धरानमा दशैंतिहारदेखि विभिन्न अवसरमा मेला, महोत्सव आयोजना हुन्छन् तर, ती प्रायः विवादमा पर्छन् । उदाहरणका लागि गतवर्ष सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको धरान एक्स्पोमा खेल तमासाले विकृति बढाएको भन्दै धरानका नगरप्रमुख हर्कराज राईले रोटेपिङ रोकिदिएका थिए । यसपटक धरान उपमहानगरपालिका आफैले पब्लिक हाईस्कुल मैदानमा सञ्चालन गरिरहेको धरान उत्सवमा पिङसहितका खेल तमासा सञ्चालन भइरहेका छन् । नगरप्रमुख राईकै नेतृत्वमा भइरहेको उत्सवमा खेल तमासा पनि विवादरहित भने छैनन् । खेल तमासाको ठेक्का हचुवाका भरमा दिइएको छ । न्यूनतम् रकमसमेत नतोकिएको ठेक्कामा ६ लाख रूपैयाँ तिर्न चाहनेलाई नदिएर तीन लाखमा ठेक्का दिइएको छ । यसबाट नगरलाई सोझै तीन लाख रूपैयाँ घाटा लागेको छ । यसमा कर्मचारीकै मिलेमतोको आशङ्का बढेकाले छानबिन हुनु आवश्यक छ ।

मेला, उत्सव धरानका लागि विवादको बिउ उम्रिने ठाउँ हुन् । विगतमा दशैं, तिहारमा लाग्ने गरेका मेलाले यहाँका युवाहरुबीच दुश्मनी र झगडा उत्पन्न गराउने गरेको थियो । पछि युवाहरु मात्र होइन, राजनीतिक दलका नेताहरु नै मेलाको भागबन्डामा लागेपछि यसले राजनीतिक रुप पनि लिन थाल्यो । धरानको राजनीति बदनाम हुनुमा मेला उत्सवको पनि हात छ । मेलाको भागबन्डाका विषयमा पोल खोलाखोल हुँदा यहाँका नेताहरु मेलाकै कारण बदनामसमेत छन् । त्यो बदनामीले ढलेको शिर अझै उठिसकेको छैन । मेलाको ठेक्कामा भागबन्डा नमिल्दा हरेक वर्ष झगडा हुने गरेपछि केही वर्षयता दशैं, तिहारमा लाग्ने मेला बन्द छ । धरानवासीको मनोरञ्जनका लागि मेला आवश्यक भए पनि झगडाको बिउ बनेपछि बन्द भएको हो । हाल धरानमा सञ्चालित उत्सवमा सहभागीहरुको उपस्थिति देखेर दशैं, तिहारमा पनि मेला लगाउने चर्चा सुरू भइसकेको छ । धरान जत्तिको सहरमा मेला, उत्सव हुनु सकारात्मक कुरा नै हो तर, व्यवस्थापन राम्रो हुन नसक्दा अशान्ति मच्चिने खतरा उत्तिकै छ ।

खासगरी धरानमा मेला, उत्सव विवादमा पर्नुको प्रमुख कारण आर्थिक पाटो हो । मेला, उत्सवमा रमाउने र खुलेर खर्च गर्ने धरानेहरुको स्वभाव छ । एउटा मेलामा करोडौंको कारोबार हुन्छ । पैसा आउने ठाउँ देखेपछि युवाहरुका विभिन्न समूह जाग्छन् । राजनीतिक दलका नेताहरुमध्ये कति आफै प्रत्यक्ष सहभागी बन्छन् त कति युवाहरुको आड भरोसा बनेर भित्रबाट मेलाको खेला सञ्चालन गरिरहेका हुन्छन् । मनोरञ्जनका लागि आयोजना हुने मेला उत्सव जब कमाउ धन्दाको अवसर मात्र ठानिन्छ, तब विवाद उत्पन्न हुने हो । यो धन्दामा राजनीतिक दलका नेताहरु मात्र होइन, धरान उपमहानगरपालिकाका कर्मचारीहरुको पनि मिलेमतो हुने गरेको चर्चा हरेक वर्ष चल्ने गर्छ । उपमहानगरका कतिपय नीति निर्णयहरु हेर्दा नेता र कर्मचारीको मिलेमतोमै यस्तो धन्दा हुने गरेको बुझ्न कठिन पर्दैन । त्यसैले यस्ता मेला उत्सवमा राजनीतिकरण गरिनु हुँदैन । दलका नेता र कर्मचारीको मिलेमतोमा मेला आयोजना भएसम्म विवादरहित हुन सम्भव छैन । मेलालाई स्वस्थ मनोरञ्जनको माध्यम बनाउने हो भने राजनीतीकरण बन्द गरिनु आवश्यक छ ।