धरान फुटबल क्लबका अध्यक्ष किशोर राई कोशी प्रदेश फुटबल संघको नेतृत्वका लागि आंकाक्षी छन् । धरानबाट लामो समय अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय तहमा काम गरेका राई एन्फाको मानार्थ उपाध्यक्ष समेत हुन् ।

गणेश थापा एन्फाको नेतृत्वमा रहँदा २ कार्यकाल उपाध्यक्षको रुपमा काम गरेका राई प्रदेश फुटबल संघ तर्दथ समितिको अध्यक्ष समेत हुन् । 

हाल उनी प्रदेशको निर्वाचित अध्यक्षको रुपमा १ कार्यकाल काम गर्ने आकांक्षाका साथ नेतृत्व लिन चाहन्छन् । राई देशकै प्रतिष्ठित बुढासुब्बा गोल्डकपको संस्थापक हुन् । उनकै नेतृत्वमा धरान फुटबल क्लबले २०५५ सालमा स्थापित बुढासुब्बा गोल्डकपले २३ औ संस्करण सम्पन्न गरिसकेको छ । २०५५ सालबाट लगातार धरान फुटबल क्लबमा अध्यक्षको रुपमा रहँदै आएका राईलाई एन्फा वर्तमान अध्यक्ष पंकज विक्रम नेम्वाङको पक्षधर मानिन्छ । 

लामो समय नेपाली फुटबलमा योगदान दिएका राई नेम्वाङ नेतृत्वमा मानार्थ उपाध्यक्ष हुन् भने कर्माछिरिङ शेर्पाको नेतृत्वमा समेत मानार्थ उपाध्यक्ष थिए । 

धरानका नगर प्रमुखका रुपमा २०७४ र २०७९ समेत होमिएका थिए । २०७४ मा एमालेका तारा सुब्बा र २०७९ मा हर्कराज राईसँग पराजित भएका थिए । 

सहमतिको प्रयास खोजिरहेका राई निर्वाचनको अवस्था लोकतान्त्रिक प्रक्रियामा जान आत्तिन नहुने बताउँछन् । प्रदेश निर्वाचनमा १४ मध्ये अखिल नेपाल फुटबल संघमा आवद्ध ११ जिल्लाले मतदान गर्नेछन् ।

जेठ १४ गते (भोलि) हुने निर्वाचनमा आकांक्षी राईले कोशी प्रदेश फुटबल संघको नेतृत्वमा उम्मेदवारी किन ? भन्ने प्रश्नको उत्तर संक्षेपमा  दिएका छन् । 


– ३ वर्षको तदर्थ समितिमा रहँदा सुरुवात गरेका कामलाई निष्कर्षमा पु¥याउन, अघिल्लो कार्यकाललाई नतिजामुखी बनाउन,

– कार्यकालमा फुटबलको जग स्थापित गरेर आगामी पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न

– तराईका जिल्लामा पुर्वाधार निर्माण गर्न,  पहाडी जिल्लालाई प्राथमिकता दिन,

– फिफा एएफसी र एन्फा केन्द्रबाट आउने पूर्वाधारको बजेट पहाडी जिल्लामा केन्द्रित गर्न, सुविधा सम्पन्न पूर्वाधार निर्माण गर्न 

– एक गाउँपालिका मिनी रंगशाला सुरु गर्न, एक जिल्ला एक रंगशाला निर्माण गर्न, 

– जिल्लामा हुने प्रतियोगिता खेलाडी र अफिसियललाई रोजगारमुखी बनाउन,

–  जिल्ला लिगलाई स्थायित्व दिन, स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गर्दै दीगो आत्मनिर्भर लिग गराउन 

– प्याब्सन, एनप्याब्सन हिसानलगायत शैक्षिक संस्थासँग मिलेर जोइन्ट भेन्चरमा प्रतियोगिता गर्न 

– प्रदेश र जिल्लाको आफ्नै मौलिक विधान बनाउन, 

– फुटबललाई व्यवसायिकता र रोजगारमुखी बनाउन, 

– खेल, खेलाडी अफिसियलसँग आर्थिक सम्झौता गरी व्यवसायीकरण गर्न, फुटबलमा लागेकोहरुको जीवनयापन गर्ने र प्राविधिकलाई सीपमुखी रोजगार सुनिश्चित गर्न 

– प्रदेशमा आयोजना हुने सम्पूर्ण प्रतियोगितालाई मुनाफामुखी बनाउन 

– प्रतियोगिताको क्यालेन्डर निर्माण गरी स्वीकृति दिन र आवश्यक बजेट उपलब्धता सुनिश्चित गर्न ।