संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले उदयपुरको बेलका नगरपालिकाको एक होटलको उद्घाटन गर्दै ‘लगानीमैत्री पर्यटनको नीति’ बनाउँदै गरेको उद्घोष गरे । लगानीमैत्री पर्यटन नीति मस्यौदा अन्तिम चरणमा पुर्याएर अर्थ मन्त्रालय पठाएको बताए । तर, लगानीमैत्री पर्यटन भनेको के हो ? त्यसको खास अर्थ के हो ? यसमा कसकसले लगानी गर्छन् ? आदि कुराहरुमा पर्यटनमन्त्रीले प्रष्ट्याएनन् । जसले गर्दा सोझो रुपमा कसैले बुझेनन् । अझ उनले आगामी १० वर्षभित्रमा ३५ लाख पर्यटक नेपालमा भित्र्याउने कुरा पनि गरे । यी यस्ता तमाम कुराहरु गरिरहँदा त्यसको आधारभूमि चाहिँ के हो भन्ने विषयमा कहिल्यै नेता तथा मन्त्रीहरुले नागरिकलाई प्रष्ट बनाउने गरेका छैनन् । कुनै कार्यक्रममा बोलिदियो, गयो । यस्तै यस्तै हुने गरेको छ । इतिहासदेखि आजसम्म हेर्ने हो भने मन्त्रीहरुको कथनी (कुरो) चाहिँ बडेमानको हुने गरेको छ अर्थात् मन्त्री भनेका जादूका छडी हुन्; भन्ने बित्तिकै सबै पूरा भइहाल्छ ।

मुलुकको यथार्थ के हो ? यहाँको वास्तविक धरातल के हो भन्ने विषयमा कहिल्यै निमग्न भएर सोचेको देखिँदैन । जनतालाई ‘ललीपप’ देखाउनमा माहिर छन् मन्त्रीहरु । तर, कुनै पनि कार्यलाई मूर्तरुप दिनका लागि त्यसका योजनाहरु भने पटक्कै सुनिएको छैन । खालि निजी कम्पनी तथा व्यवसायीको भरमा चलाउन खोज्ने प्रवृत्ति व्याप्त छ । सरकारले पर्यटनमा गर्ने लगानी हेर्यो भने हास्यास्पद किसिमको छ । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले पर्यटनको क्षेत्रमा गरेको लगानीको फेहरिस्त हेर्ने हो भने टावर निर्माण, प्रतिमा निर्माण आदि आदिमा लगानी गरेको देखिन्छ । अर्को नयाँ काम गरेको देखिँदैन । हामीले कसलाई पर्यटक भनिरहेका छौँ ? को हुन् हाम्रा पर्यटकहरु ? पर्यटनको क्षेत्रमा गरिरहेको लगानीले साँचो अर्थमा पर्यटक आउँछन् त ? गम्भीर मनन् गर्न जरूरी छ पर्यटनमन्त्रीज्यू । 

पहिलो कुरा त हाल नेपालमा निर्माण भइरहेको भौतिक संरचनाहरु विकासलाई समन्वय गर्ने औजारहरु मात्रै हुन् । यी औजारहरु हेर्नका लागि लाखौं खर्चिएर नेपालमा पर्यटक आउँदैनन् । यी हेर्ने हाम्रै मानिसले हो त्यो पनि एक पटक, दुईपटकसम्म मात्रै । दिगो पर्यटनका लागि हाम्रो लगानी ठीक ठाउँमा भएको छैन । नेपालले बेच्न सक्ने पर्यटकीय क्षेत्रहरु धेरै छन् । नेपालमा अहिले आउने भनेको हिमाल हेर्नका लागि हो । त्यसबाहेक यहाँको सांस्कृतिक कुराहरु हेर्न आइपुग्छन् । यी दुई कुराभन्दा भिन्न पर्यटनको विकास हामीले गर्न आवश्यक छ । त्यो भनेको यहाँका आदिवासी जनजाति, सीमान्तकृत, मधेशी, दलित, मुस्लिमहरुका रैथाने ज्ञान र परम्परालाई हो । रैथाने ज्ञान र संस्कृतिलाई बेच्ने हो । त्यहाँ पर्यटकलाई पुर्याउने हो । हामीकहाँ बहु–तले बिल्डिङहरु हेर्नका लागि विदेशी पर्यटकहरु आउँदैनन् । त्यस कुरालाई मन्त्रीहरुले र नेताहरुले सोच्नुपर्छ । 

दिगो योजनाविनाको लगानीको कुनै अर्थ हुँदैन । ३५ लाख पर्यटक भित्र्याउन चानचुने लगानीले सम्भव छैन । आजको अवस्थामा १० लाख पर्यटक पुग्न पनि हम्मे–हम्मे पर्छ । भारतीय पर्यटकहरु नेपालमा नआउने हो भने नेपालमा विदेशी पर्यटकहरुको सङ्ख्या एकदमै न्यून हुनजान्छ । हामीले पर्यटकको चाहना, माग र इच्छालाई बुझेर सोहीअनुसारको परिकल्पना निर्माण गर्न आवश्यक छ । विश्वमा चारवटा पर्यटनहरु बिकाउ हुन्छन् । कृत्रिम, प्राकृतिक, धार्मिक र यौन । यी चार पर्यटनलाई बेच्नका लागि सरकारको योजना पनि सोहीअनुरुपको हुनुपर्छ ।

हामीकहाँ कृत्रिम पर्यटनको सम्भावना न्यून छ । जसका लागि हामीले ‘होमवर्क’ गर्नु पनि हुँदैन । अन्य तीन पर्यटनको सम्भावना अपार छ । त्यसका लागि भने सरकारले सोहीअनुसारको योजना तथा परिकल्पना निर्माण गर्नुपर्छ । पर्यटनमन्त्रीले भनेजस्तै ३५ लाख पर्यटक भित्र्याउनका लागि सरकार र राज्यले सोहीअनुसारको लगानी गर्नुपर्छ तर, त्यो योजना र परिकल्पना दीर्घकालीन होस् । प्रतिमा बनाउने र टावर बनाउने प्रतिस्पर्धाले हामीलाई कहीँ पनि पुर्याउँदैन । त्यो क्षणिक पर्यटन मात्रै हो । जहाँ आन्तरिक पर्यटक भरिभराउ हुन्छन्, जसले खासै अर्थ राख्दैन । त्यसकारण लगानीमैत्री पर्यटनको नीति बनाउँदा राज्यले विदेशका पर्यटक भित्र्याउन सकून् । त्यसका लागि चाहिँ योजना बनाऊन् ।