धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि आन्दोलन सुरु भएको छ । चिकित्सक, कर्मचारीहरूले लामो समयदेखि पदोन्नति हुने उपक्रम रोकिएको भन्दै आन्दोलित बनेका छन् । हरेक दिन प्रतिष्ठानका उपकुलपति कार्यालयअगाडि धर्ना दिँदै आएका छन् । यो पहिलो चरणको कार्यक्रमअन्तर्गत रहेको शिक्षक कल्याण समाजले जनाएको छ । यो चरण सेवा अवरुद्धसम्म पुग्ने अवस्था देखिएको छ । लोक सेवा आयोगले पदोन्नतिमाथि प्रश्न उठाएकै कारणले विगत पाँच–छ वर्षदेखि कसैको पनि पदोन्नति हुन सकेको छैन । यसले इमान्दार चिकित्सक तथा कर्मचारीको वृत्ति विकासमा बाधा पु¥याउँछ । बीपी प्रतिष्ठानमा चिकित्सकहरू त्यही वृत्ति विकास हुन्छ भन्ने कारण नै बसेको धेरै सुन्दै आएका छौँ । राम्रो तलबभत्ता हुँदा पनि चिकित्सकहरू इमान्दारीका साथ काम गर्दै आएका छन् । यसको सम्मान गर्नु प्रतिष्ठान प्रशासनको जिम्मेवारी हो । प्रतिष्ठानको आफ्नो ऐन तथा नियमावली छ । यो अर्ध स्वायत्त संस्था हो । यहाँ लोक सेवा आयोगले अवरुद्ध गर्दैमा केही हुने अवस्था होइन । किनकि आफ्नै ऐन र नियमावलीअनुसार चल्ने संस्थामा लोकसेवा आयोगको अवरुद्धका कारण समस्या भएको हो भन्ने लाग्दैन । तर, यसभित्र केही चलखेल अवश्य पनि भएको छ भन्ने बुझ्न कठिनाइ हुँदैन ।

प्रतिष्ठान प्रशासनले यस विषयमा गम्भीर भएर अध्ययन गर्न जरुरी छ । आखिर के भइरहेको छ ? किन यत्तिका वर्षसम्म पदोन्नति हुनबाट रोकियो । जहाँसम्म दिवङ्गत उपकुलपति प्राध्यापक डाक्टर राजकुमार (आरके) रौनियारकै पालादेखि पदोन्नति रोकिँदै आएको छ । एउटा सिनियर रेजिडेन्ट, असिष्टेन्ट प्रोफेसर हुँदै एसोसिएट प्रोफेसर, एडिसनल हुँदै प्रोफेसर भइसक्नुपर्ने थियो तर, त्यसो हुन सकेको छैन । यता कर्मचारीको अवस्था उस्तै छ । चिकित्सकहरूमा धैर्यताको बाँध फुटेकै कारणले आज आन्दोलनको अवस्थामा आइपुगेको छ । यो सायदै रोकिने छाँटकाँट देखिएको छैन । एउटा निश्चित समयसम्म चिकित्सक तथा कर्मचारीहरूले कुरेकै हुन् । यो स्थिति आउनुमा थुप्रै कारणहरू होलान् । त्यसका विषयमा अबको नेतृत्वले सोच्ने अवस्था आएको छ । उपकुलपतिहरूको परिवर्तनको खेल, भ्रष्टाचारको मुद्दा र फेरि कायममुकायम उपकुलपतिको नियुक्ति आदिले पनि यहाँको माहौललाई थोरै बिगारेकै हो । अब केही स्थायित्व भएको अवस्था छ । यस्तो अवस्थामा त्यहीँ कार्यरत प्राध्यापक डाक्टर प्रल्हाद कार्कीलाई कायममुकायम उपकुलपतिको जिम्मेवारी दिइएको छ । उनी स्वयम्ले पनि त्यहीँ काम गरेका हिसाबले पक्कै पनि यस विषयमा गम्भीर भएर मनन् गर्नेछन् । किनकि पद नबढ्दाको नैराश्यताबारे उनी राम्रैसँग जानकार हुनुपर्छ । यसकारण पनि अब पदोन्नति गर्न ढिला गर्नुहुँदैन । पदोन्नतिका फाइदाहरू एउटा मात्रै छैन, अनेकन छन् । एउटा चिकित्सक प्राध्यापक हुँदा त्यसअनुसार पिजीमा विद्यार्थीहरू भर्ना दर बढ्छ । त्यसले बीपीको आयस्रोतलाई नै बढाउँछ । प्राध्यापकको आधारमा कोटा निर्धारण हुनुले प्रतिष्ठानलाई फाइदै पुग्छ । यसकारण पनि अब ढिला नगरीकन पदोन्नति एक मात्रै विकल्प हुनसक्छ ।

एउटा इमान्दार चिकित्सकका लागि पदोन्नतिले ठूलो अर्थ राख्छ । पदोन्नति भनेको सामान्य प्रक्रिया मात्रै हैन, यसले उसमा काम गर्ने इच्छाशक्ति बढ्छ र हिजो जुन रूपमा काम हुँदै आएको थियो त्यसको रफ्तार बढ्छ । अध्ययन अनुसन्धानको पाटोमा थप प्रगतिहरू हुन्छन् । त्यो अध्ययन अनुसन्धान प्रतिष्ठानको हितमा मात्रै काम हुँदैन । त्यसले राज्यलाई नै फाइदा पु¥याउँछ । पदोन्नति सबैको हितमा छ न कि सम्बन्धित चिकित्सकको । एउटा आयतनबाट हेर्दाखेरि सम्बन्धित चिकित्सकलाई मात्रै फाइदा पुगेको छ कि भन्ने लाग्न सक्छ तर, यसले सबैभन्दा ठूलो पलायनलाई रोक्छ । आज प्रतिष्ठानमा दिनानुदिन राम्रा चिकित्सकहरू पलायन हुने अवस्थामा पुगेको छ, त्यसको कारणमध्ये एक पदोन्नति रोकिनु पनि हो । पदोन्नतिसँग तलबभत्ताका कुराहरू पनि जोडिन्छन् । यसकारण अहिलेको पदाधिकारीहरूले आन्दोलितको मागलाई सम्बोधन गर्न ढिलाइ गर्नुहुँदैन । ऐन, कानून र नियमअनुसार अगाडि बढ्दा कुनै निकाय पनि बाधक हुँदैन । तर, प्रक्रिया र विधि मिच्नु हुँदैन । प्रक्रिया र विधि मिचिँदा कानून आकर्षित हुने हो । त्यसले प्रतिष्ठान प्रशासनलाई नै थप दबाव सिर्जना गर्दछ । यसकारण पनि आन्दोलित चिकित्सकको माग चाँडोभन्दा चाँडो सुनुवाइ गर्नु हितकर हुन्छ । अन्यथा एउटा कालखण्डमा त्यसको घाटा प्रतिष्ठानले मात्रै बेहोर्दैन । धरानेले र कोशी प्रदेशवासीले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ । यसका लागि धरानका नागरिक समाज, राजनीतिक दलहरू र धरानको नेतृत्वले पनि बेलैमा चासो देखाउन जरुरी छ ।