झापा जङ्गली हात्तीबाट प्रभावित जिल्लामा पर्छ । मानव र हात्तीको द्वन्द्व चर्किदै जाँदा मानवीय र भौतिक क्षति पनि बढिरहेको छ । खेतबारीमा लगाएको बाली हात्तीका कारण जोगाउन नसक्ने र कतिपयले त ज्यानैसमेत जोगाउन नसक्ने अवस्था सिर्जना भएपछि पछिल्लो समय झापाबाट अन्यत्र बसाइँ सर्ने क्रम बढिरहेको पाइएको छ । झापामा पनि खासगरी मेचीनगरको बाहुनडाँगी क्षेत्रमा हात्तीको प्रभाव बढी थियो तर, अहिले झापाका कचनकवल, हल्दीबारी, भद्रपुर, शिवसताक्षी र बिर्तामोड नगरपालिका क्षेत्रमा समेत हात्तीको आतङ्क उस्तै गरी बढिरहेको छ । त्यसो त केही वर्षयता झापाबाट मोरङ र सुनसरीमा समेत हात्ती पसेर धन र जनको क्षति गर्ने क्रम बढेको छ । यसपटक मात्र मोरङ र सुनसरीमा देखापरेका हात्तीका कारण मानवीय क्षतिसमेत व्यहोर्नु परेको छ भने बाली नष्ट हुनुका साथै घरमा क्षति पुगेको छ । हात्तीको त्रासले यो क्षेत्रका बासिन्दा ठाउँ छाडेर हिँड्न बाध्य भइरहेका छन् । यो विषयमा प्रदेश सरकार गम्भीर बन्नु आवश्यक छ ।

झापामा करिब २०६८ सालदेखि हात्तीको त्रास बढेको पाइन्छ । भारतबाट नेपालको मेचीनगर हुँदै र मेची खोलाबाट जलथल जङ्गलमा हात्ती आउने गरेका छन् । हात्तीका कारण जलथल जङ्गल वरपरका घर, बालीसँगै मानिसको ज्यान पनि जोखिममा परेको छ । यस क्षेत्रमा हालसम्म करिब ५ सय घरगोठ हात्तीले भत्काएका छन् । २०६८ पुष २१ देखि यस क्षेत्रमा २० जनाको हात्ती आक्रमणमा परी ज्यान गइसकेको छ भने करिब एक दर्जन घाइते भएका छन् । त्यसो त यो क्षेत्रमा ६ वटा हात्तीको समेत मृत्यु भएको छ । यसरी हात्ती र मानवबीच बढ्दो द्वन्द्वले प्रकृति, जीवजन्तु र मानवीय क्षति पनि बढिरहेको छ । हात्ती कतिबेला आउने हुन् भन्ने त्रासमा बाँच्नु पर्ने भएकाले जलथल वरपरका बालबालिकालाई मानसिक र शारीरिक असरसमेत देखिएको छ । हात्ती गाउँनजिक आएपछि तिनलाई धपाउन गाउँमा साइरन बजाउने, शङ्ख फुक्नेदेखि थाल, झ्याम्टा ठटाउने गतिविधि हुन्छन् । त्यसले बालकदेखि वृद्धसम्मको निन्द्रा खल्बल्याउँछ । बालबालिका समयमा विद्यालय जान पाउँदैनन् । यसरी हात्तीको त्रासले बस्तीहरुमा जोखिम बढिरहेका कारण गाउँ छाडेर अन्यत्र बसाइँ सर्नेहरु बढिरहेको अवस्थामा सरकारले पनि उचित नीति ल्याउन सकेको छैन ।

प्रकृति र जनावारसँगको द्वन्द्व समाधान त्यति सजिलै हुँदैन । मान्छेले जङ्गली जनावर मानव बस्तीमा पसेको भने पनि खासमा मानिसले पनि जङ्गली जनावरका बासस्थान अतिक्रमण गरिरहेका हुन्छन् । त्यसैले बस्तीहरुको विकास गर्न प्राकृतिक, सामाजिक विषयवस्तु बुझेर अघि बढ्नु पर्छ भन्ने मान्यता राखिन्छ । यद्यपि हाम्रा बस्तीहरु त्यसरी भविष्य सोचेर विकास भएका छैनन् । यस्तो अवस्थामा हात्ती र अन्य जङ्गली जनावर आवत–जावत गर्ने बाटो पत्ता लगाएर त्यसलाई बाधा नहुने गरी बस्ती विकास गरिनु आवश्यक हुन्छ । यो धर्ती मानवको मात्र नभई यहाँका सबै जीव जनावरको पनि हो । त्यसैले सरकारले नीति निर्माण गर्दा सबै पक्षलाई ख्याल गर्नु आवश्यक हुन्छ । अहिले बढिरहेको हात्ती आतङ्कलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकारले स्थानीय तह र समुदायसँग मिलेर योजना बनाए केही न केही उपाय अवश्य फेला पर्नेछ ।