धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विश्वस्तरका ठूला अनुसन्धानहरू हुँदै आएको विश्वको शीर्ष वैज्ञानिक सूचीमा परेका प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जीव शर्माले बताएका छन् ।
प्रतिष्ठानमा बिरामीलाई उपचार सेवासँगसँगै विभिन्न रोगका विषयमा वैज्ञानिक अनुसन्धान हुने गरेको प्रा.डा. शर्माले जानकारी गराएका छन् । मङ्गलबार नेपाल यातायात मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको संयोजनमा भएको संवाद कार्यक्रममा प्रा.डा. शर्माले सर्पदंश, मुटु रोग र मिर्गाैला रोग र कालाजार रोगको विषयमा गरिएको अध्ययन र अनुसन्धानले विश्वस्तरमा मान्यता पाएको उनले बताए ।
शर्माकै नेतृत्वमा प्रतिष्ठानमा सर्पदंश, मुटु रोग र मिर्गौला रोगका विषयमा अनुसन्धान भएको र त्यही अनुसन्धानले अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले एन्सेभियरसँगको सहकार्यमा तयार गरेको वार्षिक ‘ग्लोबल वैज्ञानिक प्रभाव ¥याङ्किङ’ सूचीमा नेपालका ३१ जनामध्ये प्रातिष्ठानका दुईजना परेको उनले बताए ।
प्रा.डा. शर्माले सर्पदंश, मुटु र मिर्गाैला रोगसम्बन्धी अनुसन्धान गरेका थिए । कालाजारसम्बन्धी प्रतिष्ठानका प्रा.डा. सुमन रिजालको टिमले अनुसन्धान गरेको थियो । विश्वका २ प्रतिशत वैज्ञानिक सूचीमा नेपालबाट ३१ वैज्ञानिकहरू सूचीकृत भएका छन् । मेडिकल क्षेत्रमा नेपालबाट शर्मा र रिजाल परेका हुन् ।
यो सफलतामा बीपी प्रतिष्ठान, धराने जनता र आफ्नो अध्ययन टिमको ठूलो योगदान रहेको प्रा.डा. शर्माले बताए । प्रा.डा. शर्माले भने, “मैले करिब २० वर्षदेखि सर्पदंश उपचार पद्दतिमा सुधार, मुटु रोग तथा मिर्गाैला रोगका विषयमा काम गरेँ । मलाई प्रतिष्ठानले त्यो स्पोजर दियो, मेरो टिमका साथीहरूले सहयोग गर्नुभयो अनि जहिल्यै धरान र पूर्वका जनताको माया पाएँ त्यसैको प्रतिफल नै यो उपलब्धि प्राप्त भएको हो ।” उनले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) मा सर्पदंशसम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै आएका छन् । विश्वका वैज्ञानिकहरू नेपालमा आउन चाहिरहेको र यहाँका दूरदराजका जनताबीच काम गर्न चाहिरहेकोले त्यसको वातावरण नेपालले तयार गर्नुपर्ने उनले बताए ।
































