नेपालमा पछिल्लो समय अपराधका नयाँ–नयाँ प्रवृत्तिहरु देखा परिरहेका छन् ।  १५ जनाभन्दा बढी नेपाली युवतीलाई ब्ल्याकमेल गर्दै यौन शोषण गरेको अभियोगमा रवि कुमार नामका भारतीय युवा मोरङबाट पक्राउ परेका छन् । उनले युवतीहरुलाई प्रभावमा पारेर यौन सम्बन्ध राख्ने र यौन क्रियाकलापको भिडियो खिचेर ब्ल्याकमेल गर्दै पुनः यौनशोषण गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । १५ जना युवतीले त आफू यौन शोषणमा परेको भनेर प्रहरीमा उजुरी नै दिएका छन् । त्यसरी पीडित बन्ने युवतीहरु धेरैजसो काठमाडौंका छन् । यो घटनाबाट हाम्रो समाजका युवतीहरु अहिले पनि कसैको प्रभावमा छिटै पर्न सक्छन् भन्ने प्रष्ट हुन्छ । उनीहरुमा सचेतनाको अभाव रहेको देखिन्छ । एक वा दुई जना होइन, दर्जनौं युवतीहरु सामाजिक सञ्जालमा भेटेको व्यक्तिसँग किन सहजै विश्वस्त हुन्छन् र पीडित बन्छन् ? गम्भीर अध्ययनको विषय हो ।

सूचना प्रविधिको तीव्र विकाससँगै हाम्रो समाजमा छोटो समयमै मान्छेका हातहातमा मोबाइल फोन पुग्यो । त्यसपछि लगत्तै इन्टरनेटको पहुँच पुग्यो । इन्टरनेट हातमा पुगेपछि सामाजिक सञ्जालमार्फत् संसारका मान्छेसम्म पहुँच पुग्ने नै भयो । हामीले हत्केलामै संसार चहार्न त सक्यौं तर, त्यसबाट अधिकतम फाइदा लिन सकेनौं । धेरैजसोका लागि सामाजिक सञ्जाल र इन्टरनेट समय बिताउने चिज बने । यही क्रममा चिनजानै नभएका दुनियाँका मान्छेसँग सम्बन्ध बढ्यो । यसो गर्दागर्दै कयौं नेपालीहरु चिठ्ठाका नाममा ठगिएका ठगियै छन्, कयौं युवायुवती विभिन्न अपराधमा पनि जोडिए । कतिले पैसावाललाई हनी ट्रयापमा पारेका खबर आइरहन्छन् । पछिल्लो समय युवतीहरु नै यौनशोषणमा परेको खबर सार्वजनिक भइरहेको छ । यो सबै हामी नेपालीमा इन्टरनेटको प्रयोग बारे सचेतना नभएको परिणाम हो । कहिल्यै नदेखेको, नभेटेको मान्छेसँग विश्वास गरेर जहाँ बोलायो त्यहीँ पुग्नु, जे भन्यो त्यही मान्नु पनि सचेतनाको कमी हो । नयाँपुस्तालाई यसबारे सचेत गराउन ढिला भइरहेको छ ।

नयाँपुस्ताका लागि इन्टरनेट ‘माल पाएर चाल नपाएको’ जस्तो भएको छ । इन्टरनेटमा दुनियाँका कुरा छन् । आफ्नो रूचिको क्षेत्रमा अध्ययन अनुसन्धान गर्न इन्टरनेटले सजिलो बनाइदिएको छ । प्रविधिको क्षेत्रमा होस् या कला साहित्य जुनसुकै विषयमा संसारका कुरा बुझ्न, अध्ययन गर्न सकिन्छ । कतिपयले यसको सदुपयोग गरेर राम्रा काम पनि गरेका छन् । यसैबाट नयाँ सीप सिकेका छन् । तर, त्यसो गर्नेको सङ्ख्या न्यून छ । इन्टरनेटसँगै पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्ट (एआई)को विकासले आफूले खोजेको विषयवस्तु तुरून्तै भेटिने, मनका जिज्ञासा तुरून्तै मेटिने अवस्था आएको छ । यो प्रविधिको सदुपयोग गर्नसके हाम्रोजस्तो देशका युवा विद्यार्थीले धेरै फाइदा लिन सक्छन् तर, इन्टरनेट भएकै फेसबुक, टिकटक र समय कटाउने मेलाका रुपमा मात्र बुझिदिँदा यसबाट फाइदाभन्दा नोक्सानी ज्यादा भइरहेको छ । त्यसैले हाम्रा नीति निर्माताहरुले इन्टरनेटको सदुपयोग कसरी गर्ने अनि दुरूपयोग कसरी रोक्ने भन्ने विषयमा नयाँपुस्तामा सचेतना जगाउने कार्यक्रम ल्याउनु आवश्यक छ । समयमै युवापुस्तालाई सचेत गराउन सकिए देशलाई नै फाइदा पुग्न सक्छ भने अहिलेकै अवस्थामा छाडिदिने हो भने यस्ता अपराध बढ्दै जाने निश्चित छ ।