धरानमा अहिले खानेपानी व्यवस्थापन बोर्डले पानी वितरण गरिरहेको छ । बोर्डले नगरवासीलाई वितरण गरिरहेको पानी पिउन अयोग्य पाइएको छ । नगरवासीको घरमा आउने यो पानीमा दिसामा पाइने जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । विज्ञहरूको भनाइमा कोलिफर्मले झाडापखाला, जन्डिसदेखि हैजासम्म निम्त्याउन सक्छ । धरानका सात ठाउँको पानी सरकारी प्रयोगशालामा परीक्षण गरेको रिपोर्टसहित राष्ट्रिय स्वतन्त्र पार्टीले धरानका नगरप्रमुख हर्कराज राईलाई ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण गराउने क्रममा नगरप्रमुख राईले पानीमा समस्या भएको स्वीकार गर्दै शुद्धीकरणका लागि पहल गर्ने बताएका थिए । उनले बोलेको कुरा सामाजिक सञ्जाल, विभिन्न अनलाइन मिडिया र युट्युब च्यानलहरूमा पनि भेटिन्छ । ध्यानाकर्षण गराउने क्रममा आफैले स्वीकार गरेको कुरा केही घण्टापछि उनले अस्वीकार गर्दै सामाजिक सञ्जालमा जसले पायो त्यसले गरेको परीक्षण विश्वास नगर्ने आशयको अभिव्यक्ति दिए ।

खासमा पानीजस्तो संवेदनशील कुरा खानेपानी बोर्ड आफैले नियमितरूपमा परीक्षण गरेर मात्र वितरण गर्नुपर्ने हो । पानीमा समस्या देखिए शुद्धीकरण गरेर मात्र वितरण गर्नुपर्ने हो । बोर्डले नगरेको अवस्थामा स्थानीय सरकारको हैसियतले उपमहानगरपालिकाले परीक्षण गरेर शुद्धीकरणका लागि दबाव दिनुपर्ने हो । अहिले उपमहानगरको प्रमुख राई नै बोर्डको पनि नेतृत्वमा छन् । उनी आफैले पानीजस्तो संवेदनशील विषयलाई हल्का रूपमा लिएर ‘पानीमा कोलिफर्म हुनु ठूलो कुरा होइन, भइहाल्छ नि’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन्, यसले धरानवासीलाई विभिन्न रोगको शिकार बनाउने निश्चित छ । दूषित पानीलाई शुद्धीकरण गर्नुभन्दा नगरप्रमुख आफैले यो सामान्य हो, पानी परीक्षण गरेर राजनीति गर्न खोजियो भन्नु मूर्खताबाहेक केही होइन । नगरप्रमुखले नै यस्तो अभिव्यक्ति दिएपछि उनका समर्थकहरूले आँखा चिम्लिएर होमा हो मिलाइरहेका छन् । सामाजिक सञ्जालमा धेरैले ‘पानीमा कोलिफर्म भइहाल्छ नि, तताएर पिउनु पर्छ’ भनेर टिप्पणी गरिरहेका छन् । उनीहरूलाई बोर्डको जिम्मेवारी थाहा नभएको पनि हुनसक्छ । धरानबाट खानेपानी संस्थान हटाएर खानेपानी बोर्ड ल्याउँदा नगरवासीलाई शुद्ध पानी खुवाउने प्रतिबद्धता गरिएको थियो । नगरवासीको थाप्लोमा ऋण बोकाएर ल्याइएको परियोजनाको पानी शुद्ध हुनुपर्छ भन्ने सामान्य नागरिकले पनि बुझ्ने कुरा हो । त्यसैले खानेपानी बोर्डले नागरिकलाई शुद्धीकरण गरेको पानी खुवाउनु पर्छ, कोलिफर्मयुक्त खुवाउन मिल्दैन । किनभने बोर्डले आम नागरिकबाट युनिटको हिसाबले पानीको पैसा असुलिरहेको छ । यस्तो अवस्थामा पहिला पनि यस्तै थियो, अहिले पनि यस्तै भनेर उम्किने वा माफी दिने अवस्था होइन ।

ल्यावको रिपोर्टअनुसार बोरिङ गरेर निकालिएको पानीमा कोलिफर्म देखिएको छैन । तर, त्यो पानी मिसाइएको ट्याङ्कीमै कोका खोलाबाट नगरप्रमुख राईको नेतृत्वमा ल्याइएको पानी पनि मिसाइएको छ । कोकाको पानीमा ५ युनिट कोलिफर्म छ । एउटै ट्याङ्कीमा मिसाएपछि बोरिङको पानी पनि अशुद्ध हुने नै भयो । नागरिकलाई अर्बौं ऋण बोकाएर ल्याएको पानी, नागरिकबाट युनिटका हिसाबले पैसा असुलिएको पानी शुद्ध हुनुपर्छ भन्न पनि नपाउनु ? जसले जे तर्क गरे पनि बोर्डले वितरण गर्ने पानी शुद्धीकरण गरिएको हुनुपर्छ । यस्तै हो भनेर कुतर्क गर्ने छुट कसैलाई छैन । नगरप्रमुख राईले पनि विवादमा अल्झिनु र अनेक स्टन्टबाजी गर्नुभन्दा पानीलाई शुद्धीकरण गरेर नागरिकको घरमा पठाउने पहल गर्नु उचित हुन्छ । खोलाको पानी यस्तै हो, शुद्ध छ भनेर तर्क गर्नको कुनै तुक छैन । सरकारी प्रयोगशालाले दूषित छ भनेर दिएको रिपोर्ट आधिकारिक हो । त्यसैले नागरिकको शुद्ध पानी खान पाउने अधिकारको सम्मान गर्दै पानी शुद्धीकरण गरेर मात्र वितरण गरियोस् । नागरिकको स्वास्थ्यमा खेलवाड नगर ।