धनकुटामा एक निर्माण व्यवसायीमाथि कालोमोसो दल्ने जस्तो निन्दनीय कार्य भएको छ । सुपेरियर मालिका जेभी कन्स्ट्रक्सन कम्पनीका निर्माण व्यवसायी प्रदीप कार्कीमाथि दलमा आबद्ध समूहले कालोमोसो दलेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले गरेको भनिएको यो कार्य समाजमा अपाच्य र कानूनको बर्खिलाप हो । कानून हातमा लिई जुन कार्य गरिएको छ, यो कार्य समाज सुहाउँदो कार्य होइन । पूर्वीय समाज एकता, सहकार्य र सद्भावमा विश्वास गर्ने समाज हो । यहाँ सामाजिक गतिविधि पनि सोही मूलमन्त्रका आधारमा हुन्छ । नैतिक आचरणमा रहनु पूर्वीय समाजको गुण हो, लक्षण हो । तर, पछिल्लो घटनाक्रमहरु समाज विरोधी र पूर्वीय दर्शन र मान्यता विपरीत हुँदै आएको छ । निर्माण व्यवसायी कार्कीले नैतिक आचरणविपरीत कार्य गरेमा कानूनले उनलाई सजाय दिन्छ । समाजले उनको कार्यलाई अस्वीकार गर्छ । व्यवहारतः त्यही नै उनका लागि नसिहत हो । जरिबाना हो । तर कालोमोसो दल्ने जस्ता कार्य समाज विरोधी कार्य हुन् । उनी व्यक्ति मात्रै होइनन्, समाजका पात्र पनि हुन् । परिवारका सदस्य हुन् । मनोवैज्ञानिक रुपमा उनलाई कस्तो असर गर्छ होला ? यस्ता विषयमा कालोमासो दल्ने समूहले मन्थन गर्नुपर्ने हो ।

यस्ता गतिविधि किन र के कारणबाट उत्पन्न भइरहेका छन् ? समाज किन यो दिशातर्फ उन्मुख छ ? समाज किन यति भ्रष्ट हुँदैछ ? यावत प्रश्नको जवाफ खोज्नका लागि कालोमोसो दल्ने समूह र निर्माण व्यवसायीको गतिविधिलाई मनन गर्नुपर्छ । विचार, विमर्श गर्न जरूरी छ । निर्माण व्यवसायीहरुले आफ्नो काम समयमा नसक्ने, छाडेर बेपत्ता हुने, अलपत्र छाड्ने जस्ता गतिविधि नगरेका होइन । त्यसले नागरिकमा आक्रोस पैदा गर्छ । समयमा सकिनुपर्ने काम समयमा सकिएन भने त्यसप्रति नागरिकमा वितृष्णा पैदा हुन्छ । त्यस आक्रोसलाई पोख्नका लागि कालोमोसो जस्ता कानूनले बन्देज गरेका कार्य गर्न पुग्छन् । तर यहाँ राजनीतिक दलको समूहका कार्यकर्ताले गरेको भनिएको छ । राजनीतिक दलका कार्यकर्ताहरु संवेदनशील बन्नुपर्छ । उनीहरु पनि यही समाजका उत्पादन हुन् तर, यसो भनिरहँदा पार्टी आफ्नो विचार, सिद्धान्त र दृष्टिकोणबाट परिचालित भएको छ । सोही विचार र सिद्धान्तमा आफ्ना कार्यकर्ताहरुलाई डो¥याएको हुन्छ । यसकार कार्यकर्ताले यस्ता हर्कत गरिरहँदा आम मानिसमा पनि यस्तै गर्नुपर्ने रहेछ भन्ने मनोविज्ञानले घर गर्न थाल्छ र समाज अराजकतातर्फ उन्मुख हुन्छ । समाजलाई सही मार्गमा डो¥याउने दायित्व पार्टीहरुको पनि हो । देशको नीति निर्माण तहमा पुग्ने समूह यसरी अराजक हुनु राम्रो होइन । यसले गतिलो सन्देश दिँदैन ।

निर्माण व्यवसायीहरु पनि आफ्नो नैतिक आचरणलाई सुधार्नु पर्छ । अर्थात् आफ्नो कामप्रति दत्तचित्त हुनुपर्छ । निर्धारित समयमा काम सक्ने परिपाटीको अभ्यास थाल्नुपर्छ । सबै गलत छन् भन्ने होइन तर अधिकांश गलत भएको कारण उनीहरुको काम, प्रतिष्ठा र इज्जतप्रति यसरी धावा बोलिँदै आएको छ । कालोमोसो दल्नु पर्ने कारणहरु अनेकन हुन सक्लान् । आन्तरिक तथा बाह्य कारण पनि हुन सक्लान् तर, कालोमोसो दल्ने कार्य कानूनले वर्जित गरेको कुरा हो । यस्ता समूहहरुलाई कारबाही गर्ने वातावरण राज्यले गर्नुपर्छ । निर्माण व्यवसायीले विना डर, त्रासरहित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्नु राज्यको दायित्व हो । कुनै पनि कारण देखाई गरिने यस्ता गतिविधिले सबैलाई हतोत्साही बनाउँछ । यस्ता गतिविधि रोक्न सरकार दत्तचित्त हुनुपर्छ । गल्ती गर्नेलाई कानूनी कठघरामा उभ्याउने वातावरण तयार नगर्ने हो भने व्यवसायीहरु पलायन हुने स्थिति पैदा हुन्छ । सबैले आआफ्नो दायित्व र कर्तव्यलाई पूरा गर्नेतर्फ पाइला चालियोस् ।