बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदो छ । सामान्य उपभोक्तालाई दैनिकी चलाउन मुस्किल भइरहेको छ । अनियन्त्रित रूपमा मूल्य वृद्धि भइरहे पनि नियमन गर्नुपर्ने निकायहरू मौन छन् । अचम्म त बजारको अनुगमन गरेर मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने जिम्मेवारी पाएकाहरू नै चुपचाप छन् । जिम्मेवार निकायले नै यसरी बेवास्ता गर्नुले कालोबजारी गर्नेहरूलाई प्रोत्साहन भइरहेको छ । अहिले बजारमा टमाटरको भाउ एकाएक बढेको छ । कृषिउपज बजार स्थल धरानमा प्रतिकिलो ९५ रुपैयाँदेखि १ सय १० रुपैयाँसम्म किनबेच भइरहेको टमाटर बजारमा १ सय ६० देखि २ सय रुपैयाँसम्ममा किन्न उपभोक्ताहरू बाध्य छन् । मनलाग्दी मूल्यवृद्धि गर्नु कालोबजारी हो । यसरी कालोबजारी गर्नु कानून विपरीत भएकाले कारबाही गरिनुपर्छ । तर, नियमन गर्नेहरू देखेको नदेख्यै गर्नु दुःखद् हो ।

बजारको नियमन गर्ने अधिकार स्थानीय सरकारलाई छ । यही अधिकार प्रयोग गरेर धरान उपमहानगरपालिकाले स्वास्थ्यसँग सम्बन्धित मेडिकल तथा ल्यावहरूमा अनुगमन गर्ने क्रममा विवादसमेत उत्पन्न भएको थियो । धरान उपमहानगरपालिकाले दैनिक उपभोग्य वस्तुमा पर्ने तरकारी बजारमा राम्रोसँग अनुगमन गर्नु आवश्यक छ । बजार अनुगमनको काम जिल्ला प्रशासन कार्यालयले पनि गर्दै आएको छ । तर, अहिले बजारमा अत्यधिक रूपमा बढेको टमाटरको मूल्यबारे प्रशासनले पनि बेवास्ता गरेको पाइन्छ । खासगरी अहिले भारतीय बजारमा टमाटरको मूल्य अत्यधिक वृद्धि भएपछि त्यसको असर नेपालमा पनि परेको देखिएको छ । नेपाली बजारमा टमाटर भए पनि भारतमा मूल्य बढी पाइने भएकाले उतै निर्यात भइरहेको छ । टमाटर व्यापारीहरूले महँगो दाम पाएपछि भारत पठाइरहेका छन् । व्यापारीहरूले नेपालमा पनि टमाटर अभाव देखाएर अत्यधिक रूपमा मूल्य वृद्धि गरिरहेका छन् । यसबाट आम उपभोक्ताको भान्सा महँगो भइरहेको छ ।

केही महिनाअघि नेपालमा किसानहरूले टमाटर बिक्री नभएको भन्दै सडकमा फालेर विरोध जनाएका थिए । सिजनका बेला प्रशस्त उत्पादन हुने टमाटर बिक्री नभएर किसानहरू रोइकराइ गर्छन् । नेपालमा प्रशस्त टमाटर फल्ने बेलामा भारतबाट सस्तो दाममा नेपाली बजारमा टमाटर आइपुग्छ । भारतीय किसानले कम लागतमा ठूलो परिमाणमा फलाएका टमाटरसँग थोरै थोरै खेती गर्ने नेपाली किसानले बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् । त्यसपछि बर्सेनिजस्तो ट्रकका ट्रक टमाटर सडकमा फालेर विरोध जनाउने गरिन्छ । कति किसानले त भारतीय व्यापारीसँग प्रतिस्पर्धा गर्न नसकेर कृषि पेशा नै छाडेका छन् । किसानहरू यसरी पलायन भइरहँदा हाम्रो सरकार मुकदर्शक बन्छ । किसानले प्रशस्त उत्पादन गरेको टमाटर सुकाएर राख्न वा जामलगायत अन्य कुराहरू बनाएर खेर जान नदिनेतर्फ सरकारले ध्यान पु¥याउन सकेको छैन । अनि अहिले बजारमा टमाटर अभाव हुँदा उपभोक्ताले महँगो मूल्य तिर्न बाध्य हुनुपरेको बेला पनि सरकार मुकदर्शक बनेरै रमिता हेरिरहेको छ । सरकारको यस्तो रवैयाले न किसानलाई फाइदा पुगेको छ, न त उपभोक्तालाई । फाइदा त खाली भारतीय व्यापारी र बिचौलियाहरूलाई भइरहेको छ । अहिले देशमा तीन तहका सरकार छन्, तिनले चाहने हो भने बिचौलियाहरूको यस्तो राज अन्त्य गर्न सक्छन् तर, किन बिचौलियाहरूको बिगबिगी झनै बढिरहेको छ ? बुझिनसक्नु छ । जुनसुकै क्षेत्रमा बिचौलियाहरूको रजगज चलेकाले सरकारै बिचौलियाले सञ्चालन गरेको आरोप पनि बेलाबखत नलाग्ने होइन । यस्तो आरोपबाट मुक्त हुन पनि सरकारले बजार नियन्त्रणमा राख्न सक्नुपर्छ । त्यसका लागि नियमित अनुगमन गर्ने, कानून विपरीत गर्नेलाई कुनै दबाव र प्रभाव विना कारबाही गर्ने हिम्मत गर्नु आवश्यक छ ।