धरानमा डेङ्गु महामारी दैनिक रूपमा फैलिने क्रममा छ । हजारौंको सङ्ख्यामा डेङ्गु पीडितहरू घरघरमा छन् । अस्पतालहरूमा डेङ्गुका बिरामी भरिभराउ छन् । यस्तो अवस्थामा पनि धरान उपमहानगरपालिकासँग स्पष्ट तथ्याङ्क छैन । डेङ्गु सङ्क्रमण फैलिन थालेको चार महिना बितिसक्दा पनि हालसम्म कति जना डेङ्गु सङ्क्रमित भए भन्ने स्पष्ट तथ्याङ्क नहुनुले धरान उपमहानगरपालिकाले यो समस्यालाई कति गम्भीरताका साथ लिएको छ भन्ने स्पष्ट हुन्छ । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले हालसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरिरहेको परीक्षणको मात्र तथ्याङ्क दिने गरेको छ । तर, त्यसबाहेक ठूलो सङ्ख्यामा निजी अस्पताल, क्लिनिकहरूमा पनि परीक्षण भइरहेको छ । त्यसको तथ्याङ्क उपमहानगरपालिकासँग छैन ।

धरान उपमहानगरपालिकाको मुख्य प्रवेशद्वारको बोर्डमा ‘स्थानीय सरकार’  लेखिएको छ । देशमा तीन तहका सरकार रहने संविधानले नै व्यवस्था गरेकाले स्थानीय तहलाई स्थानीय सरकार पनि भन्ने गरिएको छ । तर, सरकार हुन रहर गरेर मात्र हुँदैन, त्यसका लागि सरकारका दायित्वहरू हुन्छन् भन्ने बुझ्न जरुरी छ । चार महिना अघिबाट फैलिएको डेङ्गु नियन्त्रणका लागि प्रभावकारी काम नगरेको आरोप खेपिरहेको उपमहानगरपालिकाले सामान्य रूपमा सङ्कलन गर्न सक्ने तथ्याङ्कसमेत नराख्नु लापरबाही हो । त्यसैले पनि धरानका बुद्धिजीवी र आम नागरिकले उपमहानगरको नेतृत्वको चर्को आलोचना गरिरहेका छन् । मङ्गलबार उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अन्तरक्रियामा पनि धेरैले नगरप्रमुख हर्कराज राई र उपप्रमुख अइन्द्रविक्रम वेघाको कार्यशैलीको चर्को आलोचना गरे । डेङ्गु महामारीमा धरानका ८ जना नागरिकले ज्यान गुमाउँदासमेत संवेदनशील बन्न नसक्नु नगर नेतृत्वको गैरजिम्मेवारी हो । चौतर्फी आलोचनापछि उपमहानगरले बुधबार धरानका विद्यालय बिदा दिएर शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि परिचालन गरेको छ । विभिन्न टोलविकास संस्थालाई परिचालन गरेको छ । यो काम सकारात्मक हो तर, अहिलेभन्दा दुई महिनाअघि नै यस्तो काम गरिदिएको भए आज डेङ्गुले यसरी महामारीको रूप लिने थिएन ।

अहिले घरघरमा डेङ्गुका सङ्क्रमितहरू बढिरहेका बेला ढिलै भए पनि उपमहानगरपालिकाको ध्यानाकर्षण भएको छ । नगरप्रमुख र उपप्रमुख पनि नियन्त्रणका लागि हिँडिरहेका छन् । यस्तो गम्भीर विषयमा स्टन्टबाजी गर्नुभन्दा गम्भीररूपमै काममा लाग्नु उपयुक्त हुन्छ । डेङ्गु तीव्र गतिमा फैलिरहेकाले स्थानीय सरकारले मात्र नियन्त्रण गर्न सक्ने अवस्था देखिँंदैन । त्यसैले धरानका आम नागरिक पनि यसमा सहभागी हुनु जरुरी छ । खासगरी घरघरबाट अभियानको थालनी हुनु आवश्यक छ । प्रत्येक घरपरिवारले आ–आफ्नो घर र वरपर डेङ््गुका लार्भा नष्ट गर्ने तथा सरसफाइ गर्ने हो भने डेङ्गु नियन्त्रण गर्न धेरै समय लाग्दैन । त्यसैले अब कसैलाई दोषारोपण गरेर समय फाल्नु र अरूको बाटो हेर्नुभन्दा नियन्त्रणमा आफै लाग्नुको विकल्प छैन ।