भद्रपुर । लागूऔषध कारोबारीका लागि पूर्वी नाका काँकडभिट्टा र भद्रपुर क्षेत्र अखडा बनिरहेको छ । कारोबारीको ट्रान्जिट पोइन्ट बनेका यी दुई नाकाबाट देशका विभिन्न जिल्लामा प्रतिबन्धित लागूऔषध पुग्ने गरेको छ ।

लागूऔषध कारोबारी र प्रयोगकर्ताका लागि झापाका खुला सीमा नाकाहरू अन्तर्राष्ट्रिय अखडा बनिरहेको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ । प्रहरीले नाकामा दैनिक लागूऔषध कारोबारी र सेवन गर्नेहरूलाई पक्रिए पनि यसको ओसार–पसार घटेको छैन । झन् झन् बढिरहेको तथ्याङ्कले देखाएको छ । नेपाल र भारतको सीमा नाका पानीट्याङ्की, नक्सलबाडी र सिलीगुडीबाट दैनिक लागूऔषध काँकडभिट्टा, भद्रपुरका नाका हुँदै नेपालका पहाडी तथा मुख्य सहरहरूमा पु¥याउने गरिएको प्रहरीले पक्राउ गरेको तथ्यले पुष्टि गरेको छ । विभिन्न माध्यमबाट नेपाल भित्रिने लागूऔषध कति मात्रामा जिल्लाभित्र र बाहिर जाने गरेको भन्ने तथ्याङ्क प्रहरीसँग नभएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

झापामा लागूऔषधको प्रयोग, सेवन, कारोबारले बिक्री वितरण गर्नेलाई पक्राउ गरिरहेको उनले बताए । झापामा भित्रिएका लागूऔषध नेपालका पहाडी क्षेत्र र मुख्य सहरहरूमा पुग्ने उनको भनाइ छ । उनीहरूले लागूऔषधहरू शरीरका विभिन्न अङ्गमा, साइकल, स्कुटी, मोटरसाइकल, कार, जीप, तरकारी, फलफूल, साइकलको टायरलगायतका अन्य सामानमा लुकाएर ल्याउने गरेको उनले बताए । प्रहरी स्रोतका अनुसार भारतमा स्थानीयलाई बेच्दैनन् भन्ने कुरा छ । भारतमा व्यक्तिसहित ठूलो मात्रामा लागूऔषध बरामद भयो भने पनि कानूनी कारबाही नभएर धरौटीमा छोड्ने गरेको बुझेको प्रहरी स्रोत बताउँछ ।

केही महिनाअघि भद्रपुर नाकाबाट लुकाएर काठमाडौँ पु¥याएको लागूऔषधका दुईजना कारोबारीलाई प्रहरीले खुट्टामा गोली हानेर समातेको थियो । त्यस्तै झापाको सुरुङ्गा र दक्षिणी भेगको टाघनडुब्बालगायतका क्षेत्रमा पनि मोटरसाइकल, साइकलमा लुकाएर ल्याएको ब्राउनसुगरलगायतका लागूऔषधका कारोबारीलाई गोली हानेर प्रहरीले पक्रेको थियो । सीमामा निगरानी, पक्राउ गरेर कारबाही, मुद्दा चलाउने, स्कुल र कलेजका विद्यार्थी र समुदायलाई लागूऔषधसम्बन्धी सचेतना दिने काम पनि गरिरहेको प्रहरीको भनाइ छ ।

भारतका प्रहरीसँगको क्रस बोर्डर मिटिङ, जिल्ला सुरक्षा समितिको बैठक, सरोकारवालाहरूसँगको छलफल, प्रहरीहरूबीचको छलफलमा उठेका कुराहरूलाई सम्बन्धित निकाय, कोशी प्रदेश, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयमा रिपोर्टिङ गर्ने गरिएको प्रहरीको भनाइ छ । खुला सीमाका कारण केही समस्याहरू भए पनि नाकामा निगरानी कडाइ गरिएको डिएसपी खड्का बताउँछन् । प्रतिबन्धित लागूऔषध ल्याउने जो कोही (नेपाली वा भारतीय) लाई पक्राउ गरेर अदालतबाट मुद्दा चलाउने गरिएको उनले जानकारी दिए । नियन्त्रणका लागि बेला–बेला डग स्न्यापिङ गरिँदै आइरहेको प्रहरीले जनाएको छ । केही दिनअघि मेचीनगरमा गरिएको डग स्न्यापिङमा १२ जनालाई नियन्त्रणमा लिइएको सार्वजनिक गरिसकेको छ । 

