अपराध गरेर दोषी ठहर भएकाहरुलाई कानून बमोजिम सजाय भुक्तानका लागि कारागार चलान गरिन्छ । कारागारमा राखिएका अपराधीको चालचलन र व्यवहार सुधार हुने अपेक्षा गरिएको हुन्छ । अपराधीलाई कारागार पठाउनुको उद्देश्य पनि उनीहरुमा सुधार आओस् भन्ने नै हो । आनीबानी सुधार गर्न पठाइएको कारागारमा मृत्यु हुने गरेका घटना बढिरहेका छन् । जिल्ला मोरङ कारागारको घटना विवरण अध्ययन गर्ने हो भने तीन वर्ष पाँच महिनामा कारागारभित्रै २९ जनाको ज्यान गइसकेको छ । यो गम्भीर विषय हो । कारागारमा बर्सेनि किन यस्तो घटना भइरहेको छ ? छानबिन हुनु आवश्यक छ । कारागार मृत्युका घटनाहरु शङ्कास्पद छन् तर, ती घटनाको राम्रोसँग छानबिनसमेत हुने गरेको पाइँदैन । यसले हाम्रो न्याय प्रणालीलाई चुनौती दिएको छ ।

तथ्याङ्कअनुसार कारागारभित्र आर्थिक वर्ष २०७७/०७८ मा ११ जना र आर्थिक वर्ष २०७६/०७७ मा ८ जना पुरूष कैदीबन्दीको मृत्यु भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ११ जना, आर्थिक वर्ष २०७८/०७९ मा १० जना र चालु आर्थिक वर्षको अहिलेसम्ममा ८ जना कैदीबन्दीको मृत्यु भइसकेको छ । यही तथ्याङ्क हेर्दा पनि कारागारभित्र मृत्यु घटनाको भयावह तस्बिर देखिन्छ । गलत बाटोमा लागेकालाई सुधार्ने उद्देश्य राखिएको कारागारभित्र यसरी बर्सेनि मृत्युका घटना किन भइरहेका छन् ? यो विषयमा सरकार वा अन्य कुनै निकायले गम्भीरतापूर्वक अध्ययन गरेको देखिँदैन । अपराधी नै किन नहोस् उसको पनि ज्यानको मूल्य हुन्छ । सबैको ज्यान महŒवपूर्ण हुन्छ । यसरी कारागारभित्र मृत्यु हुनेका आफन्तहरुले कारागारभित्र कुटपिट र यातनाका कारण मृत्यु भएको बताउने गरेका छन् । कारागारभित्र नाइके, भाइनाइकेको दादागिरी चल्ने र उनीहरुले यातना दिने गरेको पीडितहरुले बताउने गरेका छन् । तर, यो विषयमा पनि अध्ययन भएको पाइँदैन ।

देशभरकै कारागारहरुको साझा समस्या क्षमताभन्दा बढी कैदीबन्दी रहनु हो । मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी छन् । कारागारको क्षमता २ सय ५० जना पुरूष र ५० जना महिलाको मात्र भए पनि मोरङ कारागारमा हाल ९ सय ४७ पुरूष र ९५ महिला गरी १ हजार ४२ जना कैदीबन्दी छन् । क्षमताभन्दा अत्यधिक कैदीबन्दी राख्नु व्यवस्थापनको कमजोरी हो । यो उनीहरुको मानवअधिकारको हनन् पनि हो । यसलाई राज्यले सम्बोधन गर्नु जरूरी हुन्छ । राज्यको नियन्त्रणमा रहेका कैदीबन्दीहरुको किन ज्यान गइरहेको छ ? भन्ने विषयमा राज्यले उचित छानबिन गर्नु पर्छ । हुन त पटक–पटकका मृत्युका घटनामा छानबिन समिति बन्ने गरेका छन् तर, त्यसको प्रतिवेदन सार्वजनिक हुँदैनन् । सार्वजनिक भएका प्रतिवेदनले पनि स्पष्ट कारण देखाउँदैनन् । २०७८ चैतमा सङ्घीय संसद् प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले सुनसरी, मोरङ र इलाम जिल्लाका कारागारहरुको अनुगमन गरेर तयार पारेको प्रतिवेदनमा कैदीबन्दीहरुको अत्यधिक चाप हुँदा कारागारमा छाला र श्वास–प्रश्वाससम्बन्धी विभिन्न रोगका कारण कैदीबन्दीहरुको निधन हुने गरेको उल्लेख थियो । सो प्रतिवेदनमा कतिपय अनुचित सम्बन्धले पनि कैदीबन्दीको मृत्यु भएको उल्लेख छ तर, अनुचित सम्बन्ध के हो ? प्रष्ट छैन । मोरङमा मात्र होइन, देशभरकै कारागारहरुमा कैदीबन्दीको अवस्था दयनीय छ । मृत्युका घटना बढिरहेका छन् । त्यहाँभित्र चौकीदार, नाइके, भाइनाइकेका ज्यादती उत्तिकै छन् । सरकारले राम्रोसँग छानबिन गरेर बेलैमा सुधार नगर्ने हो भने कारागारहरु सुधार गृह होइन, यातना गृह बन्ने निश्चित छ । त्यसैले कारागारभित्रका मृत्यु घटनाको उचित छानबिन होस् ।