मानव तस्करी हुने गरेको घटना नौलो होइन । तर, यो लामो समय जडसूत्रको रूपमा हाम्रो समाजमा व्याप्त छ । यसलाई निमिट्यान्न पार्न अहिलेसम्म कसैले पनि सकेको छैन । मानव तस्करले फरक–फरक प्रलोभन र जालो फिँजाउँदै तस्करी गर्दै आएका छन् । हिजोको प्रवृत्ति एउटा थियो, आजको प्रवृत्ति परिवर्तन हुँदै गएको छ । हिजो प्रयोग हुँदै आएका सीमा नाकाहरू पनि अहिले परिवर्तन भइसकेका छन् । नयाँ नयाँ नाकाहरू प्रयोग गर्ने र मानव तस्करी गर्ने समूहहरू सक्रिय छन् । यो समस्या एउटा जिल्लाको एउटा प्रदेशको वा एउटा देशको मात्रै रहेन । यो वैश्विक रूपमा फैलिएको छ । स्थान र ठाउँअनुसार यसको प्रकृति पनि फरक–फरक छ । नेपालमा बढीजसो तस्करहरूले प्रलोभनमा पारेर अन्य देशमा लाने गरेका छन् । नेपालबाट भारत जाने सामान्य जस्तै भइसकेको छ भने अन्य देशमा पनि त्यति नै मात्रामा तस्करी हुने गरेको छ । यसका लागि सरकारको तर्फबाट पनि कदमहरू चालिएका छन् भने गैरसरकारी संस्थाहरूबाट पनि कदमहरू चालिएका छन् । तर, यथेष्ट छैन । अहिले पनि मानव तस्करले विभिन्न प्रलोभन देखाएर नेपालको पूर्वी नाका झापाको काँकरभिट्टा र भद्रपुर नाकाबाट लाने गरेको खुल्दै आएको छ । केही समयअघि सोही नाका हुँदै भारतको अरुणाञ्चल प्रदेश हुँदै बर्मा पु¥याउने गरेको तथ्य सार्वजनिक भएको थियो । यसले पनि तस्करले विभिन्न तरिकाहरू अपनाएर मानव तस्करी गरिरहेका छन् भन्ने देखाउँछ ।

सबैभन्दा अहम् प्रश्न भनेको किन भइरहेको छ त यति बिघ्न मानव तस्करी ? यसका कारणहरू के के छन् ? यस्ता तमाम प्रश्नको उत्तर खोज्दा पहिलो उत्तर हो, बेरोजगारी । नेपालमा हुने आम समस्यामध्येको एउटा समस्या हो यो । अर्को रातारात धनी हुने, गलत काम गरेर धनी हुने प्रवृत्ति दोस्रो कारण बनिरहेको छ । तेस्रो कारण भनेको नेपालको कानूनको फितलो कार्यान्वयन । यीबाहेक पनि थुप्रै अन्य कारणहरू हुन सक्छन् । तर, यी मुख्य कारणहरूको निदानतर्फ हाम्रो सरकार जिम्मेवार भएको देखिँदैन । जब राज्यले नागरिकका लागि आधारभूत आवश्यकताहरू पूर्ति गरिदिन्छ, त्यसपश्चात् मात्र स्वभाविक हिसाबमा यस्ता क्रियाकलापहरू विस्तारै न्यून हुँदै जानेछन् । तर, यसका लागि सरकारले आम नागरिकलाई शिक्षा, रोजगारी, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उत्प्रेरणा नदिएसम्म यसको अन्त्य हुँदैन । मानव तस्करीको एउटा सामाजिक मनोवैज्ञानिक पाटो भनेको धनीले गरिबलाई दासको रूपमा बनाएर राख्ने संस्कारबाटै विकास भएको देखिन्छ । यो संस्कारको जड पत्ता नलगाएसम्म मानव तस्करी अन्त्य भएर जाँदैन । मानव तस्करीलाई हदैसम्मको कानूनी कारबाही हुने व्यवस्था नहुनुले पनि त्यसको फाइदा लुटिरहेको देखिन्छ । यसमा सरकार र सरकार सञ्चालकहरू, विधायक सचेत हुन आवश्यक छ ।

मानव तस्करीलाई अन्त्य गर्नका लागि हरेक नागरिकलाई साक्षर बनाउनु पहिलो शर्त हो । दोस्रो शर्त भनेको साक्षर भएका नागरिकलाई रोजगारको अवसर सिर्जना गरिनुपर्छ । शिक्षाअनुसारको रोजगारको अवसर जबसम्म सिर्जना गरिँदैन, तबसम्म यस्ता प्रवृत्तिहरू अन्त्य हुँदैनन् । यसमा सरकारी तहबाट सबैभन्दा बढी गम्भीर भएर अगाडि बढ्नुपर्छ भने गैरसरकारी संस्थाहरूले होस्टेमा हैंसे मात्रै गर्ने हो । सचेतना जगाउने हो । प्रविधिको ह्वात्तै विकासले बढेको मानव तस्करीको प्रवृत्तिलाई अन्त्य गर्नका लागि पनि सोही अनुसारको मानव जनशक्ति तयार गर्नु आवश्यक देखिन्छ । यसमा पहिलो दायित्व सरकारको बन्छ र सरकारमा रहने मन्त्रीहरू, सांसद्हरूले पनि कानून निर्माण गर्दा वा परिमार्जन गर्न एकदमै संवदेनशील भएर बनाउनुपर्ने देखिन्छ । यतातिर कहिल्यै सोचेअनुरूपको प्रगति भएको पाइँदैन । अर्कोतर्फ नागरिकहरू पनि आफै पनि सचेत हुन आवश्यक छ । सरकारले गर्ने दायित्व र कर्तव्यलाई सरकारले गर्छ तर, नागरिकको दायित्व र कर्तव्यलाई भुल्नु हुँदैन । राज्यले अधिकार दिइरहँदा त्यो अधिकारलाई ठीक ढङ्गले प्रयोग गर्न पनि जान्नुपर्छ । त्यसका लागि नागरिक सचेत हुनु पहिलो दायित्व हो । सरकारले भने कानून, शिक्षा र रोजगारमा गम्भीर बन्न आवश्यक छ ।