धरान । अवैध भारतीय सामानहरूसहित पक्राउ परेको पूर्वाञ्चल केरियर्सको प्रदेश–१–०१–००१ ख ४७५९ नम्बरको मालवाहक ट्रकलाई ३४ लाख ६२ हजार जरिबाना गराएर छाडिएको छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले गत असोजमा नियन्त्रणमा लिएको सो ट्रकलाई सोमबार छाडिएको हो । कार्यालयका अधिकृत तथा सूचना अधिकारी विदुर गौतमका अनुसार झापाबाट काठमाडौँतर्फ लागिरहेको उक्त ट्रक असोज ७ गते विशेष सूचनाका आधारमा कार्यालयले नियन्त्रणमा लिएको थियो । कार्यालयका अनुसार चोरी–पैठारी गरी ल्याइएका ठूलो परिमाणका मालवस्तु विना बिल–वीजक फेला परेपछि ट्रकसँगै उक्त सामान जफत गरिएको थियो । ट्रकमा भारतमा उत्पादित विभिन्न चकलेट (डेरी मिल्क), मिक्सचर ग्राइन्डर, नभुटेको काजु, नेस्ले एभ्रिडे पाउडर मिल्क, गुडरिक चिया, भेस्ट, सेतो केराउ, कफी दाना लगायतका सामान फेला परेको अधिकृत गौतमले बताए ।

यीमध्ये धेरै सामानको उत्पादन स्रोत नखुलेको तथा कुनै बिल–वीजक नदेखाइएकाले कानूनअनुसार कारबाही गरिएको उनले बताए । कार्यालयका अनुसार उक्त ट्रकमा भारतमा उत्पादित डेरी मिल्क (१८ ग्राम) ३८४० पिस, डेरी मिल्क (४० ग्राम)  १४४० पिस, मिल्क डेरी मिल्क (१०५ ग्राम)  ८८० पिस, मिक्सचर ग्राइन्डर (३ जार) १२० थान, नभुटेको काजु ४ सय केजी, नेस्ले एभ्रिडे पाउडर मिल्क ३ सय १५ केजी, गुडरिक चिया १२ सय ५४ केजी, साधारण भेष्ट ४ सय थान र उत्पादनको स्रोत नखुलेको सेतो केराउ १३ सय ८० केजी, कफी दाना नभुटेको १३ सय २० केजी मालवस्तु विना बिल वीजक रहेको थियो ।

जफत गरिएका मालवस्तुको वास्तविक धनी कोही नदेखिएपछि पूर्वाञ्चल केरियर्सले नै जिम्मेवारी लिई ३४ लाख ६२ हजार धरौटी राखेर मालवाहक ट्रक फिर्ता पाएको अधिकृत गौतमले जानकारी दिए । उक्त सवारीमा सेतो भटमास १५ सय केजीको बिल कागजातमा देखिएको भए पनि गाडीमा उक्त सामान वास्तविक रूपमा नभेटिएको कार्यालयले जनाएको छ । भारतबाट अवैध रूपमा खरिद गरी काठमाडौं लाँदै गर्दा उक्त सामान जफत गरिएको बताइएको छ । उक्त सामान चाँडै लिलाम बिक्रीको सूचना जारी गरी बिक्री वितरण गरिने कार्यालयले जनाएको छ ।