केही समययता मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दलका नेताहरुलाई गाली गरेको र समूह बनाएर मङ्सिर ७ मा काठमाडौंमा आन्दोलन गर्ने भाषण गरेका भिडियोहरु सामाजिक सञ्जालमा छाइरहेका छन् । प्रसाईंले घोषणा गरेको आन्दोलनविरूद्ध एमाले नेता महेश बस्नेतले युवा सङ्घ र अनेरास्ववियु उतार्ने धम्की दिएका भिडियोहरु पनि उसैगरी सामाजिक सञ्जालमा भेटिन्छन् । एकातर्फ दुर्गा प्रसाईंको समूह र अर्कातिर एमालेको युवासङ्घ भिडन्तमा उत्रिन लागेको सन्देश देशभर फैलिएको छ । सामाजिक सञ्जालमा हेर्दा दुवै पक्षका कुरामा बौद्धिकता र तर्कभन्दा अराजकता बढी देखिन्छ । उनीहरुका पक्ष र विपक्षमा देखिएका विभिन्न व्यक्ति र समूहहरुले पनि उस्तै अराजक कुरा गरिरहेका छन् । हाम्रो समाज किन यसरी अराजकतातर्फ अग्रसर भइरहेको छ, यो अहिलेको चिन्ताको विषय हो ।

कुनै बेला एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई एउटै टेबलमा राखेर मार्सी चामलको भात खुवाएर चर्चामा आएका दुर्गा प्रसाईं कहिले नेकपा त कहिले एमाले बनेका थिए । पार्टी र नेताहरुलाई सहयोग पनि गरेका र आफूले पनि उनीहरुसँगको सम्बन्धबाट फाइदा लिएका प्रसाईं अहिले उनै ओली र दाहालको धुवाँदार विरोधमा उत्रिएका छन् । कोरोना महामारीपछि अस्तव्यस्त बनेको व्यापार व्यवसायबाट पीडित व्यवसायीहरुलाई बैङ्कको ऋण मिनाहा गर्ने उद्घोष गर्दै आएका छन् । बैङ्क, सहकारी र लघुवित्तबाट ऋण लिएका व्यवसायीलाई ऋण नतिर्न उक्साउँदै आएका उनले देशको राजनीतिप्रति वितृष्णा भएकाहरुलाई आफ्नो पक्षमा पार्न दल र नेताहरु मात्र होइन, व्यवस्थामाथि नै प्रहार गरिरहेका छन् । उनी हिन्दु धर्म र राजतन्त्रको पक्षमा पनि आवाज उठाउँदै आएका उनले गणतन्त्र र धर्मनिरपेक्षता विरोधीलाई पनि आन्दोलनमा समेटिरहेका छन् ।

महत्वपूर्ण कुरा चाहिँ के हो भने एक जना व्यक्तिलाई देशको व्यवस्था, राजनीतिक दल र नेताहरुलाई तथानाम गाली गर्न सक्ने कसले बनायो ? यो आँट उनमा कसरी आयो ? दल र तिनका नेताहरुले मनन् गर्नु आवश्यक छ । हिजो दुर्गा प्रसाईंहरुलाई छत्रछायाँ प्रदान गर्ने दल र नेताहरु आज उनीहरुमाथि नै तथानाम गाली गर्दा पनि खुलेर बोल्न सकेको देखिँदैन । उनीहरुमा प्रसाईंहरुका अभिव्यक्तिहरु विरूद्ध खुलेर प्रतिवाद गर्ने हिम्मत आउन नसक्नुको मुख्य कारण उनीहरुबाट पनि गल्ति भएको छ । त्यो कुरा प्रसाईंलाई राम्रोसँग थाहा छ । एकातिर दलहरुले आम नागरिकको अपेक्षा अनुरुप काम गर्न नसकेको र अर्कातिर हरेक अवसरमा नेताका आफन्त, कार्यकर्ताहरुले मात्र फाइदा लिन सक्ने अवस्था सिर्जना गरिनुले आम नागरिकमा वितृष्णा बढ्दो छ । प्रसाईंले तिनै नेताका कमजोरी र आम नागरिकमा छाएको वितृष्णामाथि खेलेर आन्दोलन चर्काउँदै छन् । त्यसका लागि उनले अराजक शैलीमा बोल्ने, नेता र दललाई गाली गर्ने गरेका छन् । उनको यस्तो व्यवहारको प्रतिरोधमा उत्रिएका एमाले नेता, कार्यकर्ता पनि उसैगरी अराजक शैली अपनाईरहेका छन् । यसबाट हाम्रो समाजमा अराजकता अझै बढ्ने देखिन्छ । सामाजिक सञ्जालमा कसैले ठूलो स्वरमा गाली गरेको भरमा वास्तविकता नबुझी अराजक शैलीमा खनिने प्रवृत्ति बढ्दो छ । यसको मुख्य जड त राजनीतिमा फैलिएको विकृति नै हो । त्यसैले दल र नेताहरुले नै समाजमा फैलिएको अराजक शैलीलाई नियन्त्रण गर्न भूमिका खेल्नु जरूरी छ । यस्तो नियन्त्रण बलपूर्वक होइन, आम नागरिकलाई चित्त बुझाएर उनीहरुलाई साथमा लिएर गरिनु आवश्यक छ ।