झापाको मेचीनगर नगरपालिकाको विवाद सतहमा देखिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत टङ्ककुमार रेग्मीबीचको विवाद बढ्दा कतिपय कार्यसम्पादन हुन नसकेको आवाजहरु उठेका छन् । व्यक्तिगत ‘इगो’ ले समग्र संस्थाको हित गर्दैन । सेवा प्रवाह गर्ने संस्थाले यस्तो हर्कत देखाएमा त्यसको असर लामो समय परिरहन्छ । कर्मचारी र जनप्रतिनिधिको ‘टसल’ को विषयले संस्थाको कामकारबाही रोकिनु हुन्न । संस्था अविच्छिन्न उत्तराधिकारी संस्था हो । व्यक्ति गौण हुन् । आउँछन्, जान्छन् । संस्थाको हितका लागि कर्मचारी र जनप्रतिनिधि दुवैले काम गर्नुपर्छ । व्यक्तिगत इबीहरुलाई त्यागेर समग्र नागरिकको हित हुने कार्य गर्नु चाहिँ उपलब्धि हो । जनप्रतिनिधिले आफ्नो अन्डरमा रहेर काम गर्ने कर्मचारीले भनेको सबै मान्नुपर्छ भन्ने सोचलाई त्याग्नु पर्छ । कर्मचारीले कानून र नीतिलाई टेकेर मात्रै काम गर्छ भन्ने कुरालाई भुल्नु हुँदैन । कानून र नीतिभन्दा बाहिर गएर कर्मचारी आफू फस्ने काम गर्दैन । अर्कोतिर कर्मचारीले पनि जनप्रतिनिधिसँग समन्वयकारी भूमिका निर्वाह गर्नुपर्छ । कानूनमा तोकिएभन्दा बाहिर जान नमिल्ने विषयमा बुझाउनु पर्छ । जसले जे गरे पनि हुन्छ भन्ने बेलगाम घोडाको प्रवृत्ति जनप्रतिनिधिमा नभएको पनि होइन । जनप्रतिनिधिहरुको स्वेच्छाचारी प्रवृत्तिलाई त्याग्नुपर्छ । कानूनभन्दा माथि र नीतिभन्दा माथि रहेर काम गर्छु र गराउँछु भन्ने सोचलाई परित्याग गर्नुपर्छ ।

यस्ता टकरावहरु धेरै स्थानीय तहहरुमा देखिने गरेका छन् । यो समस्या मेचीनगर नगरपालिकाको मात्रै पनि होइन । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको आ–आफ्नै रबैया विगतमा पनि अन्य स्थानीय तहमा पनि देखिँदै आएका हुन् । यसका पछाडि २० वर्षे ‘ब्ल्याक होल’ नै प्रमुख कारण हो । जतिबेला जनप्रतिनिधि थिएनन् । त्यो बेलामा कर्मचारीतन्त्रले राज गरेकै हो । यसको परिणाम आज देखिँदै गएको सत्य हो । ऊबेलामा जनप्रतिनिधि नहुँदा कर्मचारीले देशलाई सञ्चालन गरे । उनीहरुमा हामी आफै पनि चलाउन सक्छौँ भन्ने दम्भ देखियो । त्यही दम्भ नै अहिलेको मुख्य कारण हो । जनप्रतिनिधिहरुमा एक खालको दम्भ कायम छ । जनताबाट निर्वाचित भएर आएको भन्ने दम्भ जनप्रतिनिधिमा छ भने कर्मचारीले जनप्रतिनिधि नभए पनि चलाउन सक्छौँ भन्ने अर्को दम्भ छ । यो दम्भको टकरावले धेरैतिर विवाद बढेको सत्य हो । यस्ता दम्भहरुलाई जनप्रतिनिधि र कर्मचारीले त्याग्न आवश्यक छ । विशेष परिस्थिति तथा विशेष अवस्थामा कर्मचारीतन्त्रले देश हाँकेको सत्य हो तर, अहिले अवस्था फेरिएको छ । त्यस कुरालाई कर्मचारीले पनि मनन् गर्नुपर्छ ।

समस्या यी मात्रै पनि छैनन् । अन्य धेरै समस्याहरु व्याप्त छन् । कर्मचारीलाई के लाग्छ भने जनप्रतिनिधिहरु औँठा छापे हुन् ? यिनीहरुको हैसियत के नै छ र ? के नै जान्दछन् र ? भन्ने सोच व्याप्त देखिन्छ । यो मनोभ्रान्तिले पनि धेरै हदसम्म काम गरेको छ । देश र जनताको हितलाई सर्वोपरि नठान्दाको परिणाम हामीले भोग्दै आएका छौँ । एउटा कर्मचारी पनि देशको सर्वोपरि हित गर्ने उद्देश्यले जागिर खाएको हुन्छ भने जनप्रतिनिधि पनि समृद्धि र विकासका लागि आएका हुन् । दुवै देशको समृद्धिका खातिर काम गरिरहेका छौँ भन्ने कुरालाई चटक्कै भुल्दा समस्या निम्तिएको पक्कै छ । अर्कातिर व्यक्तिगत रिसइबी र फाइदाका लागि एकले अर्कालाई धारे हात लगाउने प्रवृत्तिले पनि काम गरेको छ । मेचीनगरको विकास र समृद्धिका लागि दुवै अपरिहार्य व्यक्तित्व हुन् । एकले अर्कालाई निषेध गरेर कोही पनि अगाडि बढ्न सक्दैन । हातेमालो, सहकार्य, सहकारिता, समन्वय नै उत्तम विकल्प हो । जसरी सङ्घ, प्रदेश र स्थानीय तहको मोटो नै सहकारिता, समन्वय र सहकार्य हो । त्यसरी नै कर्मचारी र जनप्रतिनिधि अगाडि बढ्नुपर्छ । यसले अहित गर्दैन भलै हित नै गर्छ ।