पछिल्लो समय सुनसरी, मोरङ, धनकुटालगायतका जिल्लामा ठूलो मात्रामा गाँजा बरामद भइरहेको छ । कहिले सप्तकोशी नदीबाट विभिन्न माध्यमबाट ल्याउँदै गरेको गाँजा पक्राउ पर्छ त, कहिले तरकारी बोक्ने गाडीमा पनि गाँजा भेटिन्छ । पछिल्लो समय तेल बोक्ने ट्याङ्करमा समेत गाँजा फेला परेको छ । यसबाट कोशी प्रदेशका विभिन्न क्षेत्रबाट ठूलो मात्रामा गाँजाको तस्करी भइरहेको बुझ्न सकिन्छ । प्रहरीको तथ्याङ्कअनुसार गत असोजयता धनकुटाबाट मात्रै ६ सय ५१ केजी गाँजा बरामद भएको छ । त्यसअगाडि पनि विभिन्न स्थानबाट गाँजा बरामद भइरहेको छ । धनकुटा, उदयपुर र भोजपुरका विभिन्न स्थानमा उत्पादन हुने गाँजा विभिन्न माध्यमबाट भारततर्फ तस्करी हुने गरेको छ । गाँजा नियन्त्रणका लागि प्रहरीले विभिन्न अभियान सञ्चालन गरे पनि त्यो प्रभावकारी बन्न सकेको छैन । गाँजा तस्करी किन फस्टाइरहेको छ त ? यसबारे बुझ्न आवश्यक छ ।

अन्न नफल्ने पहाडी क्षेत्रमा समेत गाँजा राम्ररी फस्टाउने हुँदा धनकुटा, भोजपुर, उदयपुरलगायत जिल्लामा ठूलो मात्रामा गाँजा उत्पादन हुने गरेको छ । अन्य खेतीबाट फाइदा लिन नसकेका किसानहरुका लागि गाँजाले राम्रै आम्दानी दिने गरेकाले उनीहरु खतरा मोलेर भए पनि यसको खेती गरिरहेका छन् । यसरी खेती गर्न प्रहरी प्रशासनको समेत मिलेमतो हुने गरेको खेती गर्नेहरुले नै बताउने गरेका छन् । प्रहरी प्रशासनको मिलेमतो विना ठूलो मात्रामा खेती गर्न र बाहिर लैजान सम्भव पनि छैन । यो क्षेत्रमा उत्पादित गाँजा भारतमा महँगो मूल्यमा बिक्री हुने गरेको छ । गाँजाको खेती गर्ने किसानले बारीमै १ किलोको २५ सयदेखि चार हजार रूपैयाँसम्म पाउँछन् । व्यापारीले गाउँमा किनेर विराटनगर पु¥याउँदा त्यसको मूल्य बढेर २० हजार रूपैयाँ किलो पुग्छ । अनि भारतमा पुग्दा ४० देखि ५० हजारभन्दा बढीमा बिक्री हुने गरेको छ । यसरी किसानदेखि व्यापारीसम्मलाई राम्रो फाइदा हुने भएकाले जोखिम मोलेरै यसको खेतीपाती भइरहेको छ । यसको विकल्पमा राम्रो आम्दानी हुने अन्य बालीनाली नभएसम्म किसान गाँजा खेतीतर्फ आकर्षित भई नै रहन्छन् ।

प्रहरीले सुनसरीबाट असोजयता चार महिनामा ६० जना मानिस पक्राउ गरेको छ, त्यसमध्ये २१ जना भारतीय नागरिक छन् । सोही समयावधिमा १६ सय ९८ किलो ३ सय ४६ ग्राम गाँजा बरामद भएको छ भने १६ सवारी साधन नियन्त्रणमा लिएको छ । त्यसमध्ये ६ वटा भारतीय र १० वटा नेपाली सवारी साधन छन् । यो तथ्याङ्कबाट भारतीय व्यापारीहरु जोखिम मोलेर गाँजा किन्न आइरहेको बुझ्न कठिन छैन । पछिल्लो समय नेपालमा गाँजा खेतीले वैधानिकता पाउनु पर्ने आवाज उठिरहेको छ । औषधीय प्रयोजनका लागि व्यवस्थित रुपमा खेती गर्ने हो भने पहाडी क्षेत्रका किसानले फाइदा लिन सक्ने विज्ञहरुले बताइरहेका छन् । सरकारले जति नै कडाइ गरे पनि गाँजा खेती नियन्त्रण गर्न सक्ने अवस्था देखिँदैन । त्यसैले यसको व्यवस्थित र नियन्त्रितरुपमा खेती गर्ने बाटो खुला गरिदिए फाइदाजनक हुन सक्छ । यस विषयमा गम्भीर बहस हुनु आवश्यक छ ।