कार्यालयको पछिल्लो २ वर्षको तथ्याङ्क अनुसार १ सय ४४ दशमलव २ किलोमिटर खुला सिमानाका कारण दैनिक २–३ जना लागूऔषध ओसार–प्रसारमा संलग्न कारोबारी र प्रयोगकर्ता पक्राउ परिरहेको उल्लेख छ । दुवै देशका पुरुषभन्दा बढी महिला रहेको उल्लेख छ । प्रहरीले आ.व. २०८०÷०८१ मा ४ सय ६२ जना लागूऔषधमा संलग्नलाई पक्राउ गरेको थियो । जसमा ४ सय ६ जना स्वदेशी र २३ जना भारतीय पुरुष, २९ जना स्वदेशी र ४ जना भारतीय महिला थिए । त्यसमध्ये २ सय ९७ जनालाई मुद्दा चलाइएको थियो ।

उनीहरूको साथबाट २ केजी १ सय ७४ ग्राम १ सय ९५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । त्यस्तै उनीहरूबाट २८ केजी ७ सय ग्राम गाँजा पनि बरामद गरेको प्रहरीले बताएको छ । अन्य लागूऔषधका रूपमा प्रयोग हुने ट्रामाडोल, कोलिवन, नाइट्राभेट, नाइट्राजेपाम, फेनारगन, एन्टिकफ, ओनेरेक्सलगायतका सिरप र ट्याब्लेट समेत बरामद गरिएको छ । यस्तै आ.व. २०८१÷०८२ मा ५ सय ५९ जना लागूऔषधमा संलग्नलाई पक्राउ गरेको थियो । जसमा ५ सय ४ जना स्वदेशी र २७ जना भारतीय पुरुष, २७ जना स्वदेशी र १ जना भारतीय महिला थिए । त्यसमध्ये ३ सय ४६ जनालाई मुद्दा चलाइएको प्रहरीको भनाइ छ । उनीहरूको साथबाट २ केजी ८ सय ८२ ग्राम ४ सय ४७ मिलिग्राम ब्राउनसुगर, १ ग्राम ५ सय ६० मिलिग्राम चरेस पनि बरामद गरेको थियो । त्यस्तै उनीहरूबाट एक हजार ६ सय ५१ केजी ७२ ग्राम २ सय ७० मिलिग्राम गाँजा पनि बरामद गरेको प्रहरीले बताएको छ । लागूऔषधका रूपमा प्रयोग हुने विभिन्न नामका ट्याब्लेटसमेत बरामद गरिएको कार्यालयले जनाएको छ ।

यसैगरी चालु आ.व. २०८२÷०८३ को साउनदेखि कात्तिक मसान्तसम्म ७ जना महिला, ५ जना भारतीय पुरुष र ९५ स्वदेशी पुरुष गरी १ सय ७ जना लागूऔषधमा पक्राउ परेको तथ्याङ्कमा उल्लेख छ । उनीहरूको साथबाट १ हजार १६ ग्राम २ सय ९२ मिलिग्राम ब्राउनसुगर र ४ केजी २ सय ४९ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै उनीहरूको साथबाट विभिन्न नामका औषधिहरू पनि बरामद गरेको छ । त्यसैगरी उनीहरूबाट ४ वटा मोटरसाइकल समेत बरामद गरिएको उल्लेख छ ।

घरायसी कारण, साथीभाइको सङ्गत, करकाप, मानसिक तनाव आदि कारणले युवायुवतीहरू यसमा लागेको घटनाले देखाएको प्रहरीको भनाइ छ । उनीहरूले लागूऔषध खानालाई खर्च जुटाउन सक्दैनन् घरबाट पैसा चोर्ने हुँदा समाजमा अपराधिक गतिविधिमा सामेल हुने गर्छन् । लागूऔषध कारोबारीको निगरानी, कारबाही र सेवनकर्ताहरूलाई उपचार, सचेतना र परामर्श दिन आवश्यक रहेको साथै रोकथाम तथा न्यूनीकरणका लागि तीन तहकै सरकारले भारतसँग सहकार्य गरेर योजना बनाउनु पर्ने जनाइएको छ ।