्थानीय सरकारहरूलाई पनि यो विषयमा चासो छैनजस्तो लाग्छ ।

बेतनामा सुरक्षा कर्मचारीको रेखदेखमै रहेको चित्तल मारिएपछि यस्ता पार्कहरू वन्यजन्तुका लागि सुरक्षित छैनन् भन्ने प्रष्ट भइसकेको छ । त्यसैले यस्ता पार्क र पिकनिक स्पट र विभिन्न नाममा वन्यजन्तुलाई थुनेर राखिएका ठाउँहरूको निगरानी गरिनु जरुरी छ । यो धर्ती मान्छेको लागि मात्र होइन, यहाँ विभिन्न जीव जनावरदेखि कीटपतङ्गहरूको पनि अस्तित्व आवश्यक छ । पर्यावरणीय चक्र पूरा हुन सबैकुरा हुनु आवश्यक छ । त्यसैले वन्यजन्तुलाई पनि संरक्षण गरिनु पर्छ । पछिल्लो समय सामुदायिक वनहरूले संरक्षणका नाममा थुनेर राख्ने प्रवृत्तिले उल्टो विनाश निम्त्याइरहेको छ । त्यसैले यस विषयमा गम्भीर बनेर सरोकारवाला निकायले छानबिन गर्नु जरुरी छ । दोषीलाई कडा कारबाही नभएसम्म वन्यजन्तु संरक्षण हुन सक्दैन ।