नेपाली फुटबलको स्तर झन् झन् खस्किँदो क्रममा छ । खेलाडीहरुको विदेश पलायन रोकिएको छैन । फुटबलमा जुन स्तरको लगानी छ, त्योअनुसारको प्रतिफल दिन सकेको छैन । नेपाली राजनीतिले गाँजेको नेपाली फुटबललाई माथि उठाउन हालसम्म कुनै पनि पदाधिकारीले सकेको स्थिति छैन । हालै विश्वकप छनोट खेलमा नेपाल यमनसँग २–० ले पराजित भयो । यसले पनि नेपाली फुटबलको स्तरलाई मापन गर्दछ । यमन यस्तो देश हो, जहाँ द्वन्द्वका कारण फुटबल प्रशिक्षण गर्न पनि सकिरहेको स्थिति छैन । अरु देशको भरमा प्रशिक्षण गर्नु परिरहेको स्थिति छ । भलै यमन विश्व वरियतामा १७ औँ स्थान माथि छ । यमन १५६ औँ स्थानमा छ भने नेपाल १७३ औँ स्थानमा छ । नेपाली फुटबलले फल्नेफुल्ने मौका नपाएको होइन तर, सोचेजस्तो प्रगति गर्न सकेको छैन । यता यही स्तरमा अगाडि बढेको क्रिकेटले एउटा उचाइ चुमिसकेको छ । लगानीका हिसाबले फुटबलभन्दा क्रिकेटमा झनै थोरै छ । यथेष्ठ मैदानहरु प्नि छैनन् । पूर्वाधारको अवस्था त्यस्तै छ । तर, पनि सोचेभन्दा उल्लेखनीय प्रगति क्रिकेटले गरेको छ ।

हुन त यी दुई बीच तुलना हुन सक्दैन । तर, एउटा सत्य चाहिँ के हो भने नेपाली फुटबलको स्तर विश्व वरियतामा उति आशलाग्दो बनेको छैन । दक्षिण एसियाली देशमा भारतको स्तर धेरै माथि पुगिसकेको अवस्था छ । नेपाली फुटबलमा जुन खालको राजनीतिले गाँजेको छ, त्यो नेपाली फुटबलका लागि प्रत्युत्पादक बनिरहेको स्थिति छ । सम्भावना बोकेका खेलाडीहरु दिनानु दिन पलायन भइरहेका छन् । अन्य देशमा गएर सी, डी डिभिजन खेलिरहेका छन् । खेलाडी उत्पादनमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जुन किसिमको लगानी गर्नुपर्ने थियो, त्यो गर्न नसकेको यथार्थ हामीसामु छर्लङ्ग छ । तल्लो स्तरबाटै खेलाडी उत्पादनमा जबसम्म लाग्दैन, तबसम्म नेपाली फुटबलको स्तर झनै खराब हुँदै जाने निश्चित छ । अर्कोतर्फ राजनीतीकरण हुनबाट यसलाई जोगाउनु पर्छ । त्यसो हुन सक्यो भने मात्रै नेपाली फुटबलको साख तथा गरिमा बढ्नेछ ।

नेपाली फुटबल टोलीले यमनको टोलीसँग आफ्नै गृहमैदानमा जुन खालको खेल पस्कियो । त्यसले नेपाली फुटबलमा हामी कहाँ चुकिरहेका छौँ भन्ने प्रष्ट देखाइरहेको छ । अब नेपाली फुटबललाई माथि उठाउनका लागि एन्फामार्फत् सरकारले लगानी भिœयाउन आवश्यक छ । विना लगानी प्रतिफल मात्रै राम्रो खोज्नु महाभूल हुनेछ । नेपाली फुटबलको नियति नै मान्नुपर्छ, विश्व वरियतामा कहिल्यै १७० औँ स्थानभन्दा माथि आउन सकेको छैन । विश्व फुटबललाई हेर्ने हो भने त्यहाँ भएका गतिविधिहरु र यहाँको गतिविधि तुलनीय छैनन् । तर, पनि हामीले केही गर्ने अठोट लिन आवश्यक चाहिँ छ । भारतले नै विश्व फुटबलमा आफूलाई फरक तरिकाले प्रस्तुत गरिरहेको छ । विश्व वरियतामा नेपालभन्दा केही माथि मात्रै रहेको भारत आज झण्डै १०० को हाराहारीमा आइसकेको छ । यसले पनि नेपाली फुटबलको स्तरलाई मापन गरिरहेको छ । नेपाली फुटबललाई माथि उठाउनका लागि तल्लो तहबाटै व्यापक सुधार गर्न आवश्यक छ । जबसम्म सुधार हुँदैन, तबसम्म नेपाली फुटबलको स्तर खस्किने क्रम रोकिने छैन । खेलाडीको सेक्युरिटीलगायत विषयमा पनि गम्भीर ध्यान दिनै पर्छ । नेपालमा पनि ठूला–ठूला लिगहरु खेलाइने वातावरण तयार गरिनुपर्छ । ता कि खेलाडीहरु यही बाँच्न सकून् । यो ध्येयबाट नेपाली फुटबलमा लगानी नगर्ने हो भने हाम्रो स्तर झनै दुःखदायी हुने निश्चित छ ।