उपचार गर्न अस्पताल पुगेका एकपछि अर्को बिरामीको अस्वभाविकरुपमा मृत्यु भएपछि झापाको बिर्तामोडस्थित मनमोहन सामुदायिक अस्पताल विवादमा तानिएको छ । केही महिनाअघि मात्र एक जना २५ वर्षीया महिलाको उपचारका क्रममा ज्यान गएको सो अस्पतालमा गत सोमबार अर्की ३५ वर्षीया महिलाको ज्यान गएपछि उपचारमा लापरबाही भएको आशङ्कामा पीडित परिवारहरु आन्दोलनमा उत्रिएका छन् । घटना विवरणअनुसार घुँडा दुख्ने र सुन्निने समस्या देखिएपछि गत सोमबार अटोरिक्सा चढेर अस्पताल पुगेकी नर्वदा बाँस्कोटा घिमिरेको केही घण्टामै निधन भएको थियो । नर्वदाका आफन्तले अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको तीन घण्टासम्म पनि चिकित्सकले नहेरेको आरोप लगाएका छन् । आफन्तले पटक–पटक बोलाउँदा पनि नआएका चिकित्सक तीन घण्टापछि आएर हेर्दा बिरामीको अवस्था जटिल बन्दै गएको र बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा रेफर गर्न आग्रह गर्दा पनि अस्पतालले अटेर गरेको मृतकका परिवारको भनाइ छ ।

सामान्य अवस्थामा आएका एकपछि अर्को बिरामीको अस्वभाविकरुपमा मृत्यु हुँदा शङ्का उत्पन्न हुन्छ नै । यस्तो अवस्थामा अस्पताल पक्षको लापरबाही भएको हो वा बिरामीको अवस्था नै त्यस्तै थियो ? भन्ने विषयमा गम्भीर अध्ययन हुनु आवश्यक हुन्छ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि स्वभाविकरुपमा पीडित पक्षको चित्त बुझ्दैन । कतिपय अवस्थामा बिरामीको अवस्था नै जटिल भएर मृत्यु भएका घटनामा पनि चिकित्सक र अस्पताललाई दोष दिने, कुटपिट र तोडफोड गर्ने प्रवृत्ति पनि बढ्दो छ । यस्ता घटना बढ्न नदिन अस्पताल पक्षले बेलैमा बिरामीका आफन्तलाई बिरामीको अवस्था बारे यथार्थ जानकारी गराउनु आवश्यक हुन्छ । तर, चिकित्सक र अस्पतालहरुले बिरामीलाई राम्रोसँग जानकारी नदिने, सोध्दा झर्किने गरेका घटना पनि उत्तिकै देखिन्छन् । बिरामी पक्ष र अस्पताल पक्षबीच सहज वातावरणमा बिरामीको उपचार हुने हो भने यस्ता समस्या कमै आउँछन् । यद्यपि समस्या आएपछि त्यसको उचित छानबिन गरेर दोषीलाई कारबाही गर्नु जरूरी हुन्छ ।

चिकित्सकहरुमा उपचारका क्रममा मृत्यु हुनुलाई स्वभाविक र हल्कारुपमा लिने प्रवृत्ति बढ्दो छ । उनीहरु आफुले गरेको अध्ययनका आधारमा यति बिरामीमध्ये यति प्रतिशतको मृत्यु हुनु स्वभाविक हो भन्ने ठान्छन् । चिकित्सकले बिरामीको मृत्यु प्रतिशतमा हिसाब गरे पनि बिरामीका आफन्तका लागि एउटै मृत्यु शतप्रतिशत हुन्छ । यस्तो बेला उनीहरुले धैर्य गुमाएका हुन्छन् । मृतकका आफन्तको मनोभावना बुझ्न नसक्दा समस्या झन् चर्किन्छ । अस्पताल र मृतकका आफन्तबीच हुने गरेका झगडाका घटनाको जड मुख्यरुपमा असमझदारी हो । अर्को कुरा, पछिल्लो समय सहरैपिच्छे खुलेका अस्पताल सेवामुखीभन्दा पनि व्यापारमुखी छन् । स्वास्थ्य क्षेत्रलाई कमाउ धन्दाका रुपमा लिने स्वास्थ्य माफियाहरुका कारण पनि स्वास्थ्य सेवा बद्नाम बनिरहेको सन्दर्भमा बिर्तामोडको मनमोहन अस्पतालको घटनालाई गम्भीरताका साथ अध्ययन गर्नु जरूरी छ । यस्ता घटनाहरुमा छानबिन समिति गठन हुने तर, प्रतिवेदन सार्वजनिक नहुने वा भए पनि दोषीलाई बचाउने खेल हुने गरेका घटना प्रशस्त छन् । यस्ता विषयमा राजनीति घुसाइँदा पनि समस्या सुल्झिनेभन्दा बल्झिने गरेका छन् । त्यसैले यो घटनामा राजनीतिक हस्तक्षेप विना अध्ययन गरेर मृत्युको कारण पत्ता लगाउनु जरूरी छ । अध्ययनपछि दोषी पाइए कारबाही गरिनु पर्छ । स्वास्थ्य क्षेत्रमा बढ्दो बदमासीलाई नियन्त्रण गर्न कानूनको प्रभावकारी रुपमा कार्यान्वय हुनु जरूरी छ ।