भारत विहारका मोहम्मद शैयाद साफी १ करोड ८२ लाख ५१ हजार रूपैयाँ नेपाली नक्कली नोटसहित पक्राउ परेपछि नयाँ तरङ्ग सिर्जना भएको छ । नेपालमा पछिल्लो समय नक्कली नोट यदाकदा भेटिने गरेको तथ्य सार्वजनिक हुँदै आएको थियो । तर, यस्ता नोटहरु कहाँबाट कसरी आइपुग्छन् भन्ने मेसो पत्ता लाग्न सकेको थिएन । एकादुई नोट भेटिँदा त्रसित बन्नुपरेको अवस्था थियो । त्यस्ता नोट बोकेका व्यक्तिलाई प्रहरीले केरकार गर्नेदेखि लिएर अनुसन्धानसम्म गरेको तथ्य यसअघि सार्वजनिक नभएको होइन । यसअघि पनि सुनसरी प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको थियो । लगातार केही समयको अन्तरालमा नक्कली नोट त्यसमा पनि एक हजार रूपैयाँका नोट मात्रै भेटिनुले नक्कली नोट र लागूऔषधको कनेक्सन हुन सक्ने अनुमान गर्न गाह्रो छैन । तर, प्रहरीले हालसम्म यसको यथेष्ट कारण खुलाउन सकेको छैन । अनुसन्धानको क्रममा गिरोह सक्रिय रहेको भनी बताउनेसम्म गरेको छ । तर, यस्ता नक्कली नोटहरु के कुरामा प्रयोग भइरहेका छन् भन्ने विषय चाहिँ खुल्न सकेको छैन । बिटाका बिटा नक्कली नोट भेटिनु र सुनसरीका विभिन्न क्षेत्रबाट यही बेलामा गाँजा बरामद हुनुले ‘वारि बाघ कराउनु र पारि सिँगारी हराउनु’ उखान झैँ मेल खान्छ । सुनसरी प्रहरीले यसबीचमा ठूलो परिमाणमा धरान, वराहक्षेत्रबाट गाँजा बरामद गरेको अवस्था छ । कतै यस्ता नोटहरुको कनेक्सन लागूऔषध खरिदका लागि प्रयोग त भइरहेका छैनन् भन्ने प्रश्न उठेको छ ।

नेपालमा लागूऔषधको समस्या अहिलेको होइन । यो समस्या लामो समयदेखि चल्दै आएको छ । अझ लागूऔषधमा सुनसरी देशकै दोस्रो नम्बरमा आउँछ । यस क्षेत्रबाट गाँजा पनि धेरै नै बरामद हुने गरेको छ । यता पछिल्लो पटक नक्कली नोटहरु पनि यही क्षेत्रबाट भेटिनुले कतै गिरोहले लागूऔषधका लागि यो पैसा खर्च गरिरहेको त छैन । यसले नेपाली नोट त्यसमा पनि एक हजार रूपैयाँका नोटहरु बजारमा पुगिरहेका त छैनन् । यस विषयमा पनि गहिरो अनुसन्धान गर्नुपर्ने देखिन्छ । यति धेरै नक्कली नेपाली नोटहरु भित्रिनु पक्कै नेपाल र नेपालीका लागि सकारात्मक पक्ष होइन । यो त बरामद भएका हिसाबले देखिएको मात्रै हो । बरामद नभएका पनि धेरै उदाहरण हुन सक्छन् । किनकि नेपाल र भारतको सीमा नाका खुल्ला छ । यही खुल्ला नाकाको फाइदा उठाउँदै गिरोहले नक्कली नोटमा लागूऔषधको कारोबार त गरिरहेको छैन ? यस्ता गम्भीर विषयमा चिन्तन र मनन् गर्ने बेला भएको छ । प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान गर्नुपर्छ । समस्याको जडसम्म पुगेर यस्ता विषयलाई टुङ्ग्याउनुपर्छ । अन्यथा नेपालमा यस्ता नक्कली नोटको बिगबिगी बढ्नेछ । जसले नेपालको अर्थतन्त्रलाई पनि धरापमा पार्नेछ । अपराधीकरण बढ्नेछ । यस विषयमा नेपाल सरकारले, राष्ट्र बैङ्कहरुले पनि गम्भीर चिन्तन मनन् गर्ने बेला आएको छ । कुनै समय भारतले एक हजार र पाँच सयका नोटहरुलाई नोटबन्दी गरिदियो । भारतमा पनि यसरी नक्कली नोटहरु भेटिन थालेपछि त्यसलाई मोदी सरकारले प्रतिबन्ध लगायो । प्रतिबन्ध लगाउनुपर्ने कारण यही मात्रै चाहिँ थिएन । यस्ता विषयमा सरकारले पनि बोल्ड निर्णयहरु गर्नुपर्ने अवस्था देखिन्छ । नेपाल जस्तो निम्न आर्थिक आय भएको देशले यस्ता विषयमा गम्भीर भएर सोच्नुपर्छ ।

समाजलाई चुस्त दुरूस्त राख्ने कार्य प्रहरीको मात्रै हो भन्ने तरिकाले पनि सोच्नु हुँदैन । अपराधलाई नियन्त्रण गर्नका लागि सबै नागरिकको उत्तिकै दायित्व र जिम्मेवारी छ । देशलाई सबल र सुदृढ बनाउनका लागि सबैको उत्तिकै भूमिका हुन्छ । प्रहरी एक्लोको प्रयासबाट मात्रै सम्भव हुँदैन । यसकारण पनि यस्ता आपराधिक गतिविधिमा संलग्न भएको आशङ्का लाग्ने बित्तिकै प्रहरीलाई सूचित गर्नुपर्छ । समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था गर्ने दायित्व बोकेको प्रहरीलाई बढीभन्दा बढी जिम्मेवार बनाउनका लागि पनि नागरिक सचेत हुनुपर्छ अनि मात्रै देशमा सुशासन कायम गर्न सकिन्छ । अपराधले समाजका अवयवहरुलाई समाप्त पार्छ । समाजलाई चलायमान बनाउनका लागि अपराधलाई न्यूनीकरण गर्ने दायित्व सबैको हो । एक्लो प्रहरीको मात्रै पनि होइन । यसतर्फ सबैले सोचून् । नेपालबाट लागूऔषध लाने र उताबाट नक्कली नोट भित्र्याउने गतिविधि हुनु राम्रो सङ्केत होइन । यसलाई न्यूनीकरण गर्न सबै जागरूक होऔँ ।