धरान । अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका अवसरमा रोट्रयाक्ट क्लब अफ धरान घोपाले विद्यार्थी–केन्द्रित स्वास्थ्य तथा चेतनामूलक परियोजना ‘३एच कार्यशाला स् हेल्थ, हाइजिन एण्ड हेल्प’ सफलतापूर्वक सम्पन्न गरेको छ।
क्लबले एसओएस हर्मन ग्माइनर सेकन्डरी स्कूल, इटहरीका विद्यार्थीहरूलाई स्वास्थ्य, स्वच्छता तथा प्राथमिक उपचारसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रम अन्तर्गत कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई दन्त स्वच्छता तथा सही ब्रसिङ विधिबारे विस्तृत जानकारी दिइयो। त्यस्तै कक्षा ६ देखि १० सम्मका बालिकाहरूलाई मासिक धर्म स्वच्छता तथा सुरक्षित अभ्याससम्बन्धी शैक्षिक अभिमुखीकरण गरियो।
यसका अतिरिक्त कक्षा ६ देखि १० का विद्यार्थीहरूलाई प्राथमिक उपचारका आधारभूत सीप, सावधानी तथा आकस्मिक अवस्थामा अपनाउनुपर्ने तत्कालीन कदमहरूबारे व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रम सफल बनाउन रोट्रयाक्ट क्लबका दर्जनौँ स्वयंसेवक सदस्यहरू सक्रिय रूपमा खटिएका थिए। उनीहरूले समूहगत सिकाइ, प्रत्यक्ष प्रदर्शन, कक्षा समन्वय र सामग्री व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै कार्यशालालाई अझ प्रभावकारी बनाएका थिए।
कार्यक्रममा संयुक्त सचिव विवश पौडेल र कम्युनिटी सर्भिस निर्देशक अनुष्का खड्काको उल्लेखनीय उपस्थिति रहेको थियो भने सम्पूर्ण योजनारचना प्रेसिडेन्ट–इलेक्ट अञ्जली सुवेदीद्वारा गरिएको थियो।
क्लवका जनसम्पर्क अधिकृत सरु राय क्षेत्रीका अनुसार सो परियोजनाबाट करिब ७०० विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन्। रोट्रयाक्ट क्लब अफ धरान घोपाले भविष्यमा पनि समुदाय–मुखी यस्ता स्वास्थ्य तथा शिक्षामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

































