पछिल्लो समय सार्वजनिक रूपमा गोरु काटेर भोज गरिएको र मन्दिर अगाडि चर्च बनाइएको विषयलाई लिएर धरान देशव्यापी रूपमा चर्चामा छ । धार्मिक र जातीय समवेदना जोडिएका यी विषयका कारण केही दिन धरान तनावको स्थितिमा पुग्यो । शदियौंंदेखि मिलेर बसेका विभिन्न समुदायबीचको सामाजिक सद्भाव खल्बलिने अवस्था आएपछि धरानका पूर्वमेयर, उपमेयरको पहलले अपिल जारी गरे र सर्वदलीय छलफल चलाए । उनीहरूको यो प्रयासले सामाजिक सद्भाव बिथोलिन पाएन । धरानमा उत्पन्न समस्याको समाधान गर्न धरानेहरू आफै सक्षम छन् भन्ने उनीहरूको प्रयासले प्रमाणित गरेको छ । सामाजिक सद्भाव जोगाउने कार्यमा भूमिका खेल्ने नेतृत्व वर्ग धन्यवादका पात्र बनेका छन् धरानवासीका नजरमा । नेतृत्वको पहिचान हुने यस्तै समस्याका बेला हो ।

खासमा धरानभित्र भएको यस्तो समस्या देखापर्दा स्थानीय सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने हो । सबै पक्षसँग छलफल गरेर समस्याको निराकरण गर्नुपर्ने स्थानीय सरकारले आवश्यकताअनुसार भूमिका खेल्न सकेन । स्थानीय सरकारको वर्तमान नेतृत्वले पर्याप्त भूमिका खेल्न नसके पनि पूर्व नगरप्रमुख र उपप्रमुखले जुन भूमिका खेले, त्यो प्रशंसनीय छ । उनीहरूले यस्तो समन्वय गर्न नसकेको भए धरानमा धार्मिक र जातीय सद्भाव बिग्रिने वातावरण निर्माण भइरहेको थियो । एउटा समुदायले अर्को समुदायलाई गालीगलौज गर्ने र आक्रमणको धम्की दिने क्रम उग्ररूपमा बढ्दै गएको थियो । सम्भावित अनिष्टलाई रोक्न पूर्व नगरप्रमुख, उपप्रमुखले अपिल मात्र जारी गरेनन्, सर्वपक्षीय छलफल र सद्भाव ¥यालीसमेत आयोजना गरे । यसले धरानमा सद्भाव भड्किन नदिन दबाव सिर्जना ग¥यो । धरानका सबै राजनीतिक दलका प्रतिनिधिहरूले सद्भाव भड्किन नदिनका लागि भूमिका खेले । त्यसपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि धरानको सम्भावित दुर्घटना टर्न सफल भयो । धरानका नेतृत्व वर्गले यस्तो भूमिका खेल्न नसकेको भए दुर्घटनाको सम्भावना बढेको थियो । धार्मिक र जातीय विषयमा लागेको आगो देशभर फैलिन समय लाग्दैन । यसले पनि देशव्यापीरूपमा समुदायहरूबीच वैमनश्यता बढाउने निश्चित थियो । त्यस्तो हुन नदिने पूर्व नगरप्रमुख, उपप्रमुखले जसरी भूमिका खेले, त्यसले धरान शान्ति चाहन्छ भन्ने सन्देश दिएको छ ।

तत्कालका लागि त धरानको सामाजिक सद्भाव बिथोलिन पाएन । तर, यो विवादको स्थायी समाधान अझै हुन सकेका देखिँंदैन । सामाजिक सञ्जालमा अझै पनि धार्मिक र जातीय समुदायलाई असर पर्ने अभिव्यक्ति आइरहेका छन् । यसबाट के बुझ्न सकिन्छ भने कतिपय अतिवादी सोच भएकाहरू अझै पनि सामाजिक सद्भाव बिथोल्न चाहिरहेका छन् । जुनसुकै धर्म, जाति वा समुदायका भए पनि अतिवाद कसैको हितमा छैन । अतिवादले मिलेर बसेको समुदायलाई छिन्नभिन्न बनाउँछ । सबै समुदायले अतिवादबाट सतर्क रहनु आवश्यक छ । कुनै कुरामा समस्या उत्पन्न भए, त्यसको समाधान पनि अवश्य हुन्छ । समस्याको समाधान लडाइँ, झगडाले कहिल्यै दिंँदैन । बरू झन् समस्या फैलाउँछ । समस्याको निराकरणका लागि त बहस, छलफल र तर्क वितर्क गरिनु आवश्यक छ । तथ्यमा आधारित रहेर गरेका छलफल, बहसले मात्र समस्याको समाधान दिन सक्छ । धरानको नेतृत्व गर्नेहरूले र कुनै समुदायको नेतृत्व गर्नेहरूले पनि बेलैमा सचेत हुनुपर्ने आवश्यकता छ । सामाजिक सद्भाव कायम गर्न सबै पक्ष लाग्नु आवश्यक देखिन्छ ।